बढ्दो व्यापारसँगै थपिँदै हेलिकप्टर


२९ चैत्र २०८०, बिहीबार
Helicoptor
सांकेतिक तस्विर

काठमाडौँ । पर्यटकीय याम सुरु भएसँगै हेलिकप्टरको व्यापार बढेको छ । पर्यटकीय गतिविधि बढेसँगै हेलिकप्टरको माग पनि बढेको छ । विशेष गरी हिमाली क्षेत्रमा जाने पर्यटकका कारण हेलिकप्टरको माग बढ्दो भएको हेली एभरेष्टका बजार प्रमुख सीताराम सापकोटा बताउँछन् ।

‘वसन्त ऋतुमा हेलिकप्टरको व्यापार राम्रो हुन्छ, व्यापार राम्रो हुनका लागि एउटा हेलिकप्टरले दैनिक औसतमा आठ घण्टा उड्नु पर्छ’, उनले भने, ‘अहिले दैनिक पाँचदेखि छघण्टासम्म उडान भइरहेको छ । यो बढ्दो छ ।’ बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले हालै हेलिकप्टरको संख्या बढाएको छ । ‘सिजनमा हेलिकप्टरको माग उत्साहबर्द्धक हुन्छ । हेलिकप्टर भित्र्याएर बजार बिस्तार गर्ने योजनामा व्यवसायी छन्’, उनले भने, ‘हामीले पनि नयाँ एक थान हेलिकप्टर थप गरेका छौँ ।’

कम्पनीले एयरबस बीथ्री–२०१९, कलसाइन नाइन–एन एओबी हेलिकप्टर थप गरेको हो । यससँगै हेलि एभरेष्टका हेलिकप्टरको संख्या चार पुगेको छ । कम्पनीले यसअघि गत असोजमा तेस्रो हेलिकप्टर थपेको थियो । यसअघि चैतको पहिलो साता मनाङ एयरले नयाँ हेलिकप्टर ल्याएको थियो । कम्पनीले एच १२३ (बीथ्रीई) हेलिकप्टर ल्याएको हो । यस्तै, मुस्ताङले एउटा हेलिकप्टर थपेको छ । अल्टिच्युड एयरले पनि हेलिकेप्टर थप्ने योजना बनाएको छ ।

हेली एभरेष्टका बजार प्रमुख सापकोटाले थप एक थान हेलिकप्टर थप्ने कम्पनीको योजना रहेको बताए । ‘अर्को वर्षमा पाँच वटा हेलिकप्टर पुर्‍याउने योजना छ’, उनले भने, ‘नियामक प्राधिकरणले हेलिकप्टर कम्पनीसँग पाँच वटा पुर्‍याउन भनेको छ, तीन वटा हेलिकप्टर नभए नवीकरण नै नहुने व्यवस्था छ ।’

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार नेपालमा १२ वटा हेलिकप्टर कम्पनीसँग ४० वटा हेलिकप्टर छन् । यीमध्ये ३६ वटा हेलिकप्टर सञ्चालनमा छन् । नेपाली सेनासँग छुट्टै छ थान हेलिकप्टर छन् । क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अहिले सञ्चालनमा रहेका बाहेक थप दुई हेलिकप्टर कम्पनी आउने प्रक्रियामा रहेको बताए । उनले भने, ‘सञ्चालनमा रहेका १२ बाहेक थप दुई हेलिकप्टर कम्पनी सञ्चालनको प्रक्रियामा छन् । वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) लिने चरणमा छन् ।’

भूधरातलीय अवस्थाले नेपालमा हेलिकप्टर सेवा निकै प्रभावकारी मानिन्छ । महङ्गो भए पनि अत्यावश्यक काम, आकस्मिक उद्धार, पर्यटकीय सेवा, व्यापारिक उडान, चिकित्सकीय सेवा तथा कार्गो उडानमा यो हेलिकप्टरको प्रयोग गरिंदै आएको छ । हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेल शर्माले अहिले हेलिकप्टरलाई भ्याइनभ्याइ रहेको र यो चाप अझै बढ्ने बताए । उनले हेलिकप्टरको संख्या बढे पनि पाइलटको अभाव र मौसमका कारणले हेलिकप्टर उडानमा समस्या भइरहेको उल्लेख गरे ।

श्री एयरलाइन्ससँग सर्वाधिक आठ हेलिकप्टर छन् । कम्पनीसँग एमआई १७ हेलिकप्टर छ र बिआडी दुई छन् । एयर डाइनेस्टी र प्रभु हेलिकप्टरसँग चार, माउन्टेन एयर, हेली एभरेष्ट, अल्टिच्युड एयर र फिस्टेल एयरका समान दुई हेलिकप्टर छन् । सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीका अनुसार कम्पनीले १० वटा हेलिकोप्टर थप्ने दीर्घकालीन योजना छ । चालु आर्थिक वर्षमा एक र अर्को वर्ष थप एक हेलिकप्टर ल्याउने कम्पनीले जनाएको छ । यो कम्पनीसँग एयरबस (बीथ्रीई) हेलिकप्टर दुई र बेल ५०५ हेलिकप्टर दुई गरी कूल चार हेलिकप्टर सञ्चालनमा छन् ।

नेपालमा अहिले श्री एयरलाइन्स, सिम्रिक एयर, फिस्टेल एयर, अल्टिच्युड एयर, मनाङ एयर, मुस्ताङ हेलिकप्टर, एयर डाइनेस्टि, माउन्टेन हेलिकप्टर, प्रभु हेलिकप्टर, अन्नपूर्ण हेलिकप्टर, एली एभरेष्ट र कैलाश हेलिकप्टरले सेवा दिइरहेका छन् । वसन्त ऋतु हेलिकप्टरको मुख्य सिजन पनि हो । वसन्त ऋतुको यो याममा पर्वतारोहण र पदयात्राका लागि उल्लेख्य संख्यामा विदेशी आउँछन् । उनीहरु सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण, चर्चित, अन्नपूर्ण, लाङ्टाङलगायत गन्तव्यमा ठूलो सङ्ख्यामा पदयात्री पुग्छन् ।

‘अहिले हेलिकप्टरको विजनेस राम्रै छ । सिजन पनि चलिरहेकाले अर्को महिनासम्म अकुपेन्सी बढ्ने देखिन्छ’, सिम्रिक एयरका महाप्रबन्धक जोशीले भने । कैलाश हेलिकप्टरका प्रबन्ध सञ्चालक प्रतापजङ्ग पाण्डेले भने सिजनमै हेलिकप्टरको व्यापार सुस्त रहेको बताए । ‘अघिल्लो वर्षभन्दा यो वर्ष विजनेश सुस्त छ’, उनले भने, ‘विदेशी पर्यटकको संख्या बढे पनि खर्चालु पर्यटक नहुँदा व्यापार आशातित रुपमा बढेको छैन ।’ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७