रुपन्देहीमा अघि बढ्यो पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया


५ बैशाख २०८१, बुधबार
pe

रुपन्देही । नेपाल आयल निगमले रुपन्देहीमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमामा पर्ने रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमिन पुर्ने काम सुरु गरिएको हो ।

आज (बुधबार) रुपन्देहीको ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जितकुमार यादव, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले संयुक्त रूपमा भूमि सम्याउने तथा रिटेनिङ वाल निर्माणको शिलान्यास गरेका हुन् । पेट्रोलियम भण्डारण निर्माण परियोजनाका संयोजक प्रदीप यादवले जग्गासम्बन्धी अख्तियार, संसदीय समितिको विवाद सल्टिएको बताउँदै निर्माणका लागि बजेट पारित भइसकेको बताए । आगामी मंसिरमा ०८१ सालभित्रै काम सकाउने गरी अघि बढाइनेसमेत जानकारी दिए । ’मंसिरमा ३ अर्बको प्रोजेक्ट लन्च गर्छ । २०८१ सालभित्रै पूरा गर्छौं,’ उनले भने, ‘निर्माण कार्यमा स्थानीय स्तरमै उपलब्ध सामग्री र कामदारलगायतको प्रयोग गरिनेछ ।’

निगमका प्रबन्धक रामहरि निरौलाले बस्तीभन्दा टाढा १४ बिघा जग्गामा अब पेट्रोलियम भण्डारण गृह निर्माणको काम अघि बढाइने बताए । ’भएका भन्डारण गृह साँघुरो भइसक्यो । १४÷१५ दिनलाई भन्दा पुग्दैन । पेट्रोलियम पदार्थको खपत बढिसक्यो,’ उनले भने, ’हामीलाई नयाँ भण्डारण गृह आवश्यक भइसक्यो ।’

भलबारीको भण्डारण क्षमता कम भएकाले नयाँ भण्डारण गृह बनाउन लागिएको निरौलाले बताए । नयाँ भण्डारण गृह ७० प्रतिशत ओमसतिया र बाँकी रोहिणी गाउँपालिकामा पर्ने बताए । रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले स्थानीयलाई रोजगारी दिनुपर्ने बताए । यसका लागि आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको समेत उनले बताए ।

ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जितकुमार यादवले रिटेनिङ वाल लगाउँदा अन्यत्र बाढी आउने डर भएकाले त्यसमा ध्यान दिनुपर्ने बताए । ’खोलामा उचाइ बनाउँदा बाढी आउने डर छ । यहाँ रोक्दा अन्यत्र बाढी जाने डर छ,’ उनले भने, ’स्थानीय बेरोजगारलाइ रोजगारी दिनुपर्छ । पालिकाबाट गर्नु पर्ने सहयोग गर्न तयार छौं ।’

पेट्रोलियम भण्डारण निर्माण परियोजनाका संयोजक प्रदीप यादवले करिब ३ अर्ब रुपैयाँ लागतमा उक्त भण्डारण गृह निर्माण हुन लागेको बताए । डिजेल भण्डारका लागि २ हजार १ सय किलोलिटर क्षमताका ३, पेट्रोल भण्डारणका लागि १ हजार ६ सय किलोलिटर क्षमताका दुई र मट्टितेल भण्डारणका लागि ७० किलोलिटर क्षमताका तीन वटा ट्याङ्क निर्माण गरिने पनि उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७