मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा साथीको हत्या


८ चैत्र २०८०, बिहीबार
death
सांकेतिक तस्वीर

धनुषा । धनुषामा मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा दुई जनाले आफ्नै साथीको हत्या गरेका छन् । धनुषाको जनकनन्दनी गाउँपालिका–२, का १८ वर्षीय कैफ नदाफको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रन्जन अवाले नदाफलाई दुई जना साथीले घाँटीमा धारिलो हतियार प्रहार गरेर साथीकै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताए । उनले हत्यामा संलग्न रहेको आरोपमा सोही ठाउँका २० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनका अनुसार रमजानको समय सकिएपछि तीन जना साथी मिलेर घर नजिकै रहेको आँप बगैँचामा मादक पदार्थ सेवन गरी फर्किने बेला मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद भएको थियो । विवाद हुँदा दुई जनाले साथी नदाफको घाँटीमा चक्कुले प्रहार गरेका थिए ।

चक्कु प्रहारबाट घाइते भएका नदाफलाई उपचारका लागि भारत लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रवक्ता अवाले बताए । नदाफको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७