गृहमन्त्री लामिछानेलाई भेटेर दिलिपका परिवारले बुझाए ६ बुँदे ज्ञापनपत्र


१ चैत्र २०८०, बिहीबार
dilip

काठमाडौं । अवैध उत्खननको विरोध गर्दा क्रसर व्यवसायीबाट मारिएका धनुषाका दिलीप महतोलाई पर्यावरण शहीद घोषणा गर्न माग गर्दै उनको परिवारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ज्ञापनपत्र बुझाएका छन् ।

६ बुँदे मागसहित बुधबार साँझ गृह मन्त्रालयमा लामिछानेलाई भेटेर दिलिपका परिवारका सदस्यहरुले ज्ञापनपत्र बुझाएका हुन् । धनुषाको मिथिला नगरपालिकास्थित घर नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न जाँदा २०७६ पौष २५ गते घाइते बनाई दिलिपलाई क्रसर सञ्चालकले खोलामै टिपरले किचेर हत्या गरेका थिए । घटनामा धनुषाले जिल्ला अदालतले आरोपित सात जनामध्ये तीन जनालाई दोषी ठहर गरेको छ । सरकारी वकिलले दिएको पुनरावेदनमा उच्च अदालतले पनि जिल्ला अदालतकै फैसला सदर गरेको छ ।

उक्त फैसलाले आंशिक मात्र न्याय प्राप्त भएको भन्दै दिलिपका परिवारले बाँकी चार जनालाई पनि कारबाही दायरामा ल्याउन माग गरेका छन् । उनको परिवारले अनुसन्धानमा त्रुटी भई हालसम्म यस घटनाका मुख्य योजनाकारहरु अझै कारबाहीको दायरामा नपरेको बताउँदै उच्चस्तरीय छानबिन समिति गठन गरी मुख्य योजनाकारहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्ने र दोषीहरुलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका हुन् ।

यस्तै चुरे क्षेत्र संरक्षणका लागि तत्काल चुरे संरक्षण ऐन बनाउनुपर्ने, दिलिपका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने र उनका परिवारका कम्तिमा एक जना सदस्यलाई रोजगारीको व्यवस्था गरिनुपर्ने माग गरिएको दिलिपकी बहिनी लक्ष्मीले बताइन् । ‘गृहमन्त्री ज्युले हाम्रो मागप्रति सकारात्मक रहेको बताउनु भएको छ । उहाँले तपाईंहरु नआएको भए म बोलाउनेवाला थिएँ भन्नु भयो,’ लक्ष्मीले सुनाइन् । ज्ञापनपत्र बुझाउन दिलीपका ८८ वर्षीय हजुर बुबा रामपृत महतो कोइरी, बुबा रामजीवन महतो, आमा चन्द्रकला देवी, दिदीबहिनीहरु संगीता, लक्ष्मी, सिर्जना, भाइ ख्वाइस र भान्जा शुभम गृह मन्त्रालय पुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७