सुदूरपश्चिम सरकारमा मन्त्री बनेपछि नाउपामा ‘लफडा’, तत्काल नछाडे कारवाही : अध्यक्ष श्रेष्ठ


२६ फाल्गुन २०८०, शनिबार
naupa sudur

धनगढी । पार्टीको निर्णय बिना सुदूरपश्चिममा मध्यराति मन्त्री खान गएको भन्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा ‘लफडा’ भएको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कमलबहादुर शाह नेतृत्वको सरकार आजै छोड्न आफ्ना प्रदेश सभा सदस्यहरुलाई निर्देशन दिएकी छन् ।

पार्टी अध्यक्षसँग कुनै सरसल्लाह नै नगरी शुक्रबार मध्यराति सरकारमा किन गएको भन्दै पार्टी अध्यक्ष चौधरीले संसदीय दलका नेता घनश्याम चौधरीलाई आजै सरकार छोडन निर्देशन दिएकी छन् । अध्यक्ष चौधरीले भनिन्, ‘शाह नेतृत्वको सरकारबाट फिर्ता हुन निर्देशन दिईसकेकी छु । आज संसदीय दलको बैठक बस्छ र सरकारबाट फिर्ता हुने निर्णय हुन्छ ।’ उनले सरकारमा जाने नजानेबारे पार्टी अध्यक्षसँग कुनै छलफल नै नगरिएको बताएकी छन् । ‘मसँग कुनै सल्लाह नै नगरी मन्त्रीको सपथ खाएका रहेछन् । पार्टी विधि विधानबाट चल्नुपर्छ’ उनले भनिन् ।

‘आजै सरकारबाट फिर्ता हुनुपर्छ, नत्र आवश्यक कारवाही हुन्छ ।’ नागरिक उन्मुक्तिका सात प्रदेश सभा सदस्यमध्ये शुक्रबारको सरकार विस्तारपछि तीन जना मन्त्री र एक जना राज्यमन्त्री बनेका छन् । शुक्रबार मध्य राति मुख्यमन्त्री शाहले उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, रञ्जिताको नजिक मानिएका खुशीराम चौधरीलाई विना विभागीय मन्त्री र ईन्द्रा गिरिलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका थिए । उन्मुक्तिका रामेश्वर चौधरीसहित अहिले चार जना सरकारमा गएका छन् ।

उनले आफ्नो पार्टी नयाँ गठबन्धनमै रहेको जानकारी दिएकी छन् । ‘हामी नयाँ बनेको गठबन्धनमै छौं । बिहीबारको सदनमा पनि हामी सत्ता पक्षमा बसेका छौं, यो भनेको सुदूरपश्चिममा पनि नयाँ गठबन्धनलाई समर्थन गर्नु हो’ उनले भनिन् । अहिले नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरी र पार्टी अध्यक्ष रञ्जीताबीच सरकारमा जाने वा नजानेबारे विवाद देखिएको छ । पार्टीको अध्यक्षमा निर्वाचन आयोगले रेशम चौधरीलाई वैधानिकता नदिएपछि अहिले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ छिन् । रेशम चौधरी सुदूरपश्चिम सरकारमा सहभागी हुनुपर्ने जोडमा थिए भने श्रेष्ठ तत्काल सरकारमा सहभागी नहुने जोडमा थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७