इँटाभट्टा सञ्चालनमा रोक


३० कार्तिक २०७५, शुक्रबार
ita bhatta

काभ्रेपलाञ्चोक, ३० कात्तिक । नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा इँटा उद्योग सञ्चालनमा रोक लगाएको छ ।

ita bhatta
सांकेतिक तस्विर

यसअघि चालु आर्थिक वर्षका लागि कार्यालयले नगरपालिका क्षेत्रभित्र अव्यवस्थित इँटा उद्योगको नवीकरणमा समेत रोक लगाएको थियो ।

कार्यालयले आज सूचना जारी गर्दै सर्वसाधारणलाई इँटा उद्योगलाई आफ्नो जमीन उपलब्ध नगराउन अनुरोध गरेको छ ।

स्थानीयवासीले केही वर्षदेखि इँटा उद्योगका लागि आफ्नो जमीन भाडामा दिँदै आएका थिए । नगरप्रमुख टङ्कप्रसाद शर्माले इँटा उद्योगको गत आर्थिक वर्षको कर मात्र लिएको र चालु आर्थिक वर्षको दर्ता-नवीकरण रोकिएको बताए । उनले भने, ‘अब इँटाभट्टा चल्न दिन्नँ ।’

नमोबुद्ध नगरपालिकाका ३१ संघसंस्थाले भकुण्डेमा रहेका इँटा उद्योग सञ्चालनमा रोक लगाउन कार्यालयमा निवेदन दिएका थिए । जिल्लामा सञ्चालित २० इँटा उद्योगमध्ये नमोबुद्धको भकुण्डेमा आठ इँटा उद्योग छन् ।

गत वैशाखमा वातावरण विभाग र नमोबुद्ध नगरपालिकाको संयुक्त अध्ययन, अनुगमन टोलीले भकुण्डेमा सञ्चालित इँटा उद्योग मापदण्ड विपरीत भएको निष्कर्ष निकालेको थियो ।

टोलीले इँटा उद्योगबाट निस्कने धुँवा–धुलोका कारण मानव, घरपालुवा जनावर, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा असर परेको जनाएको थियो । ‘अनुगमनपछि इँटा उद्योग दर्ता तथा नवीकरणमा रोक लगाउने निणय गर्‍यौं’, उनले भने ।

यस्तै पाँचखाल नगरपालिकाले समेत इँटा व्यवसायीलाई मापदण्डअनुरुप सञ्चालन गरिएको वातावरणमैत्री प्रमाण पेश गर्न आह्वान गरेको छ ।

नगर उपप्रमुख लक्ष्मी दनुवारले भने, ‘इँटा व्यवसायीलाई पटक पटक प्रमाण पेश गर्न भनेका छौँ, उहाँहरुले अटेर गरिरहनु भएको छ, एक महिनाभित्र प्रमाण पेश गर्न भनेका छौँ ।’

इँटा उद्योग संघका जिल्ला अध्यक्ष जीतेन्द्र खयमलीले उद्योगलाई वातावरणमैत्री बनाउनेबारे छलफल भइरहेको बताएका छन् ।

औद्योगिक क्षेत्र सञ्चालन ऐन २०५९ अनुसार इँटा उद्योग मानवबस्ती, विद्यालय र वन क्षेत्रभन्दा ५०० मिटर टाढा सञ्चालन गर्न पाइने प्रावधान छ । उद्योग मन्त्रालयको कार्यविधि २०७२ अनुसार बस्तीबाट एक किलोमिटर टाढा उद्योग सञ्चालन गर्नुपर्नेछ ।

जिल्लाको पाँचखाल नगरपालिकामा सात, नमोबुद्धको भकुण्डेमा आठ, पनौतीको शङ्खुमा एक, बनेपामा एक, मण्डनदेउपुरमा दुई र धुलिखेलमा एउटा इँटा उद्योग रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७