पशुपतिमा बाबुको दाहसंस्कार गरी फर्केका दिवश त्रिशुलीमा हराए, पाँच मृत्तकको सनाखत


१७ चैत्र २०८०, शनिबार
trishuli accident 1 scaled

काठमाडौं । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी आज बिहान ७ बजे चितवनको मुग्लिन पुग्न लाग्दा त्रिुूली नदीमा खसेर दुर्घटना भयो । बा २ ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट करिब ५० मिटर तल त्रिशुली नदीमा खसेको हो । ट्याक्सीको ९० प्रतिशतभन्दा बढी भाग नदीमा डुबेको छ ।

ट्याक्सीमा गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल, ४१ वर्षीया हरिमाया रोकाया, ७० वर्षीया जुनमाया रोकाया, २८ वर्षीया अन्जना रोकाया,९ वर्षीय आगमन नगरकोटी र १८ वर्षीय दिवश रोकाया सवार थिए । दिवश बाहेक सबैलाई प्रहरीले मृत अवस्थामा नदीबाट बाहिर निकालेको छ । दिवशको अवस्था भने अझै बेपत्ता छन् । सशस्त्र प्रहरी बल कुरिन्टारबाट परिचालन भएको गोताखोरको टोलीले दिवशको खोजी गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी श्रीराम भण्डारीका अनुसार मृतकहरू एकै परिवारका हुन् ।

trishuli accident 2

गोरखा नगरपालिका–७ का ३९ वर्षीय शंकर रोकायाको शुक्रबार उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो । उनी त्रिशुलीमा बेपत्ता भएका १८ वर्षीय दिवशका बुबा हुन् । शंकरको निधनपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरी उनका आफन्त घर फर्कंदै गर्दा दुर्घटनामा परेको गोरखा नगरपालिका–७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठले जानकारी दिएका छन् । दुर्घटनामा परी मृत्यु भएका ७० वर्षीय जुनमाया रोकाया शंकरकी आमा हुन् ।

छोराको निधन भएपछि काठमाडौं पुगेकी थिइन् । हरिमाया र अन्जना उनकी छोरी हुन् । वडाध्यक्ष श्रेष्ठका अनुसार ट्याक्सी चालक जुनमायाका ज्वाइँ हुन् भने ९ वर्षीय बालक पनि छोरीपट्टिका नाति हुन् । शुक्रबार शंकरको दाहसंस्कारका लागि परिवारका अन्य सदस्य र आफन्तहरू पनि काठमाडौं पुगेका थिए । एउटा माइक्रो बस र तीनटा ट्याक्सी रिजर्भ गरेर उनीहरू गाउँ फर्कंदै रहेछन् । तीन वटामध्येको एउटा ट्याक्सी त्रिशुलीमा खसेछ,’ वडाध्यक्ष श्रेष्ठले सुनाए । उनका अनुसार शंकरकी श्रीमती भने अर्कै गाडीमा थिइन् । चितवनका डिएसपी श्रीराम भण्डारीले ट्याक्सी तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७