काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडा लैजान स्थानीयकाे अवरोध


२४ चैत्र २०८०, शनिबार
Banchare danda

नुवाकोट । विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहोर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् ।

‘बञ्चरेडाँडा ल्यान्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’ ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्यान्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै अवरोध गरेको हो । उक्त समितिका संयोजक श्रीराम ढुंगानाले सर्वपक्षीय भेलाबाट प्रस्तुत ११ बुँदे माग सम्बोधनका लागि गत फागुन २१ गते प्रधानमन्त्री समक्ष पेस गरिएका मागको सुनुवाइ नभएकाले शान्तिपूर्ण आन्दोलनको कार्यक्रमसहित फोहोर विसर्जनमा रोक लगाइएको बताए ।

शनिबार बिहानदेखि फोहर विसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध पारिएको उनको भनाइ छ । ‘फोहोर विसर्जनका सम्बन्धमा विगतका सहमतिको कार्यान्वयन र नयाँ मागको सम्बोधनको प्रतिबद्धता नभएसम्म फोहोर फाल्न दिँदैनौँ’, उनले भने । बञ्चरेडाँडा ल्यान्डफिलसाइटमा काठमाडौँ र ललितपुरका साथै अन्य नगरपालिकाबाट दैनिक एक हजार ५०० टन फोहोर विर्सजन हुने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७