तस्करीको प्रसङ्ग कोट्याउँदै प्रदिप ज्ञवालीको व्यङग्य : द्वन्द्वले रोल्पालाई सुनै–सुनको घर दियो


२९ फाल्गुन २०८०, मंगलवार
Pradeep

रोल्पा । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले द्वन्द्वले के दियो भनेर समीक्षा गर्न रोल्पाली जनतालाई सुझाएका छन् । एमाले रोल्पाको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न लिबाङ पुगेका ज्ञवालीले १० बर्ष चलेको द्वन्द्वले विकास गर्‍यो कि बिनास गर्‍यो भन्दै गम्भीर समीक्षा गर्न रोल्पालीलाई सुझाएका हुन् । ‘१० बर्षसम्म चलेको द्वन्द्वले क्रान्ति सफल गरेन’, उपमहासचिव ज्ञवालीले भने, ‘जनताको अवस्था फेरिएन । नेताको मात्रै जीवनस्तर उकासियो ।’

उनले क्रान्तिको सपना देखाएर जनतालाई ढाँटिएको भन्दै रोल्पाली जनता भ्रममा पर्न नहुने बताए । सुन तस्करीको प्रसङ्ग कोट्याउँदै उपमहासचिव ज्ञवालीले द्वन्द्वबाट स्थापित भएका नेता र उनका छोराहरू सुन तस्करीमा जोडिनु यहाँका जनताका सपनामाथि कुठाराघात भएको टिप्पणी गरे । ‘१० बर्ष द्वन्द्व के नेता र नेताका छोराले सुन तस्करीको लाइन मिलाउन थियो ?’, उनले भने, ‘द्वन्द्वले रोल्पालाई के दियो भन्दा सुनैसुनका घर दियो भनेर ब्यंग्य गर्ने बेला आयो । यो बिडम्बना हो ।’

एमाले सचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले अहिलेको गठबन्धन विदेशीको इशारामा नभएको बताइन् । कांग्रेस–माओवादी गठबन्धनले मुलुक चौपट भएकाले देशको समृदिका लागि एमाले र माओवादीको गठबन्धन बनेको बताइन् । केहीबेरमा सुरू हुने बन्द सत्रले एमाले रोल्पाको नयाँ जिल्ला कमिटी चयन गर्नेछ । अध्यक्षका लागि अमृत घर्ती, घनश्याम आचार्य, शान्तकुमार वली र रोशन वलीले दाबेदारी प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७