महराको बयान : फोन सम्पर्ककै आधारमा मलाई सुन तस्कर बनाइयो


८ चैत्र २०८०, बिहीबार
mahara
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराले चिनियाँ सुन व्यवसायी दाओजिन वाङसँग चिनजान रहेको स्वीकारेका छन् । सोमबार कपिलबस्तुबाट पक्राउ परेका महराको बयान बिहीबार सकिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँगको बयानमा उनले सुन तस्कर वाङसँग चिनजान रहे पनि आफू कारोबारमा संलग्न नरहेको बयान दिएका छन् । कार्यालय स्रोतका अनुसार उनले बयानमा आफूमाथि राजनीति भएको बताएका छन् । उनले बयानमा भनेका छन्, ‘म नेता हो विभिन्न मान्छेसँग मेरो फोन सम्पर्क हुन्छ । त्यही शिलशिलामा चिनियाँहरूसँग पनि भएको हो । उनीहरूले सुन तस्कर गर्छन् भन्ने मलाई कुनै पूर्व जानकारी छैन ।’

सीआईबीका अनुसन्धान अधिकृतले महरासँग सरकारी वकिलको रोहबरमा दुई दिन बयान लिएका छन् । २०७९ पुस १० गते चिनियाँ नागरिक ली हासोङले ७३० थान इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान अधिकृतहरूले गरेको प्रश्नमा उनले आफूले कारोबार नगरेको बताएका स्रोतले जनाएको छ ।

सुन तस्करी जाँचबुझ आयोगले उनलाई संगठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि चैत ५ गते उनलाई पक्राउ गरिएको थियो ।
भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्सन’ देखिएपछि उनी अनुसन्धानको दायरामा तानिएका हुन् । बयानका क्रममा उनले आफू राजनीतिक व्यक्ति भएकाले धेरै जनासँग फोनमा कुरा भए पनि कारोबारमा संलग्न नरहेको दावी गरेको बताइएको छ । दाओजिन वाङ ६० किलो सुन प्रकरणमा पनि संलग्न छन् । महराका छोरा राहुल पनि सुन तस्करी मुद्दामा थुनामा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७