मेगा बैंकले वैदेशिक रणनीतिक साझेदार ल्याउन पहल गर्ने


३० पुष २०७५, सोमबार
1547471487Mega AGM1


काठमाडौं, पुस ३० । मेगा बैंकले शेयरधनीहरुका लागि बोनस शेयर सहित ७।८५ प्रतिशत लाभांश पारित गरेको छ । सोमबार सम्पन्न आठौँ बार्षिक साधारण सभाले चुक्ता पुँजीको ६।८५ प्रतिशतले हुन आउने ७० करोड ४५ लाख ५८ हजार रुपैयाँको नगद लाभांश पारित गरेको हो।

यसैगरी, चुक्ता पुँजीको १ दशमलव ००२३३ प्रतिशले हुन आउने १० करोड ३० लाख ९४ हजार ८ सय ७५ रुपैयाँको बोनस सेयर पारित भएको छ।
साधारण सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी दिएको छ। मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले प्रचलित ऐन तथा कानुनको अधिनमा रही वैदेशिक रणनीतिक साझेदारको पहिचान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको जानकारी दिए।

छोटो समयमै मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएकोमा आफूलाई गौरव लागेको भन्दै अध्यक्ष शाहले वैदेशिक रणनीतिक साझेदार ल्याउने विषयमा बैंकले छलफललाई अगाडि बढाइसकेको बताए।

बुटवलमा आफ्नै प्रादेशिक कर्पोरेट कार्यालय भवनको शिलान्यास भई भवन निर्माण कार्य अघि बढाएको र केन्द्रीय कार्यालय भवन निर्माणका लागि जग्गा खरिद प्रक्रिया अघि बढेको उनले बताए।

मेगा बैंकले मर्जरको ढोका पनि खुल्ला राखेको छ । मेगा बैंकमा अर्को कुनै बैंक वा वित्तीय संस्था एक आपसमा मर्ज गर्न तथा एक्विजिसनका लागि बैंकको चल–अचल सम्पत्ति, दायित्व तथा कारोबारको पछिल्लो मुल्यांकन गर्न मुल्यांकनकर्ता नियुक्त गर्न साधारण सभाले अनुमति दिएको छ। मेगा बैंकमा गत बर्ष मात्रै तत्कालीन टुरिजम डेभलपमेन्ट बैंक र त्यसअघि पश्चिमाञ्चल डेभलपमेन्ट बैंक गाभिएको थियो।

कृषि, पर्यटन, जलविद्युत र भौतिक पूर्वाधार परियोजना लगायतका क्षेत्रमा लगानी विस्तार गरी ‘हलोदेखि हाइड्रोसम्म’को नारालाई सार्थक बनाउन आफू लागिपरेको सिइओ अनुपमा खुञ्जेलीले जानकारी दिइन्।

अहिले उपत्यका र उपत्यकाबाहिर गरी मेगा बैंकका १०२ वटा शाखा कार्यालयहरु, १८ वटा एक्सटेन्सन काउन्टरहरु, ८१ वटा एटीएम मेशिन तथा ११९ वटा शाखारहित बैंकिङ केन्द्रहरु रहेका छन्। चालु आर्थिक बर्षमा ७२ वटा शाखारहित सेवा विस्तार गरी दूरदराजका सर्वसाधारणमा बैंकिङ पहुँच बढाउने मेगा बैंकको योजना छ।

यसैगरी, ‘मेगा रेमीट’को सञ्जाललाई संसारका बिभिन्न मुलुकमा विस्तार गर्ने उद्देश्यले यसबर्षबाट दक्षिण कोरियामा मेगा बैंकको प्रतिनिधि राखी सेवा सुरु भइसकेको बैंकले जनानएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७