अर्थमन्त्री पुनको चेतावनी : ऋण तिर्दिनँ भन्नेलाई अब छुट हुँदैन, पक्राउ गरिन्छ


२४ फाल्गुन २०८०, बिहीबार
Barshaman pun
फाइल फोटो

काठमाडौं । नव नियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्नेहरुलाई सरकारले छुट नदिने चेतावनी दिएका छन् ।

आज (बिहीबार) बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग सिंहदरबारस्थित मन्त्रालयमा कुरा गर्दै मन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिनँ भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाईका साथ नियन्त्रण गर्ने बताए । आज (बिहीबार) को मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैंकको ऋण नर्तिन भड्काउँदै हिँड्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएको उनले बताएका छन् ।

bar

‘बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्दिनँ भन्ने र तिर्नु हुन्न भनेर अभियान चलाउने अब छुट दिन सकिँदैन ।’ उनको संकेत पछिल्लो समय ऋण मिनाहाको गतिविधि चलाइ रहेका दुर्गा प्रसाई समूहतिर लक्षित थियो । निजी क्षेत्रको मनोबल घटाउने प्रवृत्तिले अर्थतन्त्र र मुलुकको समग्र समृद्धिको यात्रालाई अवरुद्ध पार्ने भएकाले सरकारले लगानीकर्ताको मनोबन गिर्न नदिने प्रतिबद्धता मन्त्री पुनले व्यक्त गरे । मुलुकमा लगानीको वातावरण र लगानी सुरक्षाको ग्यारेण्टी गर्न सकिए मात्र बाह्य लगानी आकर्षित गर्न सकिनेमा सरकार स्पष्ट रहेको पुनले उल्लेख गरे ।

‘सरकारले लगानीको वातावरण बनाउँछ । सुरक्षाको प्रत्याभूति दिलाउँछ’, पुनले भने, ‘निजी क्षेत्र आत्तिने र डराउने वातावरणको सरकारले अन्त्य गर्छ ।’ सरकारले नागरिकको व्यक्तिगत, पारिवारिक र सम्पत्तिको सुरक्षा दिने प्रतिबद्धता उनले जनाए । मन्त्री पुनले निजी क्षेत्रका व्यवसायीलाई गल्ती नगरी काम गर्न अनावश्यक दुःख नदिन नियामक निकायलाई आग्रह गरे । उनले सत्तारुढ गठबन्धनमा भएको परिवर्तनका कारण पूर्व निर्धारित लगानी सम्मेलन प्रभावित नहुने समेत स्पष्ट गरे । भेटमा अध्यक्ष केसीसहित संघका प्रतिनिधिले बैंकिङ क्षेत्रको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए । ऋण उठाउन गएका बैंकका कर्मचारीमाथि अपमानजनक व्यवहारका साथै भौतिक आक्रमणका घटना बढेकामा गम्भीर हुन मन्त्री पुनसँग बैंकर्सहरूले आग्रह गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७