गजल : समय हरायो क्यारे !

-ओम प्रकाश घिमिरे
समय हरायो क्यारे, घडी मात्रै छ गाउँमा एक्लै
मानिस बिनाको, झुपडी मात्रै छ गाउँमा एक्लै
प्रतिभा सिर्जना र, नौजवान टिक्दै टिक्दैनन्
बुढा बाको खोपडी, मात्रै छ गाउँमा एक्लै
मोटर चढेर शहर पसे, बेचे सुबिदार बाले घोडा
बियोगमा झुण्डिएको, छडी मात्रै छ गाउँमा एक्लै
घन्किन्न रनबन, गोठाला खेताला, कराउन्न चरीहरु
बर्षादमा उर्लने, भेल बाढी मात्रै छ गाउँ एक्लै
रीति संस्कार परम्परा, सबै सबै शहर पसे
पुर्खाको इतिहासमा, गढी मात्रै छ गाउँमा एक्लै
अवसर र स्वतन्त्रताले, दरबार छोड्न नसकेपछि
बहिनी मरेको, छाउपडी मात्रै छ गाउँमा एक्लै