पूर्व राजाको लेख : मलाई राजा बन्ने लालसा थिएन, अवोध बाल्यावस्थामै राष्ट्रको श्रीपेच पहिर्‍याइयो

‘२०५८ को घटनाले ममाथि ठूलो वज्रपात भयो, सोच्दै नसोचेको पीडा भोग्नु पर्‍यो’


२३ असार २०७६, सोमबार
gyandendra shah

-पूर्व राजा ज्ञानेन्द्र शाह

gyanendra shah

सिङ्गो नेपाल राष्ट्रका निर्माणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशवृक्ष, प्रजातन्त्रदाता श्री ५ त्रिभुवनको पुत्र र नेपाली राष्ट्रवादका पृष्ठपोषक राजा महेन्द्रको मध्यम पुत्र एवं विकास चिन्तक राजा वीरेन्द्रका भ्राताका रुपमा हाम्रो मातृभूमि नेपालमा म पैदा भएँ ।

सदा शान्त, सौम्य, सुन्दर यो गौरवशाली स्वाधीन नेपाल राष्ट्रमा जन्मन पाएको, यहाँकै माटोमा हुर्कन पाएको र यहींको धर्तीको सेवामा जुट्न रम्न पाएकोमा म आफूलाई भाग्यशाली ठान्दछु ।
म नेपालको भक्त हुँ । देशभक्ति मेरो रक्त कण–कणमा प्रवाहित छ । नेपालको प्रकृतिप्रति मेरो अगाध प्रेम छ । यही मनोहारी प्रकृतिको संरक्षण संवर्धन र सम्मोहनमा मेरो मन निमग्न रहेको पनि हो । मेरो त्यो आस्था, आफ्नो प्रकृतिसँगको त्यो नाता, मोह ममता आज पनि उत्तिकै छ ।

हो म राजकुलमा जन्में । नेपालको राज परम्परा सदा नै लोकहितकारी रह्यो, त्यसमा मलाई गर्व छ । आफ्नो देश, आफ्नै देशको माया गर्ने र आफ्नो वंश परम्पराको सम्मान गर्ने एक भावुक प्रकृतिको मान्छे म । म डाँडाकाँडा घुमें । पाखा पर्वत पुगेर रमाएँ ।

तराईका वैभवशाली समथर फाँट एवं वस्ती–वस्तीमा पुगेर मैले हाम्रो प्राकृतिक तथा सामाजिक विविधता तथा विकास र पछौटेपनको सूक्ष्म अध्ययन पनि गरें । कैयन् नदीनाला खोला खोल्सी तरें । भावुकतावश यही नेपालको गीत गुन्गुनाएर रमाएँ ।

नेपालको इतिहास, यहाँको प्रकृति, सामाजिक संरचना र अवस्था व्यवस्थालाई आत्मसात् गरेर प्रकृति संस्कृति तथा परिस्थितिमा रमाएको मलाई नेपालको ठूलो महान् र विशिष्ट मान्छे बन्ने लालसा थिएन । मैले पछि थाहा पाएँ, अवोध बाल्यावस्थामै मेरो शीरमा नेपाल राष्ट्रको श्रीपेच पहिर्‍याइयो ।

त्यो इतिहासले अंकित गरेको विषय भएर पनि मलाई त्यस मानेमा गर्वको कुनै अनुभव रहेन । जान्ने बुझ्ने भएपछि मैले आफ्ना बुवाज्यू राजा महेन्द्रको शासनकालमा र दाज्यैज्यू राजा वीरेन्द्रको राज्यकालमा उहाँहरुलाई सघाउने तथा उहाँहरुका समीप भावपूर्वक रहेर नेपाली प्रकृति तथा यसको समुन्नतितर्फ नै आफूलाई समर्पित राखें ।

