राप्रपाको प्रदर्शन : सुरक्षा व्यवस्था कडा पारिंदै, ६ हजार प्रहरी परिचालन गरिंदै


२७ चैत्र २०८०, मंगलवार
1636688175
फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (मंगलबार) काठमाडौंमा प्रदर्शन गर्दैछ । व्यवस्था परिवर्तनको माग राख्दै राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्न लागेको हो । आज बिहान ११ बजेबाट काठमाडौंका विभिन्न स्थानबाट र्‍याली निकाल्ने र विरोध प्रदर्शन गर्ने तयारी राप्रपाको छ । साथै माइतीघरलगायतका सरकारले आन्दोलन गर्न निषेध गरेका निषेधित क्षेत्रहरू तोड्ने योजनामा राप्रपाले प्रदर्शन गर्ने तयारी गरेको छ ।

लोकतन्त्रमा आन्दोलन गर्न पाउने नागरिकको अधिकारलाई सरकार कुण्ठित गरेको भन्दै राप्रपाले निषेधित क्षेत्र आफूहरूलाई मान्य नहुने र शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरी हस्तक्षेप भए स्वीकार्य नहुने बताएको छ । राप्रपाले निषेधाज्ञा तोड्ने गरी काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा करिब ६ हजार प्रहरी परिचालन गर्ने तयारी छ ।

राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा मंगलबार बिहान साढे ११ बजे भृकुटीमण्डपमा भेला भएर नगरका विभिन्न क्षेत्र परिक्रमा गर्ने जनाएको छ । प्रदर्शनलाई लक्षित गरी सोमबार काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठक बसेको थियो । सो बैठकले विशेष सुरक्षा रणनीति बनाएको र सोही रणनीति अनुसार सुरक्षाकर्मी परिचालन गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिएका छन् ।

राप्रपाले प्रदर्शनका लागि विभिन्न जिल्लाबाट समेत मानिसहरुलाई काठमाडौंमा ओसारेको छ । प्रहरीको सूचनाअनुसार सोमबारसम्म २० वटा गाडीमा राप्रपाका मानिसहरु काठमाडौं भित्रिएका छन् । आज पनि केही भित्रिन सक्ने र पहिल्यैदेखि काठमाडौंमा रहेकाहरु समेत गरेर करिब १० हजार जना प्रदर्शनमा सहभागी हुन सक्ने सुरक्षा अधिकृतहरुले आँकलन गरेका छन् ।

प्रदर्शनमा अप्रिय घटना हुन नदिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशत्र प्रहरी र तेस्रो घेरामा सादा पोशाकका विशेष प्रहरीको टोली परिचालन गर्ने गरी तयारी गरिएको छ । राप्रपाका नेताहरुले शान्तिपूर्ण तरिकाले निषेधाज्ञा तोड्ने भने पनि निषेधाज्ञा तोड्दा प्रदर्शन शान्तिपूर्ण नहुने भएकाले प्रहरीले प्रदर्शनको रुट तय गरिदिने प्रयास गर्दै आएको छ । त्यसका लागि केही प्रहरी अधिकृतहरुले राप्रपाका नेताहरुसँग समन्वयको प्रयास गरिरहेका छन् ।

राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित जनप्रदर्शन गर्न लागिएको पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७