सुन तस्करी प्रकरण : नौं चिनियाँ नागरिकसहित २१ जनालाई कारबाही गर्न सिफारिस


२ चैत्र २०८०, शुक्रबार
rabi

काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नौं चिनियाँ नागरिकसहित २१ जनालाई कारबाही गर्न सिफारस गरेको छ । आयोगले पूर्व सभामुख समेत रहेका सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित १२ जनालाई कारबाही सिफारिस गरिएको हो ।

आयोगले बुझाएको प्रतिवेदन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएका थिए । आयोगका अध्यक्ष डिल्लीराज आर्चायले सुन तस्करीमा ९ जना चिनियाँ नागरिकको प्रत्यक्ष संलग्नता देखिएको उल्लेख गरेका छन् । उनले अनुसन्धानमा प्रहरीको समेत कमजोरी देखिएको बताएका छन् ।

केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) प्रमुख एआइजी किरण बज्राचार्यसहित एसपी सञ्जय सिंह थापा, डीएसपी रुगम कुँवर र दुर्गा दाहाललाई विभागीय कारबाही सिफारिस गरिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । गृहले एआइजी बज्राचार्यको जिम्मेवारी खोस्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन समेत दिएको जनाइएको छ ।

आयोगले महरासहित पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन सचिवालयका जीवन गुरुङ, जीवन चलाउने, प्रनिश पुन, मञ्जिल गुरुङलाई पनि कारबाही सिफारिस गरिएको छ । महराका छोरा राहुल यसअघि नै पक्राउ परी प्रहरी हिरासतमा छन् । त्यस्तै सरकारी वकिल कार्यालयका बासुदेव शर्मा र जनकराज घिमिरेको भूमिकामाथि पनि आयोगले शंका व्यक्त गरेको छ । उनीहरूलाई विभागीय कारबाहीको सिफारिस गरिएको आयोगका अध्यक्ष आचार्यले बताए ।

यसैबीच प्रधानमन्त्री दाहालले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सुन जाँचबुझ आयोगको प्रतिवेदनमाथि छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएको बताइएको छ । हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर दुबईबाट ल्याएको सुनबारे जाँचबुझ गर्न सरकारले गत असोजमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले करिब साढे ५ महिना लामो अध्ययन, अनुसन्धान र जाँचबुझ गरेको थियो । आयोगमा पूर्व न्यायाधीश आर्चाय अध्यक्ष र पूर्व एआइजी सहकुल थापा, पूर्व सहसचिव प्रेमराज जोशी र किशोरजंग कार्की सदस्य थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७