कांग्रेसले संसदीय समितिको अडान नछाडेपछि सभामुखले बोलाएको बैठक निष्कर्षबिहीन


२६ चैत्र २०८०, सोमबार
devraj
फाइल फोटो

काठमाडौं । संसदको अवरोध हटाउनबारे सभामुख देवराज घिमिरेले राखेको शीर्ष नेताहरूको बैठक निष्कर्षबिहीन बनेको छ । सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष विष्णु पौडेल, उपप्रधानमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलगायत सहभागी बैठकमा कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने आफ्नो अडान दाहोर्‍याएको छ ।

बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘कुरा हाम्रो यथावत राख्यौं । देशमा विभिन्न सहकारीमा रकम दुरूपयोग भएको छ । बहालवाला मन्त्रीको नाम जोडिएको छ । संसदीय छानबिनको माग यथावत छ । सरकार मान्न तयार नभएकाले अब सदनको के हुन्छ सरकारमा भर पर्छ । भोलिको बैठक सरकार कसरी प्रस्तुत हुन्छ त्यसमा भर पर्छ ।’

यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले भोलिको प्रतिनिधिसभा बैठक सहज गर्न प्रमुख प्रतिपक्षी दललाई आग्रह गरिएको बताएका छन् । तर कांग्रेसले अडान नछाडेको उनले जानकारी दिए । उनले भने, ‘छानबिन समिति बन्न सक्दैन भनेर प्रष्ट भनेका छौं । जायज र न्यायोचित छैन, यस्तो हल्का विषयमा संसदीय समिति बनाएर अन्य विषय के हुन्छ ? भनेर भनेका छौं । मागमा रिभ्यु गर्न आग्रह गरेका छौं । लामो संसदीय अभ्यास गरेर आएको दाबी गर्छ भने कांग्रेसले त्यो देखाओस् । मुठभेडतिर लैजाने प्रयास नर्गनुस् भनेका छौं । तर उहाँहरूले मान्नु भएन ।’

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रमुख प्रतिपक्षले उठाएको विषय सही नभएको बताए । उनले कार्यतालिकाअनुसार सदन अघि बढ्ने बताएका छन् । उनले भने, ‘छानबिन समिति सम्भव छैन । आज समय चाप भयो, विस्तृत छलफल पछि हुन्छ । कांग्रेसले समिति चाहिन्छ भनेपछि प्रधानमन्त्री ज्यूले विषय बस्तु राख्दै गरौं, समय लिएर छलफल गरौं भन्नु भयो ।’ उनले मंगलबार गृहमन्त्रीले राजनीतिक दलसम्बन्धी ऐन प्रस्तुत गर्ने र सदन अघि बढ्ने भनाइ छ ।

यस्तै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बैठकमा सहमति नभएको बताए । उनले भने, ‘प्रमुख प्रतिपक्षको पोजिसन, कुरा सुन्यौं । बाल हठ जस्तो मिथ्या आरोपको भरमा समिति चाहिन्छ भन्ने कुटिल चाल हो । नैतिकता बन्दी बनाउँदैनौं । तर यो देशको चौथो ठूलो पार्टी उहाँहरूले सर्वाधिक मत ल्याएर जितेका सांसदको मानवअधिकार खारेज गर्ने कुरा उहाँहरूले गर्नुभयो यो स्वीकार छैन । हामी एक मत छौं समिति बन्दैन । हामी लोकतान्त्रिक अभ्यासमा विश्वास गछौँ । तर, कांग्रेसले निषेध गरेको छ, यो स्वीकार्य छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७