सुनकोशी नदीमा बेपत्ता तीन बालबालिका खोज्न सशस्त्रको गोताखोर टोली परिचालन


१२ चैत्र २०८०, सोमबार
sunkosi

काठमाडौं । हिजो (आइतबार) होली खेलेपछि पौडी खेल्ने र नुहाउने क्रममा सुनकोशी नदीमा बेपत्ता भएका तीन बालबालिका खोज्न आज (सोमबार) विहानैदेखि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन भएको छ ।

आइतबार होली खेलेर सुनकोशीमा नुहाउन गएका उदयपुर त्रियुगा नगरपालिका– १४ साउनेका तीन बालबालिका नदी डुबेरमा बेपत्ता भएका थिए । आइतबार राति अबेरसम्म सशस्त्र प्रहरी बल नम्बर ५ त्रियुगा गण उदयपुरले बालबालिकाको खोजी गरेको थियो । तर हिजो राति अबेरसम्म खोज्दा पनि बेपत्ता बालबालिकालाई फेला पार्न नसकेपछि आज (सोमबार) बिहानैबाट फेरि खोजी थालिएको हो ।

कोशी प्रदेश नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट बालबालिकाको खोजीमा गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् । सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमाण्डमा नौं जना गोताखोरसहितको फौज बालबालिकाको खोजीमा परिचालन गरिएको थापाले बताएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेका ८ वर्षीय चोलकचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर नदीमा बेपत्ता छन् । उनीहरूसँगै पौडी खेल्न गएका अरु चार बालबालिकालाई भने हिजो स्थानीयले सुनकोशी नदीबाट उद्धार गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७