कांग्रेस बरु चकटीमा बस्छ, आउँदो चुनावमा गठबन्धन गर्दैन : गगन थापा


१७ चैत्र २०८०, शनिबार
gagan dang

दाङ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब कांग्रेसले कुनै पनि चुनावमा गठबन्धन नगर्ने बताएका छन् । समुदायमा कांग्रेस अभियान लिएर दाङ पुगेका उनले भने, ‘यो भन्दा अगाडिको यात्रामा कुनै पनि चुनावमा नेपाली कांग्रेस पार्टीका कुनै पनि मतदाताले अब कलममा पनि भोट हाल्ने छैन । हँसिया हथौडामा पनि भोट हाल्ने छैन् । गिलासमा पनि भोट हाल्ने छैन ।’ उनले भने, ‘सके चुनाव जितौंला । नसके केही छैन, बरु चकटीमै बसौंला तर चुनावमा गठबन्धन हुने छैन ।’

चुनावअघि गरिने गठबन्धनले नेपालको लोकतन्त्रलाई विकृत बनाएको समेत उनले बताए । इलाममा हुने चुनावलाई लिएर कांग्रेसले अझैं उम्मेदवारको टुंगो लगाउन सकेको छैन । ६ जना आकांक्षी छन् । तर उम्मेदारको टुंगो उसको लोकप्रियताको अध्ययन गरेर निर्णय गर्न सक्नुपर्ने नभए कार्यकर्ता माझबाट छानिनुपर्ने थापाले बताए । ‘सानेपाको एउटा कोठाबाट टिकट छानिदा त्यसले कार्यकर्ता माझ अपनत्व लिँदैन, ’ उनले भने, ‘आफ्नो उम्मेदवार छान्ने जिम्मा तलका कार्यकर्तालाई नै दिइनुपर्छ ।’ उनले नेपालको सबैभन्दा ठूलो मुद्दा नेपाली समाजले गुमाएको आत्मविश्वास जगाउनु रहेको बताए ।

‘द्वन्द्वकालमा पनि मानिसमा आशा थियो । संविधान सभा निर्वाचनको बेलामा पनि मान्छेले आशा र भरोसा गरेका थिए । तर, अहिले मान्छेमा आशा होइन, निरासा मात्रै देख्छु । थाकेको देख्छु, ’ उनले भने, ‘पार्टी सरकारमा हुँदा पनि कांग्रेसका कार्यकर्तालाई भेट्दा निरास, झोक्राएको मात्रै देख्छु । सब जना मान्छे थाकेको छन् । के भयो भनेर सोध्दा ०८४ को चुनाव के हो के भन्छन् । २०७९ को चुनाव जितेको छ । २,६६८ वटा वडा अध्यक्ष छ । ३३२ पालिका प्रमुख छन् । संघमा सरकार छ । प्रदेशमा सरकार छ । यता ठोक्किए मुख्यमन्त्री । उता ठोक्किए मुख्यमन्त्री । अगाडि भेटिए मेयर । पछाडि भेटिए अध्यक्ष । जताततै चुनाव जितेको छ । खै खै २०८४ को चुनाव के हो के हो ? नयाँ नयाँ पार्टी आएका छन् के हुने हो के हुने हो ? भनेर थाकेको जस्तो अवस्था छ ।’

विकास निर्माणमा भइरहेको ढिलासुस्तीबारे पनि नेता थापालाई ध्यानकर्षण गराइएको छ । कृषि क्षेत्रको विकास, कोइलावास नाका सञ्चालन गर्न, राजधानी सहर निर्माणबारे पनि ध्यानकर्षण गराइएको छ । थारु समुदायको तर्फबाट हल्लुप्रसाद चौधरीले १० बुँदे ज्ञापनपत्र महामन्त्री थापालाई बुझाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७