वि.सं. २०५८ को जेठमा आएर नेपालमा एक अकल्पनीय दुःखद अत्यन्त मर्माहत घटना घट्यो । जो सबैका निम्ति त्राशदीपूर्ण थियो, आश्चर्यकारी थियो । अचानक ममाथि ठूलो बज्रपात भयो । सोच्दै नसोचेको आफ्नै वंश नाशको पीडा मैले भोग्नु पर्‍यो । राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित मेरा दाजु–भाउजू, भाइ–भतिज, धेरैको वियोगको वेदना भोग्नु पर्‍यो ।

जेठ १९ गतेको त्यो अकल्पनीय त्रासदीपूर्ण पीडादायी घटना मेरा आँखामा प्रत्यक्ष रहेन । म राजधानी बाहिर थिएँ, घटना उप्रान्तको विभत्स दृष्य मात्र मैले देख्नु पर्‍यो, सहनु पर्‍यो । दरबारभित्रको त्यो कार्यक्रममा मेरी श्रीमती कोमल पनि सम्मिलित थिइन् । त्यो घटनामा मेरी श्रीमतीलाई भगवानले कसरी बचाए कुन्नी, उनीलाई पनि गोली लागेको थियो । ठूलै शल्यक्रियापछि पनि अझै पनि उनको शरीरमा गोलीका टुक्राहरु बाँकी रहेको कुरा चिकित्सकहरु व्यक्त गर्दछन् । मलाई कताकता पीडाबोध भइरहन्छ ।

त्यतिखेर परिस्थिति, विधि र परम्पराको बाध्यताभित्र रहेर मलाई नेपाल राष्ट्रको राजा बन्नुपर्ने अवस्था आयो । मैले सार्वजनिक, औपचारिक, अनौपचारिक तथा आम साञ्चारिक क्षेत्रको त्यो पीडा एवं बाध्यता पटक–पटक अभिव्यक्त पनि गरिसकेको छु । मैले धेरै ठाउँमा भनें,–प्रकृतिमा रमाएको र आफ्नै भावनामा बगेको एक राष्ट्रभक्त चरित्र मलाई राजा बनेर देश हाँक्ने कुनै रहर र लहड थिएन ।

तर नेपालको परम्परा, संवैधानिक व्यवस्था तथा तत्कालीन घटनाचक्रको अवस्था भित्र रहेर मैले नेपालको राजगद्दी सम्हाल्नु पर्‍यो । नेपाली राजपरम्पराको लोककल्याणकारी आदर्शकै अवलम्बन गरेर अब मैले राष्ट्र, राष्ट्रवासी र राष्ट्रिय व्यवस्था अवस्थामा आफूलाई लगाउनु पर्‍यो, लगाएँ, लागें र प्रजातान्त्रिक आदर्शलाई अगाडि बढाउँदै आफूलाई संवैधानिक दायरा अनुरुप नै आफ्नो धर्म निर्वाह गरें ।

नेपालको राजदरबारभित्र भएको अकल्पनीय घटना पश्चात् आएको राजनीतिक घटनाक्रमको श्रृङ्खलामा फेरि पनि अनेकथरी गतिविधिहरु भए । तत्कालीन संवैधानिक व्यवस्थाभित्र अनेक व्यवधानहरु खडा गर्ने बखेडा विद्रोह आदि भए । संवैधानिक राजतन्त्र र बहुदलीय संसदीय शासन प्रणालीलाई चल्न नदिन अनेक अवरोधक परिस्थितिहरु पैदा भए । चल्दै आएको सुचारु परिपाटीले काम नचलेपछि अरु कुनै वैकल्पिक सोचले केही हुन्छ कि भनेर सोचियो । वार्ता संवाद, सहमति र सुचारु गतिविधिका अनेक उपायहरु पनि गरियो ।

वि.सं. २०६२–६३ र ६४–६५ सम्म आइपुग्दा देशको परिस्थितिले के–के कोल्टो फेर्‍यो । त्यतिखेर कतिलाई अतितको बोध हरायो, कतिलाई भविष्यको अनेक सपना तानाबानाले तान्यो । के–के भयो के–के । राजनीतिमा देशी विदेशी र राज्य व्यवस्थाका दिग्गज पण्डितहरु नै दिग्भ्रमित भएपछि मैले राजपाठ परित्यागको एउटा सामयिक अठोट गरें । उदारतापूर्वक परिवर्तनकारी शक्तिहरुबाटै यो मातृभूमिको उत्तरोत्तर प्रगति होला कि भन्ने सोच राखेर नासोका रुपमा श्रीपेच सुम्पेर नारायणहिटी राजदरबारबाट निस्किएँ ।

