दक्षिण कोरिया भ्रमणको तयारीमा प्रधानमन्त्री


२४ चैत्र २०८०, शनिबार
prachanda
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दक्षिण कोरियाको भ्रमण गर्ने बताएका छन् । आज (शनिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जुगल हिमालको आरोहण गर्न लागेको नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरणसहित बिदाई गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रसंघको अधिवेशनको समयमा कोरियाका राष्ट्रपति योन सुक योलसँगको भेटमा दुई देशको सम्बन्धलाई अझ बलियो बनाउने र सहयोगको क्षेत्रलाई अझ बिस्तार गर्ने कुरामा छलफल भएको पनि बताए । सोही समयमा दक्षिण कोरियका राष्ट्रपति योलले भ्रमणको निम्तो दिएको बताउँदै प्रधानमन्त्री दाहालले निमन्त्रणालाई स्वीकार गरेर कोरिया जाने तयारीमा रहेको बताए ।

उनले दक्षिण कोरिया र नेपालको औपचारिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा संयुक्त आरोहणले नेपाल र कोरियाको सम्बन्धलाई अझ सुदृढ बनाउने र पर्यटन प्रवद्र्धनमा पनि ठूलो भुमिका खेल्ने बताए । उनले भने, ‘औपचारिक सम्बन्धको ५० वर्षको सन्दर्भमा यो आरोहणले एकातिर नेपाल र कोरियाको सम्बन्धलाई अझ सुदृढ, हाम्रो यसैपनि राम्रो सम्बन्ध छ, कोरिया र नेपालको । आउने दिनमा अझ बलियो र सुदृढ हुन्छ भन्ने विश्वास छ । अर्कातिर पर्यटन प्रवद्र्धनको निम्ति पनि जुगल हिमाल आरोहण गर्ने प्रयत्नले पर्यटन प्रवद्र्धनमा पनि निकै ठूलो भूमिका खेल्छ ।’

उनले भने, ‘नेपाल र कोरियाको बीचमा विभिन्न क्षेत्रमा सहयोगको प्रगति हुँदै गएको छ । कोरिया र नेपालको सम्बन्धमा नेपालको आर्थिक विकासको निम्ति निकै धेरै क्षेत्रमा सहयोगको अपेक्षा गरेका छाैं । मेरो केही समय पहिला राष्ट्रसंघको अधिवेशनको बेलामा कोरियाका राष्ट्रपतिसँग पनि छलफल भएर दुई देशको सम्बन्धलाई अझ बलियो बनाउने, सहयोगको क्षेत्रलाई अझ बिस्तार गर्नेकुरा पनि भएको छ । राष्ट्रपतिजीले मलाई निम्ता पनि गर्नुभएको छ । सकेसम्म त्यो निमन्त्रणालाई स्वीकारेर कोरिया जाने तयारी पनि हामी गर्न खोज्दैछौँ ।’ प्रधानमन्त्री दाहालले कोरिया र नेपालको सम्बन्धमा नेपालको आर्थिक विकासको निम्ति धेरै क्षेत्रमा सहयोगको अपेक्षा गरेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७