लुम्बिनीका मुख्यमन्त्री चौधरीले बिहीबार विश्वासको मत लिने


२० चैत्र २०८०, मंगलवार
dilli chaudhary congress lumbini1672629994

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार विश्वासको मत लिने तयारी थालेका छन् । मुख्यमन्त्री चौधरीले चैत २२ गते बिहीबार संसदबाट विश्वासको मत लिने नर्णय भएको हो ।

मंगलबार बिहान बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले विश्वासको मत लिन बिहीबार दिउँसो ४ बजे विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए । ‘बिहीबार ४ दिउँसो बजे सदन बोलाउने कुरा छ । त्यही बैठकमा विश्वासको मत लिने मुख्यमन्त्री ज्यूको योजना छ’ गृहमन्त्री पाण्डेले भने, ’क्याविनेट बैठकले विशेष अधिवेसन आह्वान गर्नको लागी प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।’

गत वैशाख १४ मा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त भएका थिए । त्यसअघि नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित आठ राजनीतिक दलको समर्थनमा एमालेका लीला गिरी मुख्यमन्त्री नियुक्त भएका थिए । तर, उनको कार्यकालले सय दिन पनि पूरा गर्न पाएन । राजनीतिक समीकरण फेरिएपछि कांग्रेस–माओवादी नेतृत्वमा बनेको गठबन्धन सरकार अघि बढ्यो । फेरि केन्द्रीय राजनीतिमा आएको बदलाबका कारण एमाले–माओवादीसहितको सरकार बन्ने अवस्था देखिएको छ ।

गत वैशाख १९ मा मुख्यमन्त्री चौधरीले विश्वासको मत पाएका थिए । चौधरीलाई ८७ जना प्रदेशसभा सदस्यमध्ये ५३ जनाले विश्वासको मत दिएका थिए भने विपक्षमा २९ मत परेको थियो । वैशाख १४ गते कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी(जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अहिले विश्वासको मत प्राप्त गर्ने दाबी सरकारको छ । स्वास्थ्यमन्त्री राजु खनालले विश्वासको मत प्राप्त गर्नेगरी ‘लविङ’ भइरहेको बताए । ‘निर्धारित समयमा सरकारले फेरि विश्वासको मत पाउँछ’ उनले भने, ‘मुख्यमन्त्रीले विश्वासको मत पाउनेगरी छलफल गरिरहनु भएको छ ।’

यता, एमाले–माओवादी दलका नेताहरूले भने मुख्यमन्त्रीले विश्वासको मत पाउन नसक्ने र आफूहरू सहभागी सरकार बनाउने तयारी थालेका छन् । लुम्बिनी प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य रहेका छन्। बहुमतका लागि ४४ सांसद चाहिन्छ। कांग्रेससँग २७, नागरिक उन्मुक्ति पार्टीसँग ४, जनमत पार्टीसँग ३ राप्रपासँग ३ र लोसपासँग ३, जनमोर्चासँग १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य छन्।

यसैगरी, एमालेसँग २९, माओवादीसँग सभामुख बाहेक १०, जनता समाजवादी पार्टी (जसपा) सँग ३ र नेकपा एकीकृत समाजवादीसँग १ जना प्रदेशसभा सदस्य छन् । सरकार बनाउन नयाँ गठबन्धनलाई एक जना प्रदेशसभा सदस्य संख्या कमी हुने देखिन्छ । जसका लागि नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राप्रपामध्ये कुनै एक राजनीतिक दलसँग सहकार्य बढाउनु पर्ने देखिएको हो । लुम्बिनीमा नयाँ सरकार गठनका लागि साना दल निर्णायक देखिन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७