‘२६ सयलाई १० लाखका दरले बाँड्ने प्रस्ताव अस्वीकार गर्दा प्रधानमन्त्री ममाथि खन्निनु भयो’


२९ फाल्गुन २०८०, मंगलवार
prakash shran
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकशशरण महतले २० वर्षअघिको शान्ति सम्झौताअनुरुप १० लाखका दरले आर्थिक सहायता बाँड्ने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको बताएका छन् । महतले आज (मंगलबार) पत्रकार सम्मेलन गरी बजेट बाँड्ने प्रस्ताव अस्वीकार गरेको बताएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुनै न कुनै आशयका साथ गठबन्धन फेरेको आरोप लगाए । उनले पटक–पटक गठबन्धन फेर्ने प्रचण्डको प्रवृत्तिमाथि प्रश्न उठाए । ‘निर्वाचनपछि प्रचण्डजीले तीन पटक गठबन्धन परिवर्तन गर्नुभयो । प्रचण्डजीको यो प्रवृत्तिजन्य निर्णय कुनै आशयका साथ भएको देखिन्छ,’ पूर्व अर्थमन्त्री समेत रहेका कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने ।

कांग्रेस महासमितिमा उठेका विषय बहानाबाजी मात्र रहेको महतले जिकिर गरे । ‘प्रचण्डजीले कांग्रेसको महासमिति बैठकमा आएका धारणा, कोशी प्रदेशको कुरालाई उल्लेख गर्नु भएको छ । तर, हाम्रो निर्णय स्पष्ट थियो । यो गठबन्धनलाई सुदृढताका साथ अगाडि बढाउने विज्ञप्तिमै भनेका थियौं । महासमिति बैठकमा कसले के बोल्यो भन्ने कुरा केही थिएन,’ उनले भने, ‘त्यसैले गठबन्धन लत्याउने प्रचण्डको चाल हो ।’

उनले प्रधानमन्त्री प्रचण्डको निर्णय बेइमानीपूर्ण र विश्वासघात रहेको दोहोर्‍याए । ‘उहाँले संसदमा आएर गठबन्धनको विषयमा बोल्दा जे विषयवस्तु उठाउनु भयो । त्यसलाई हामीले कपोल्कल्पित र बहानाबाजी भनेका छौं,’ उनले भने । उनले नेपालको अर्थतन्त्र पनि प्रधानमन्त्रीले भने जस्तो औसत उपलब्धि मात्र नभएको बताए । उनले आफू अर्थमन्त्री भएपछि अर्थतन्त्र लयमा फर्किएको दावी गरे । ‘मैले जिम्मेवारी लिँदा अर्थतन्त्रको अवस्था के थियो । त्यो अर्थतन्त्रलाई हामीले लयमा फर्कायौं । राष्ट्र बैंकको समीक्षा हेर्दा पनि स्पष्ट हुन्छ,’ उनले भने ।

उनले आफ्नो कार्यकालमा मूल्यवृद्धि, बैंकको व्याजदर घट्नुका साथै राजस्व संकलनमा पनि वृद्धि भएको बताए । ‘त्यसबेला आम जनतालाई मूल्यवृद्धि बढ्ला भन्ने डर थियो । त्यतिबेला ८ प्रतिशन मूल्यवृद्धि थियो, अहिले ५.२ प्रतिशत छ । बैंकको ब्याजदर पनि अत्यधिक थियो । किन धेरै ज्याजदर थियो, त्यतातिर म जान चाहन्न । मौद्रिक नीति लचिलो बनाएपछि बैंकको ब्याजदर पनि घटिरहेको छ । अझै घट्छ पनि । यसले लगानीको वातावरण बनाउँदै थियो,’ महतले भने ।

उनले आफू आएपछि शेयर बजार, पर्यटन र अर्थतन्त्रका अन्य सूचकहरू पनि राम्रो बन्दै गएको बताएका छन् । ‘त्यतिबेला शेयर मार्केटमा पनि समस्यामा थियो । १,८०० मुनि रहेको शेयर २१ सम्म पुगेको थियो । अन्य इन्डिकेटरहरू पनि राम्रो थियो । पर्यटन क्षेत्र पनि राम्रो बन्दै गएको थियो । यस्तो प्रतिकूल अवस्थाबाट सुरु गर्दा पनि राजस्व वृद्धि १० प्रतिशत बढेको छ । अहिलेको अवस्थामा यो चानचुन होइन,’ उनले भने ।

महतले आफूले जथाभाबी खर्च रोक्दा प्रधानमन्त्री प्रचण्डले खनिएको आशय समेत व्यक्त गरे । उनले नियम, कानुन र विधिसम्म नभएका निकासाहरू आफूले रोकेको बताए । ‘प्रधानमन्त्रीजीले हाम्रो कारणले अर्थतन्त्रमा सुधार भएन भन्नुभयो । समस्याको चाङलाई छिचोल्न समय लाग्छ नि । अनि यसमा प्रधानमन्त्रीको भूमिका हुँदैन ? हुन्छ नि । अनि कांग्रेसका मन्त्रीलाई ताकेर दोष दिन मिल्छ ?,’ उनले प्रश्न गरे, ‘मैले जथाभाबी खर्च रोके । यहाँ दिउँ भन्नेलाई रोके । नियम र कानुनले मिल्ने, आवश्यक खर्च मात्र गरेका छौं । ११ महिना कार्यकालमा धेरै विषयवस्तु आउँथे, त्यसलाई मैले यस कारण मिल्दैन भन्थे । त्यो मेरो कर्तव्य पनि हो । मेरो जनता र पार्टीप्रतिको जिम्मेवारी पूरा गरेको हुँ ।’ उनले प्रधानमन्त्रीले लगाए आरोपलाई कांग्रेसले ठाडै अस्वीकार गर्ने पनि बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७