लोकतन्त्रमाथि धावा बोल्ने प्रवृति जनताले पराजित गर्छन् : नैनसिंह महर


२९ चैत्र २०८०, बिहीबार
nainasingh mahar
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनताको त्याग, बलिदानी र संघर्षबाट प्राप्त लोकतन्त्रमाथि पछिल्लो समय अराजक तत्वहरूले धावा बोल्न खोजिरहेको आरोप लगाएका छन् ।

आज काठमाडौंको महाराजगञ्जमा जनसम्पर्क समितिहरूसँग उपनिर्वाचनको तयारीका बारेमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै नेता महरले लोकतन्त्रले आफ्नो लय समात्न नसकोस् भन्ने चाहना भएका राजनीतिक दलहरूले लोकतन्त्रका पद्धति र सैद्धान्तिक पक्षमाथि धावा बोल्ने काम गरिरहेको आरोप लगाए ।

‘२००७ सालपछिको ठूलो संघर्षले कांग्रेसले लोकतन्त्र ल्याएर मुलुकलाई अहिलेको स्थानमा पुर्‍याएको हो । आफ्नो लय समात्न नपाउने गरी लोकतन्त्रका पद्धति र सैद्धान्तिक आभारमाथि धावा बोल्ने काम भइरहेको छ । अब लोकतन्त्र प्रेमी जनता र कांग्रेसका लागि यो स्वीकार्य हुँदैन,’ उनले भने । जनताले आफैले स्थापित गरेको लोकतान्त्रिक प्रणालीको संस्थागत विकास गर्नका लागि अब जनता स्वयम् लड्ने बेला आएको महरले बताए । त्यसका लागि आसन्न उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराएर लोकतन्त्र विरोधीहरूलाई परास्त गर्नुपर्ने महरको धारणा छ ।

‘जनताले लोकतन्त्रका बैरीहरूलाई चिनिसक्नु भएको छ । त्यसैले लोकतन्त्रको शुद्धिकरणमा चुनौती खडा गर्नेहरू आफैँ परास्त भएर जाने छन्,’ उनले भने, ‘जनताले आफैले लडेर स्थापना गरेको लोकतन्त्रलाई बलियो पार्न उपनिर्वाचनमा जनता कांग्रेसको पक्षमा उभिनु पर्ने बेला आइसकेको छ । जनताको साथ लोकतन्त्र र कांग्रेसलाई रहने छ भन्नेमा हामी विश्वस्त छौं । लोकतन्त्रभित्र नै पहिचान ,समावेशिता र समानुपातिक सहभागिता छ । लोकतन्त्र भनेको नै पहिचान हो । संघीय समावेशी लोकतन्त्रिक गणतन्त्र सहितको संबिधान निर्माणको नेतृत्व कर्ता कांग्रेस हो। त्यसैले लोकतन्त्रको जितका लागि कांग्रेसको जित आवश्यक छ ।’

उनले नेकपाको सरकार हुँदा भएका अलोकतान्त्रिक कदम स्मरण गर्ने बेला आएको छ । ‘उनीहरूका काण्ड र महाकाण्डको स्मरण गरेर उनीहरूले कति लोकतन्त्रलाई कुचल्छन् ? कसरी संविधानको उलंघन गर्छन् ? भनेर हिजो देखिसकेका छौं । अब हामीले त्यो गल्ती दोहोर्‍याउनु हुँदैन,’ महरले भने । नयाँ आएका राजनीतिक दलको पनि परिस्थिति र चरित्र हेर्दा उनीहरू लोकतन्त्रप्रति प्रतिबद्ध नदेखिएको महरको आरोप छ । कुनै क्लियर उद्देश्य र मार्ग नभएका कारण लोकतान्त्रिक व्यवस्था खत्तम हुँदा उनीहरू त्यसमा रमाउने खालका देखिएको महरले बताए ।

‘गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति बनाउनु पर्ने सदनमा कांग्रेसको माग छ । मुलुकको ठूलो दल र प्रमुख प्रतिपक्षी दलको आवाजलाई दबाउने काम भइरहेको छ । संसदीय छानबिन समिति बनाएर जाने हाम्रो सामान्य मागलाई सरकारले व्यवस्था गरिरहेको छ । सरकार यसमा संवेदनशील हुनुपर्छ । एमाले र रास्वपाका धेरै मान्छे सहकारी ठगी प्रकरणमा मुछिने डरले सरकारले छानबिन समिति गठन गर्न आनाकानी गर्नु पनि लोकतन्त्रमाथिको धावा नै हो,’ महरले भने ।

गृहमन्त्रीमाथि मात्र नभएर २०४६ सालयताका सबै उच्च पदस्थ व्यक्तिहरूमाथि छानबिन हुनुपर्छ भन्ने पक्षमा कांग्रेस रहेको प्रष्ट पार्दै महरले सरकारमै रहेका भ्रष्टहरूले सुशासनको खिल्ली उडाएर, खुट्टा कमाइरहेको आरोप लगाएका छन् । लोकतान्त्रिक प्रणालीमा कम्युनिष्टहरूको ओठे प्रतिबद्धता भए पनि अन्ततः संसारमा कुनै पनि वामपन्थी लोकतान्त्रिक हुन सकेको महरको दाबी छ । उग्रवामपन्थी र उग्रदक्षिणपन्थी प्रवृत्तिका कारण समग्र लोकतान्त्रिक पद्धतिमा चुनौती थपिएको उनले बताए । –न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७