मङ्ग वान्जू पक्राउपछि अमेरिका र चीनबीच तनाव, आखिर को हुन् उनी ?

ओटावा : चिनियाँ दूरसञ्चार कम्पनी ‘हुवावे’ संस्थापककी छोरी एवम् कम्पनीकी उच्च अधिकारी मङ्ग वान्जूलाई क्यानाडामा पक्राउ गरिएपछि चीन र अमेरिकाबीच तनाव बढेको छ । मङ्ग वान्जू पक्राउपछि चीन अमेरिकासँग आक्रोशित बनेको छ ।

मङ्ग वान्जू
वान्जू हाल हुवावेकी प्रमुख वित्तीय अधिकृत हुन् । वान्जू १ डिसेम्बरमा भ्यानकुभरबाट पक्राउ परेकी थिइन् र उनलाई अमेरिका सुपुर्दुगी गराउनेसम्बन्धी एउटा सुनुवाई आज शुक्रवार हुँदैछ ।
उनलाई शनिवार भ्यान्कुभर विमानस्थलबाट समातिएपछि अमेरिका र चीनबीच तनाव बढेको ठानिएको छ भने विश्वका प्रमुख सेयर बजारमा पनि त्यसको प्रभाव परेको छ ।
मेङको गिरफ्तारीसँगै एसियाली सेयर बजारमा त्यसको असर देखिएको छ। साङ्घाइ र हङकङको सेयर बजारमा गिरावट आउनुका साथै प्रविधि क्षेत्रको सेयरमा मन्दी छाएको छ। मध्यान्हसम्म साङ्घाइ स्टक एक्सचेन्ज एक दशमलब ३ र हङकङ स्टक दुई दशमलब ६ प्रतिशतले घटेको छ ।
इरानमाथिको अमेरिकी नाकाबन्दीको हुवावेले अवज्ञा गरेको आरोपमा अमेरिकी अधिकारीहरुले अनुसन्धान सुरु गरेको बताइएको छ ।
अमेरिकी गुप्तचर अधिकारीहरुले हुवावेका गतिविधिमाथि निगरानी गरिरहेको र उक्त कम्पनी राष्ट्रिय सुरक्षाका दृष्टिले खतरापूर्ण रहेको बताउँदै आएका छन् ।
क्यानाडाको न्याय मन्त्रालयले एक वक्तव्यमा मेङलाई भ्यानकुभरबाट डिसेम्बर १ तारिखमा गिरफ्तार गरिएको जनाएको छ । मन्त्रालयले मेङलाई अमेरिका सुपुर्दगी गर्न आग्रह गरिएको बताएको छ । ओटावास्थित चिनीयाँ राजदूतावासले मेङलाई तत्काल रिहा गर्न आग्रह गरेको छ ।
हुवावेले मेङले कुनै गलत कार्य गरेको बारेमा जानकारी नभएको बताउँदै आरोपका बारेमा ज्यादै कम जानकारी दिइएको बताएको छ ।
कम्पनीले जारी गरेको एक वक्तव्यमा भनिएको छ, ‘हुवावेले सबै किसिमका कानुनी प्रक्रिया पूरा गरिरहेको छ। राष्ट्रसंघ, अमेरिका र युरोपेली युनियनबाट जारी भएका प्रतिबन्धहरु एवम् नियमहरुलाई पूर्ण पालना गरिएको छ ।’
को हुन् त मङ्ग वान्जू ?
मङ्ग वान्जू चीनको अग्रणी टेलिकम कम्पनी ह्वावेइकी आर्थिक मामिलासम्बन्धी प्रमुख र सोही कम्पनीका संस्थापककी छोरी हुन् । ह्वावेइ सञ्चार सामग्री र सेवा प्रदान गर्ने संसारकै सबैभन्दा ठूलो त्यस्तो कम्पनी हो ।
हालै मात्र उसले एप्पल कम्पनीलाई उछिनेर स्मार्टफोन उत्पादनमा सामसङपछि विश्वकै दोस्रो ठूलो कम्पनी बनेको छ । ह्वावेइ चिनियाँ प्रविधि क्षेत्रको एक मुकुट नै मानिने र मङ्ग त्यसको राजकुमारी मानिन्छ ।
चीन र अमेरिका विवाद
अमेरिकामा सुपुर्दगीको अनुरोधको आधारमा उनलाई क्यानाडाको भ्यान्कुभरबाट समातिएको दाबी गरिएको छ । क्यानाडाका प्रधानमन्त्री ट्रुडोले उनको गिरफ्तारीमा उनको सरकारले कुनै राजनीतिक हस्तक्षेप नगरेको भन्दै उचित कानुनी निकायहरूले आफ्ना कारबाही गर्ने सन्दर्भमा सो पक्राउ गरिएको बताए ।
प्रधानमन्त्रीले टुडोले क्यानाडामा स्वतन्त्र न्यायपालिका रहेको भन्दै यो प्रकरणमा राजनीतिक संलग्नता वा हस्तक्षेप नभएको भनेका थिए। तर त्यहाँको कानुन अनुसार मुद्दा चलेको विषयमा आफूले यो भन्दा बढी टिप्पणी गर्न नमिल्ने उनले बताए ।
शुक्रवार त्यहाँको अदालतमा उनको जमानतसम्बन्धी सुनुवाई हुँदैछ । चीनले उनको पक्राउलाई मानव अधिकारको उल्लंघन भन्दै तत्काल रिहाइको माग गरेको छ ।
अमेरिकी सांसदहरूले ह्वावेइका उत्पादनहरू चिनियाँ सरकारद्वारा जासुसीका लागि प्रयोग भएको हुन सक्ने बताउँदै सो कम्पनी अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि एउटा खतरा भएको बारम्बार बताउँदै आएका छन् ।
अमेरिकी पक्षद्वारा कैयौँ चिनियाँ कम्पनीहरूले इरानमाथि लगाइएका प्रतिबन्धहरूको उल्लंघन र साइबर चोरी गरेकोजस्ता आरोपहरू लगाउँदै ती कम्पनीहरूविरुद्ध कानुनी मुद्दाहरू दायर गरिएका बेला ह्वावेइकी उपाध्यक्ष मङ्ग पक्राउ परेकी हुन् ।