सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरे संसद चल्न दिंदैनौं : कांग्रेस

सहकारीपीडितप्रति सरकार गैरजिम्मेवार भएको कांग्रेसको ठहर


२७ चैत्र २०८०, मंगलवार
ramesh lekhak

काठमाडौं । प्रमुख प्रतिपक्षनेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी रकम अपचलनमा संलग्न रहेको घटनाप्रति छानबिन गर्न संसदीय समिति गठन गर्न नमानेर सरकार सहकारीपीडितप्रति गैरजिम्मेवार भएको ठहर गरेको छ ।

आज (मंगलबार) संसद भवनमा बसेको संसदीय दलको बैठकले वर्तमान सरकार सहकारीपीडित लाखौं नागरिकप्रति गम्भीर र संवेदनशील हुन नसकेर गैरजिम्मेवार भएको ठहर गरेको हो । ‘सहकारीमा लाखौं नागरिकले रकम जम्मा गरेका छन् । अर्बौ रुपैयाँ जम्मा भएको छ । देशभरका विभिन्न सहकारीमा वचतकर्ताको रकमको दुरुपयोग, अपचलन, ठगी हुने खालका घटना देखापरेका छन्,’ लेखकले भने, ‘यतिसम्म कि सरकारको बहालवाला मन्त्रीहरू समेत सहकारीको रकम अपचलन गर्ने कुरामा संलग्न देखापरेका छन् ।’

बैठकका बारेमा जानकारी दिँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारका बहालवाला मन्त्रीहरूको समेत सहकारीको रकम अपचलन गर्नेकुरामा संलग्नता देखापरेको अवस्थामा सरकारले संवेदनशीलता नदेखाएको आरोप लगाए ।
‘नेपाली कांग्रेस संसदीय दलको यो बैठक वर्तमान सरकार सहकारीबाट पीडित भएका लाखौँ नागरिकप्रति गम्भीर र संवेदनशील हुन नसकी गैरजिम्मेवार भएको ठहर गर्दछ,’ लेखकले भने, ‘यो बैठक नेपाली कांग्रेसले संलग्न सहकारी रकम अपचलन अपराधको स्वतन्त्र निष्पक्ष र विश्वसनीय छानबिनको सुनिश्चितताको लागि संसदीय समिति गठन गर्ने मागलाई उचित ठहर गर्दछ ।’

कांग्रेसले प्रारम्भदेखि नै गृहमन्त्री लामिछाने सहकारीको रकम अपचलनमा संलग्न भएको कुरालाई लिएर निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धान गर्न माग गरेको उनले बताए । ‘नेपाली कांग्रेसले प्रारम्भदेखि नै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेजी सहकारीको रकम अपचलनको काममा संलग्न भएको कुरालाई उठाएका छौँ । यसका निमित्त निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धानका निमित्त संसदीय छानबिन समिति बनाउन माग गरेका छौँ,’ उनले भने । संसदीय दलको बैठकले पार्टीले उठाउँदै आएको माग उचित रहेको ठहर गरेको लेखकको भनाइ छ । तत्काल आफ्नो पार्टीको मागबमोजिम संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७