भोजपुरमा वाम गठबन्धन : कसिलो बन्दै शेरधन, सुदन र राजेन्द्रको सम्बन्ध


२७ कार्तिक २०७४, सोमबार
UML Bhojpur

भोजपुर, २८ कात्तिक : २७ कार्तिक गते भोजपुरको पौवादुङ्माको च्याङ्ग्रेमा आयोजित वामगठबन्धनको चुनावी सभामा माओवादी केन्द्रका नेता सुदन किरातीले एमाले नेता शेरधन राई र राजेन्द्र राईको खुलेर प्रशंसा गरे । सुदनले मात्रै होइन शेरधन र राजेन्द्रले पनि सुदनको तारिफ गरे । राजेन्द्रले शेरधनको प्रशंसा गरे, शेरधनले राजेन्द्रको ।

UML Bhojpur

भोजपुरमा सधैं तिक्त्ततापूर्ण सम्पूर्ण रहेको नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रका नेताहरुबीच यसरी एकआपसमा प्रशंसा गर्दा नेताहरु मात्रै होइन कार्यकर्ताहरु पनि मख्ख देखिए । हरेकजसो कार्यक्रममा तिनै जना उम्मेदवारहरुले एकअर्काको खुलेर प्रशंसा र तारिफ गरेर भाषण गर्ने गरेका छन् । उम्मेदवारहरुले एकले अर्काको बारेमा निकै लामो तारिफ मात्रै गदैनन् भबिष्यको सम्भावना समेत बताइदिने गरेका छन् ।

भोजपुरमा वामगठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुदन किराती उम्मेदवार छन् भने प्रदेशसभा सदस्यका लागि भोजपुर क्षेत्र.१ बाट एमाले केन्द्रीय सदस्य राजेन्द्र राई । क्षेत्र न.२ मा एमाले वैकल्पिक पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री शेरधन राई उम्मेदवार छन् ।

च्याङ्ग्रेको चुनावी सभामा किरातीले शेरधन राई भोजपुरको गौरव भएको बताए । उनले भने,‘कमरेड शेरधन राई हाम्रो भोजपुरको गौरव हुनुहुन्छ ।’ किरातीले शेरधन राई आफूलाई दिनप्रतिदिन असल नेता लाग्दै गएको उनले बताए । उनले भने,‘हाम्रो सहकार्य र सम्बन्ध जति बढ्दै जादैंछ, मलाई उहाँ उति नै असल लाग्दैछ ।’ आफूहरुको सहकार्य र सम्बन्ध बलियो बन्दै गएको उनले बताए । उनले भने,‘हाम्रो प्रेम यस्तो प्रगाढ बन्दै गएको छ, हामी महिला–पुरुष भएको भए हाम्रो विहे नै हुने सम्भावना थियो ।’ उनले शेरधन राईलाई प्रदेश नम्बर एकको मुख्यमन्त्रीको रुपमा पाउदा भोजपुरेहरुको शिर सगरमाथा जस्तै उचो भएको बताए । कार्यक्रममा उनले शेरधनको प्रशंसामा निकै लामो समय खर्च गरे ।

उता शेरधनले पनि सुदनको तारिफ गरे । सुदनको लामै प्रशंसा गरे । सुदनले अविचलित रुप भोजपुरको लागि काम गरेको उल्लेख गर्दै शेरधनले भने,‘उहाँ अविचलित रुपमा सधैं यही माटो र मान्छेको सेवामा हुनुहुन्छ ।’ सुदनलाई केन्द्रको भावी मन्त्रीको रुपमा समेत शेरधनले प्रस्तुत गरे । भने,‘भोली उहाँ केन्द्रको मन्त्री बन्दैहुनुहुन्छ ।’

च्याङ्ग्रेको कार्यक्रममा सुदनले राजेन्द्र राईको पनि उत्तिकै खुलेर प्रशंसा गरे । उनले भने,‘कमरेड राजेन्द्र राई गणतान्त्रिक आन्दोलनको एक जना नायक हुनहुन्छ ।’ राजेन्द्र राईले विद्यार्थी आन्दोलन र गणतान्त्रिक आन्दोलनमा खेलेको भुमिका बारे उनले लामै व्याख्या गरे । राजेन्द्रले पनि सुदनको प्रशंसा गरे । सुदनको मात्रै होइन राजेन्द्रले शेरधनको तारिफ गरे । उनले शेरधन एक नम्बर प्रदेशको भावी मुख्यमन्त्री भएको बताए । शेरधनले पनि राजेन्द्रको उस्तै प्रशंसा गरे । भोलीको प्रदेशको मन्त्री र सम्भावना बोकेको युवा नेताका भन्दै उनले लामो प्रशंसा गरे ।

भोजपुरमा एमाले र माओवादीका नेताहरु पनि फिल्डमा मसिनो गरी खटिरहेका छन् । एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद जयन्ती राई, केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्यका समानुपातिक तर्फका उम्मेदवार हरिबहादुर राई, पूर्वमन्त्री कृपाशुर शेर्पा, पार्टी सचिव शरण राई, नेता धनहर्क राई, निवर्तमान संसद तारादेबी राई, पासाङ्गदोर्ची शेर्पा, युवा नेता पारुहाङ राई, विद्यार्थी नेता मकर खड्का लगायत फिल्डमा खटिरहेका छन् ।

माओवादीको पनि प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक तर्फका उम्मेदवार दुर्गाजयन्ती राई, सौभाग्यवती राई, नेता हिमालधन राई लगायत मैदानमा छन् । वामगठबन्धनलाई जिताउन सैन्यविद् डा.ईन्द्रजित राई र योजना आयोगका पूर्व सदस्य डा.शिब राई सहित फिल्डमा खटिएका छन् ।

यी दुईदलबीच भोजपुरमा विगतमा तित्ततापूर्ण सम्बन्ध भएपनि अहिले त्यो नरहेको प्रेस चौतारीका केन्द्रीय सदस्य एक्सनले बताए । नेता र कार्यकर्ता दुबैमा सहकार्य र सम्बन्ध राम्रोे बनेको उनको बुझाई छ । भन्छन्,‘सहकार्य र सम्बन्ध राम्रो भएको छ ।’

यस्तो छ भोजपुरको प्रतिस्पर्धा
भोजपुरमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच द्धपक्षीय प्रतिस्पर्धा छ । लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यको लागि नेपाली कांग्रेसका नेता उमेशजंग रायमाझी उम्मेदवार छन् । प्रदेशसभा सदस्यको लागि क्षेत्र नम्बर एकबाट संघीय समाजवादी फोरमका नेता अजम्बर काङमाङ उम्मेदवार छन् । प्रदेश सदस्यको लागि क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता गोबिन्द कार्की उम्मेदवार छन् ।

स्थानीय तह निर्वाचनलाई आधारमा भोजपुरमा वाम गठबन्धन फराकिलो मतले अगाडि छ । स्थानीय तहको मत अनुसार वाम गठबन्धनको ४० हजार २१ मत छ भने कांग्रेसको २१ हजार ९०५ मत छ । यो १८ हजार ११६ को अन्तर हो ।

क्षेत्र.१ मा मा वाम गठबन्धनको १८ हजार ८४७ मत छ भने कांग्रेस गठबन्धनको १३ हजार ३७९ मत छ । क्षेत्र न.२ मा लोकतान्त्रिक गठबन्धनभन्दा वाम गठबन्धन झण्डै १३ हजार मतसहित अगाडि छ । वाम गठबन्धनको मत २१ हजार १७४ छ भने कांग्रेसको ८ हजार ५६२ मत छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७