सम्मान पाउनु नेपाली गीतसंगीतकै ठूलो गौरवको विषय : राजेशपायल राई


४ मंसिर २०७४, सोमबार
singer Rajesh payal Rai

काठमाडाैं : गायक राजेशपायल राईले सोचेका थिएनन्, जिन्दगीमा यति ठूलो सरप्राइज पाइन्छ भनेर । केही वर्षयता उनी बर्सेनि अमेरिकामा कन्सर्ट गर्न पुग्ने गरेकै थिए, यसपालिको सातौं अमेरिका यात्रा भने अलि भिन्न र महत्त्वपूर्ण रह्यो । उनलाई रोचेस्टर सहरकी मेयर लभ्ली वारेन, उपमेयर डा. कार्डिक एल अलेक्जन्डरले यस्तो सम्मान गरे, अब हरेक वर्ष त्यो सहरले नोभेम्बर ५ को दिनलाई ‘राई इज किङ डे’ का रूपमा मनाउनेछ । अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

singer Rajesh payal Rai

 

‘म त सो गर्न मात्र अमेरिका गएको थिएँ । सम्मान मेरो लागि पनि सरप्राइज नै भयो,’ केही दिनअघि मात्रै नेपाल फर्किएका उनले भने, ‘नेपाली गीत गाएर अमेरिकाको राज्यले सम्मान गर्नु यो मेरो मात्र उपलब्धि होइन, नेपाली गीतसंगीतकै ठूलो गौरवको विषय हो ।’अमेरिकामा रहेका नेपालीभाषी भुटानी समुदायको निमन्त्रणामा राजेश त्यता पुगेका थिए । राजेशले सम्मान पाएको साँझ फेसबुकमा स्टाटस राखेपछि मात्रै उनका शुभचिन्तकले थाहा पाएका थिए । सम्मान ग्रहण गरिरहँदा नेपाललाई नै सम्झिरहेको उनले सुनाए । भने, ‘सम्मान पाएको कुरा कसलाई सुनाऊँ जस्तो भएको थियो । निद्रा पनि लागेन, त्यो रात त्यसै बसेँ । पछि फेसबुकमा स्टाटस राख्दै अवार्ड पाएको खुसी साटेँ । नेपाली दाजुभाइ, दिदीबहिनीले बधाई दिनुभयो । पछि आफूले केही गरिरहेछु भन्ने भान भयो ।’
यसपटक उनले पोर्टल्यान्ड, सेकल, न्युहामसायर, न्युयोर्क, रोचेस्टरमा गरी पाँच ठाउँमा कन्सर्ट गरे । जुन २०१४ मा नेपालीभाषी भुटानी समुदायको निमन्त्रणामा पहिलोपटक गायक राजेश अमेरिका पुगेका थिए । त्यति बेला उनले टेक्सासमा एउटा सो गरेका थिए । सोही वर्ष जुलाईमा अभिनेता सरोज खनालले बोलाएपछि उनी क्यानाडाबाट सिधै अमेरिकाको भर्जिनिया पुगेर प्रस्तुति दिएर फर्किए । यसपालि दसैंतिहारको मेसो पारेर उनी सांगीतिक प्रस्तुति दिन त्यता पुगेका थिए ।
उनको हरेक अमेरिका यात्रा फरक अनुभवले भरिएको छ । एकपटक उनी न्युयोर्कमा कार्यक्रम गर्दागर्दै बिरामी भए । त्यहाँ चेकअप गर्दा केही पत्ता लागेन । भोलिपल्ट पाँच बजेको फ्लाइट चढेर लेनसिङ मिचिगन सिटीमा सो गर्न पुगे । बिरामी हुँदाहुँदै पनि उनले कसैलाई नबताइकन कन्सर्ट गरे । कन्सर्ट सकिएपछि उनी एक जना भाइलाई लिएर सिधै अस्पताल पुगे । अस्पताल पुग्दा थाहा पाए, उनलाई फ्लाइट सिकनेस भएको रहेछ ।

‘अमेरिकाका भिन्नभिन्न सहरमा शुक्रबार, शनिबार, आइतबार धेरै कार्यक्रम हुन्छ । फ्लाइट भेट्न झोला बोकेर कुदाकुद गरिरहन्थें,’ उनले भने, ‘धेरै फ्लाइटकै कारण शरीरमा पानीको कमी भएको रहेछ । पहिलोपटक यस्तो रोग सुनेर छक्क परें ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७