सुमना अर्कैको प्रेममा परेपछि बिच्किएका बाबुरामले यसरी लिए ज्यान

धनकुटाबाट धरान झरेर दिनभर स्कुटर चलाउन सिकाए, साँझ हत्या गरे


९ चैत्र २०८०, शुक्रबार
Dharan hatya

सुनसरी । तीन दिनअघि सुनसरीको धरान १८ स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलबीचको एकान्त खोल्सामा मृत भेटिकएकी २१ वर्षीय सुमना श्रेष्ठको हत्यामा संलग्नलाई प्रहरीले आज (शुक्रबार) सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले आज पत्रकार सम्मेलन गरी घटनाका अभियुक्त भनिएका बाबुराम भुजेललाई सार्वजनिक गरेको हो । गत चैत ७ गते दिउँसो २ः५९ बजे श्रेष्ठको विभत्स हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । घटनापछि अनुसन्धान गर्दा मृतक सुमना श्रेष्ठ र धरान–१६ बस्ने १९ वर्षीय सविन भन्ने बाबुराम भुजेलको संलग्नता रहेको प्रहरीले पत्ता लगाएको थियो ।

उनीहरूबीच केही वर्षदेखि फेसबुकमार्फत प्रेम सम्बन्ध रहेको पाइएको प्रहरीले जनाएको छ । तर, गत पुसमा भने सुमना श्रेष्ठले ग्लोबलोरिन्स धरानमा काम गर्न थालेपछि भने सोही कम्पनीमा काम गर्ने प्रदीप श्रेष्ठसँग उनी नजिकिएकी थिइन् । सो कुरा थाहा पाएपछि बाबुराम भुजेल र सुमनाबीच विवाद सुरु भएको थियो । चैत २ गतेदेखि भुजेल काम गर्न धनकुटाको मूलघाटमा गएका थिए । त्यसपछि प्रेम सम्बन्धमा झनै खटपट बढेको प्रहरी दाबी छ ।

प्रेममा खटपट बढेकै बेला चैत ६ गते बाबुराम सुमनालाई भेट्न धरान झरेका थिए । साँझदेखि नै भेटघाट गरी भुजेलले आफ्नो स्कुटरमा सुमनालाई राखी स्कुटर चलाउन सिकाउँदै रातको ९ बजेको समयमा हत्या भएको स्थानमा दुवै जना पुगेको प्रहरीको दाबी छ । ‘घटनास्थलमा निजहरूबीच फेसबुक प्रयोगको विषयलाई लिएर विवाद भएपछि निज सबिन भन्ने बाबुराम भुजेलले, योजना मुताबिक नै साथमा लिई गएको खुकुरी निकाली निज सुमना श्रेष्ठको घाँटी रेटी हत्या गरेर खोल्सामा फाली सोही रात भागेको देखिएको छ,’ प्रहरीले भन्यो छ ।

घटनाको अनुसन्धानपछि प्रहरीले खोजी गर्ने क्रममा भुजेललाई धनकुटाको धनकुटा नगरपालिका–९ मूलघाटमा लुकेर बसेको अवस्थामा बिहीबार फेला पारेको हो । भुजेलले सुमनाले प्रयोग गर्ने मोबाइल भने फुटाएर सिम खोलामा बगाएको र मोबाइल उनी आफैले राखेका थिए । प्रहरीले उनको साथबाट फुटाएको मोबाइल समेत बरामद गरेको छ ।

पक्राउ परेका भुजेललाई सुनसरी जिल्ला अदालतमा प्रस्तुत गरी सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारीले जानकारी दिए । सुमनाको शव बुधबार दिउँसो २ बजे स्थानीयले घोपा क्याम्प र डिपोट स्कुलबीच खोल्सामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाका दिन सुमना र ती युवक बाबुराम (भुजेल) एउटै स्कुटरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छिरेको विवरण पत्ता लगाएको थियो । सीसीटीभी फुटेजमा उनीहरू एउटै स्कुटर चढेको देखिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७