ज्वाइँले कलेजो दिएपछि ६५ वर्षीया सासुले पाइन् पुनर्जीवन


२६ फाल्गुन २०८०, शनिबार
kalejo

भक्तपुर । कलेजोको गम्भीर रोगबाट ग्रसित सासुलाई ज्वाइँले आफ्नो कलेजो दान गरेका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा भएको २२औं कलेजो प्रत्यारोपणमा ६५ वर्षीया सासु लक्ष्मीदेवी श्रेष्ठलाई उनका ४५ वर्षीय ज्वाइँ श्रीकृष्ण मानन्धरले आफ्नो कलेजो दान गरेका हुन् ।

केन्द्रका कार्यकारी निर्देशक एवं कलेजो प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा सो प्रत्यारोपण भएको थियो । डा. श्रेष्ठका अनुसार अङ्ग लिने सासु र अङ्ग दिने ज्वाइँ दुवैकै स्वास्थ्य अवस्था सामान्य छ । ज्वाइँले सासुलाई कलेजो दान गर्नु समाजकै लागि नमुना भएको डा. श्रेष्ठको भनाइ छ ।

केन्द्रले हालसम्म २२ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको उनले बताए । केन्द्रले नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गरेको थियो । भक्तपुरका बलराम नागालाई उनकी ४२ वर्षीया दिदीले कलेजो दिई नेपालमा पहिलो कलेजो प्रत्यारोपणको सुरुवात भएको थियो । केन्द्रले यस अवधिमा एक हजार २१२ जनाको मिर्गौला र २२ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ ।

केन्द्रमा १५ देखि २० लाख रुपियाँमा कलेजो प्रत्यारोपण हुने गरेको डा.श्रेष्ठले जानकारी दिए । केन्द्रमा भएका कुल १२१२ मिर्गौला प्रत्यारोपणमा अङ्गदाता महिला ८७३ (७२ प्रतिशत) हुँदा पुरुष ३३९ (२८ प्रतिशत) र ग्रहणकर्तामा महिला २४६ (२१ प्रतिशत) हुँदा पुरुष ९५६ (७९ प्रतिशत) छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७