वि.सं. २०६५ साल जेठ २९ गते नारायणहिटी राजदरबारमा भएको पत्रकार सम्मेलनमार्फत् देशवासीलाई सम्बोधन गर्दा मैले भनेको थिएँ, –राष्ट्राध्यक्षको हैसियतमा काम गर्दा मैले कुनै कसैको अधिकार हनन् हुने काम गरिनँ । अहिले पनि म आफ्नो अन्तर्हृदय पोख्दछु कि मैले आफ्नो सात वर्षे त्यो राज्यकालमा जे गरें, त्यो तत्कालीन संवैधानिक जटिलता र अवरुद्धताको कार्य कारणमै भएर गरेको हो । अन्यथा मेरा यावत् कार्यकलाप देशहित विरुद्ध थिएनन् ।

अनि त्यतिखेर मैले भनेको थिएँ, ‘म जुनसुकै हैसियत र अवस्था रहे पनि नेपाल राष्ट्रको स्वतन्त्रता, अखण्डतामा समर्पित रहने प्रण गर्दछु, किनकी मलाई स्वतन्त्र राष्ट्र नेपालको माया छ ।’ अहिले पनि १२ वर्ष अघिको आफ्नो त्यो कथनको स्मरण गर्दै मेरो अन्तरमन भन्छ,– हाम्रो यो प्यारो देश नेपाल हामी सबै मिलेर बचाउने हो, बनाउने हो । हामी सबै मिलेर हाम्रो देश सिगार्ने हो अनि हामी सबै जुटेर हाम्रो देशका सबै जनतालाई सुखी र समृद्ध बनाउने हो ।

अहिले हाम्रो मुलुक नयाँ परिवर्तनमा छ । राजनीतिक परिवर्तनको इच्छा र समसामयीक सन्दर्भलाई बुझेर मैले लोकसम्मत आधारलाई अख्तियार गरें । तत्पश्चात पनि एक स्वतन्त्र नागरिकका हैसियतले मैले राष्ट्रभक्ति तथा जनहितकारी कार्यविधिलाई नै आफ्नो राष्ट्रिय धर्म ठान्दै आएको छु । गहन जिम्मेवारी र शासकीय अभिभाराबाट पृथक रहेर पनि मैले यताका १०–१२ वर्षमा निकै पटक देश दर्शन गरेको छु । धेरैधेरै जनताका हृदय स्पन्दन छामेको छु र राष्ट्रको अवस्थाको बोध गर्दै आएको छु ।

सायद धेरैको चाहना भावना वा त्यस्तै केही महत्वबोधका कारणले होला मैले पटक–पटक भनेका बोलेका कुराहरुलाई संग्रहित गरेर यो संग्रह प्रकाशन गरिएको जस्तो लाग्छ । जे होस, यो आम जनसमक्ष छ । जे जसरी जसले यसलाई अथ्र्याउन् । मेरो अभ्यन्तरको, मेरो अन्तर्मनको आफ्नो स्पन्दन आफ्नो धड्कन त त्यत्ति हो– यो राष्ट्रले उँचो गति लेओस्, यसको स्वाधिनता स्वाभिमान नगुमोस् र नेपाली जनता सुखी शान्त रहुन् ।

(पूर्व राजा ज्ञानेन्द्र शाह आ सोमबारदेखि ७३ वर्षमा प्रवेश गरेका छन् । जन्मोत्सवको अवसरमा प्रकाशित पूर्वराजाले २०५८ देखि २०७६ सम्म व्यक्त गरेका विचार तथा सन्देशहरुको संग्रह ‘सन्देश संग्रह’ मा प्रकाशित उनको लेख । संग्रह पुस्तक सोमबार नै भएको छ ।)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७