भोजपुर हतुवागढीमा आगलागी, तीन बालबालिकाको मृत्यु, टक्सारमा आठ घर जले

मोरङ रङ्गेलीमा सन्थाल समुदायका २२ घर जले


३ चैत्र २०८०, शनिबार
fire bho7jpur
फाइल फोटो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–७ मा आगलागी हुँदा तीन बालबालिकाको ज्यान गएको छ । शनिबार दिउँसो लागेको आगलागीमा परी ७ र ६ वर्षीया दुई बालिका र ३ वर्षीय बालकको निधन भएको हो । मृतक बालबालिकाको पहिचान खुलिसकेको छैन । आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।

यता जंगलको डढेलो बस्तीमा पस्दा भोजपुरको टक्सारमा आठ घर जलेर नष्ट भएको छ । भोजपुर नगरपालिका–१२, टक्सारको मालेबाँसेस्थित जंगलको डढेलो बस्तीमा पस्दा स्थानीयबासीको घर जलेको हो । शनिबार करिब सवा २ बजेतिर जंगलबाट सल्किएको आगो बस्ती पसेपछि स्थानीय नरबहादुर कार्की, रत्नबहादुर कार्की, गजेन्द्र कार्की, पुष्पबहादुर कार्की र पदमबहादुर कार्कीको घर पूर्ण रुपले जलेर नष्ट भएको थियो ।

fire

घटनास्थलमा भोजपुर नगरपालिकाको बारुण यन्त्र, सशस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा ल्याउने प्रयास गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिए । स्थानीय दुर्गा श्रेष्ठका अनुसार आगलागीले क्षति पु¥याएको मालबाँसे बस्तीबाट आगो झाँक्रीसल्ला टोलतिर सल्किएको छ । हावाहुरी चलेका कारण आगो नियन्त्रणमा ल्याउन समस्या भएको श्रेष्ठले बताए । आगलागीबाट मानवीय र पशुचौपाया क्षति नभएपनि अन्नपात, सुनचाँदी पूर्ण रुपमा जलेर नष्ट भएको पीडित नरबहादुर कार्कीले सुनाए ।

मोरङ रङ्गेलीमा सन्थाल समुदायका २२ घर जले
मोरङको रङ्गेली–३ बाबुसाहेव टोलको सन्थाल बस्ती आगलागीले सखाप भएको छ । उक्त टोलमा रहेका २२ वटा घर आगलागीका कारण जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आज दिउँसो अढाई बजेतिर सुरु भएको आगलागी नियन्त्रण आइ नसकेको स्थानीयले बताएका छन् । टोलमा सन्थाल समुदायका बाक्ला घर थिए । पश्चिमबाट हावा पनि लागिरहेकोले आगो समयमा नियन्त्रण गर्न नसकेको स्थानीय बताउँछन् ।

rangeli aago

बाँस, सन्ठी र पराल मिलाएर, टाटीले बेरा लगाएका घर बाक्लो अवस्थामा रहेको कारण आगो छिटो फैलिएको थियो ।
कानेपोखरी गाउँपालिका, रङ्गेली, बेलबारी, पथरीशनिश्चरे र सुन्दरहरैँचा नगरपालिका र विराटनगर महानगरका वारुणयन्त्र, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । क्षति विवरण भने आइ सकेको छैन ।
रामेछापमा आगलागी हुँदा करोडौँको क्षति
रामेछाप नगरपालिका–९ मा बिहीबार भएको आगलागीबाट एक करोड ८६ लाख ३१ बराबरको क्षति भएको छ । आगलागीबाट पूर्णबहादुर नेवार, धनमाया श्रेष्ठ, रमेश श्रेष्ठ, उत्तरकुमारी श्रेष्ठ, सीताराम नेवार, मीनबहादुर नेवार, मानकुमारी नेवार, बमबहादुर श्रेष्ठका घर जलेर पूर्ण रूपमा क्षति भएको थियो ।

aglagi ramechhape

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुुसार शुक्रबार स्थलगत रूपमा अनुगमन गरी क्षति विवरण सङ्कलन गरिएको हो । आगलागीले कच्ची घरसहित लत्ताकपडा, अन्नपात, भाँडावर्तन, नगद र सुनका गहनालगायत क्षति भएको प्रहरीले जनाएको छ । बिहीबार सामुदायिक वनमा लागेको डढेलो बस्ती छिरेपछि आगलागीमा परी १२ घर जलेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७