चीनसँगका १४ परम्परागत नाका तत्काल सञ्चालनमा ल्याउने समझदारी


१४ चैत्र २०८०, बुधबार
mofa.jpg 1

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ विदेशमन्त्री यीबीच आज बेइजिङको स्टेट गेस्ट हाउसमा द्विपक्षीय भेटवार्ता भएको हो ।

बेइजिङस्थित स्टेट गेस्ट हाउसमा पराह्न भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ र प्रगाढ बनाएर लैजानेबारेमा छलफल भएको थियो । प्रतिनिधिमण्डलस्तरमा भएको उक्त वार्तामा नेपाल–चीन सीमा क्षेत्रमा रहेका १४ वटा परम्परागत नाकालाई तुरुन्त सञ्चालनमा ल्याउने समझदारी भएको छ ।

भेटमा चिनियाँ विदेशमन्त्री वाङले विभिन्न प्रयोजनका लागि चीन आउने नेपाली नागरिकलाई प्रवेशाज्ञा (भिसा) निःशुल्क गर्न चीन सकारात्मक भएको जानकारी दिँदै त्यसलाई चाँडै नै कार्यान्वयनमा लैजाने विश्वास दिलाए । नेपालले पनि केही समयदेखि चिनियाँ नागरिकलाई भिसा निःशुल्क गरिरहेको छ ।

नेपाल–चीन अन्तरदेशीय प्रसारण निर्माणलाई छिटो अघि बढाउने तथा यसअघि सचिवस्तरमा रहेको उच्चस्तरीय परामर्श संयन्त्रलाई मन्त्रीस्तरीय बनाउने सहमति भएको छ। नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) कार्यान्वयन कार्ययोजनामा चाँडै हस्ताक्षर गर्ने समझदारी भएको बैठकपछि जानकारी दिइयो।उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठ समकक्षी यीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा पुगेका हुन् ।

चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ समकक्षी तथा बेइजिङ र अन्य प्रान्तहरुमा चीनका उच्चस्तरका विभिन्न व्यक्तित्वसँग भेट गर्ने कार्यक्रम छ । उपप्रधानमन्त्री श्रेष्ठले आजै चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सिपिपिसिसी) का केन्द्रीय अध्यक्ष वाङ हुनिनसँग भेटवार्ता गर्नेछन् । त्यस्तै उनले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग (आइडिसिपिसी) का उपमन्त्री सुन हाइयानसँग पनि भेट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७