सुन तस्करीमा बाबु–छोरा नै : चीनबाट ल्याएर भारत ‘सप्लाई’

८८ किलो सुन तस्करीमा उम्किएका थिए बडू, कारोबारमा परिवार र आफन्त परिचालन


१४ बैशाख २०८१, शुक्रबार
gold money

काठमाडौं । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार राति काठमाडौं न्युरोडबाट करिब डेढ करोड रुपैयाँ र डेढ किलो सुनसहित सात जनालाई समात्यो । उनीहरुलाई पक्राउ गर्नका लागि प्रहरीले चार महिनादेखि पिछा गरिरहेको थियो ।

उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरक्षा केसी नेतृत्वको टोलीले एक करोड ४३ लाख ६० हजार नगद र एक हजार ७६८.२५ ग्राम सुन बरामद गरेको हो । प्रहरीलाई तीन हप्ता अघि नै सुन तस्करी भइरहेको सूचना मिलेको थियो । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले त्यसका विरुद्ध अपरेशन नै चलाएको थियो ।

gold money arrest 1 1024x683 1

तस्करीको सुन र नगदसहित पक्राउ पर्नेहरूमा दार्चुलाको महाकाली नगरपालिकाका ४७ वर्षीय गणेशदत्त बडू, आयुष बडू, झापाको विर्तामोड नगरपालिका–३ का दिनेश खरेल र भरतराज खरेल छन् । त्यस्तै भारतीय नागरिक ३७ वर्षीय अमल विभूति, सोहीका प्रकाश विभूति र गणेश सतिस बाल्टेलाई समेत प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई प्रहरीले सार्वजनिक गरेको छ ।

एसएसपी राठौरका अनुसार तस्करीको सुनसहित पक्राउ परेकाहरूमध्ये मुख्य आरोपी दार्चुलाका बडू हुन् । न्युरोडको रञ्जना मलमा मालिकार्जुन सुन पसल समेत चलाएका बडूले लामो समयदेखि सुन तस्करी गर्दै आएको अनुसन्धानमा खुलेको छ ।प्रहरीले बरामद गरेको सुन चिनियाँ तस्करी समूहले बडूलाई दिएको पाइएको छ । प्रहरी अनुसन्धानबाट उक्त सुन १० दिनअघि मात्रै काठमाडौं भित्रिएको पाइएको छ । बडूको साथबाट बरामद नगद समेत तस्करीको सुन बिक्री वापत आएको प्रहरीको दाबी छ ।

प्रहरीले पक्राउ गरेका गणेशदत्त र आयुष बाबु–छोरा हुन् । पुर्खौली घर दार्चुला भए पनि हाल बडू परिवार काठमाडौंको कलंकीमा बस्दै आएका छन् । उनीहरूसँगै पक्राउ परेका झापाका दिनेश र भरतराज पनि सहोदर दाजुभाइ हुन् । उनीहरू गणेश दत्तकै साँढुदाइका छोराहरू हुन् ।

Gold Taskar

उनीहरूले काठमाडौं महानगरपालिका–२४, दुच्छेनली टोलबाट छुट्टाछुट्टै कोठा भाडामा लिएर सुन तस्करी गर्ने गरेको खुलेको हो । सुन र नगद रकम प्रहरीले दुच्छेनली टोलकै खरेल र बडूको कोठाबाट बरामद गरेको अनुसन्धानमा खटिएकी डीएसपी केसीको भनाइ छ । पक्राउ परेका भारतीय नागरिक सुन खरिद गर्न बडू र खरेलको कोठामा पुगेको खुलेको छ । बडू समूहले लामो सयमदेखि सुन तस्करीको कारोबार गर्ने गरिएको अनुसन्धानबाट खुलेको छ । उनीहरूमाथि थप अनुसन्धान गर्न राजस्व अनुसन्धान विभाग पठाउने तयारी प्रहरीको छ । यद्यपि, राजस्व र सरकारी वकिल कार्यालयले संगठित तस्करीमा अनुसन्धान गर्नुपर्ने अवस्था देखिए उनीहरूमाथि संगठित तस्करी मुद्दामा अनुसन्धान गरिने कार्यालयका एसएसपी राठौरको भनाइ छ ।

८८ किलो सुन तस्करीमा उम्किएका थिए बडू
सुन तस्करीमा बडू नयाँ नाम होइन । उनी २०७४ भदौ १९ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले बरामद गरेको ८८ किलो सुन तस्करी प्रकरणमा समेत संलग्न रहेको खुलेको थियो । त्यतिबेला प्रहरीले संगठित सुन तस्करीमा मुद्दा चलाएको थियो ।

जिल्ला अदालतबाट तीन लाख रुपैयाँ धरौटीमा छुटेका थिए । त्यतिबेला पनि चिनियाँ समूहले रुसुवाको केरुङबाट बा १७ च ६४२७ नम्बरको गाडीबाट सुन काठमाडौं भित्र्याएको थियो । प्रहरीले ८८ किलो सुन ल्याएको कार काठमाडौं–१९, धोवीचौरबाट नियन्त्रणमा लिएको थियो । उक्त सुन तस्करी प्रकरणका मुख्य अरोपी चिनियाँ नागरिक रहेको खुलेको थियो । तर, उनी भने पक्राउ परेनन् । उक्त सुन तस्करी प्रकरणमा ११ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७