मेयर र प्रशासकीय अधिकृतलाई घुसः ईंटा उद्योगको बारेमा नगरसभा मौन


६ फाल्गुन २०७५, सोमबार
som misra

भक्तपुर, ६ फागुन । चाँगुनारायण नगरपालिकाबाट ईंटा भट्टाहरु हटाउने भनेर ब्यापक हल्लाखल्ला गरिए पनि एक शब्द पनि उच्चारण नगरी नगरसभा सम्पन्न भएको छ । ठूलो आर्थिक चलखेलमा ईंटा उद्योग हटाउने निर्णयबाट नगरपालिका पछि हटेको छ । चाँगुनारायण नगरपालिकाको चौथो नगरसभा विद्युत प्राधिकरणको हल खरिपाटीमा २०७५ माघ २५ मा सम्पन्न भएको छ ।

som misra
सोम मिश्र र चिरन्जीवी तिमल्सिना

नगरसभा सुरु हुनु एक साताअघि नगरपालिकाका प्रमुख सोम मिश्र र प्रशासकीय अधिकृत चिरन्जीवी तिमल्सिनाले इटा भट्टा हटाउनेबारेमा ब्यवसायीहरुसँग छलफल गरेका थिए । छलफलमा प्रशासकीय अधिकृत तिमल्सिनाले ब्यवसायीहरुलाई कडिकडाउ हाउभाउका साथ भनेका थिए–‘ईटा उद्योग हटाउन ब्यापक जनदबाब छ, नगरसभाबाट निर्णय हुन्छ, तपाईहरु वैकल्पिक ब्यवसाय रोज्नुस् ।’
मेयर मिश्रलाई साक्षी राखी प्रशासकीय अधिकृत तिमिल्सिनाले नगरसभा हुनु एक साताअघि ईटा उद्योग हटाउने निर्णय गर्न लागेको बताएपछि ब्यवसायीहरु आतंकित भए । नगरसभाबाट पारित निर्णय ऐन नै हुन्छ । तिमल्सिनाको भनाइपछि नगरसभाबाट र्ईटा उद्योग हटाउने निर्णय हुन नदिन चाँगुनारायण नगरपालिकाभित्रका ब्यवसायीहरुले चलखेल गर्न थाले । प्रशासकीय अधिकृतले उद्योगसँग पैसा झार्नका लागि छलफल गरेको बुझेका र्ईटा ब्यवसायीले ठूलै रकम भेटी बुझाएर नगरसभाबाट निर्णय हुन दिएनन् । ईटा उद्योग हटाउने भनेर एक साताअघि ब्यवसायीसँग छलफल गरेको नगरपालिकाले त्यसबारेमा एक शब्द पनि उल्लेख गरी नगरसभा सम्पन्न गरेको छ ।
ईंटा उद्योग संघ भक्तपुरका पदाधिकारीहरुले एकमुष्ट घुस बुझाएपछि नगरसभामा त्यसबारेमा केही पनि उल्लेख नगरिएको चाँगुनारायण नगरपालिकाका एक वडाध्यक्षले बताएका छन् । ती वडाध्यक्षले भने–‘नगरसभाबाट निर्णय हुन नदिन ईंटा उद्योग संघले चाँगुनारायण नगरपालिकामा भएका ५१ वटा उद्योगबाट करिब १० करोड रुपैयाँ नगरपालिकाका कार्यकारी अधिकृत र मेयरलाई बुझाउनका लागि उठाएको सूचना पाइएको छ ।’
एक साताअघि नगरसभाबाट ईंटा उद्योग हटाउने निर्णय गर्दैछौं, बैकल्पिक ब्यवसायमा जानुस् भनेर ब्यवसायीसँग छलफल गर्नु, नगरसभामा त्यसबारेमा केही उल्लेख नगर्नु र ब्यवसायीले रकम उठाएको कुरा आउनुले मेयर र प्रशासकीय अधिकृतले घुस खाएको कुरालाई पुष्टी गर्ने आधार प्रदान गरेको छ । चाँगुनारायण नगरपालिकाका सुडाल, ताथली, झौखेलमा ईटा भट्टाहरु छन् । जुन भट्टाले त्यस क्षेत्रमा प्रदूषण फैलाएको भन्दै स्थानीयले हटाउन माग गर्दैआएका छन् ।
चाँगुनारायण नगरपालिकामा आएको तीन महिनामा ईटा उद्योगलाई तर्साएर करोडौं घुस असुली गरेका प्रशासकीय अधिकृत तिमल्सिनाले मनोहरा खोलाको बालुवामा पनि कुस्त आर्थिक लाभ लिएर मनपरी दोहन गर्न छुट दिएका छन् । बालुवा कारोबारीहरुसँग प्रशासकीय अधिकृत तिमल्सिनाको कनेक्सन सरुवा भएको केही दिनदेखि नै जोडिसकेको छ, आजको साँघु साप्ताहिकमा समाचार छ । बालुवा निकाल्दा विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर नै खतरामा पर्ने अवस्थामा पुगेकोमा स्थानीय जनसमुदायले बिरोध गरिरहेको बेला प्रशासकीय अधिकृत तिमल्सिनाले माटो र ढुंगासमेत निकालेर निर्वाध लैजाने छुट दिएका छन् ।
प्रशासकीय अधिकृत तिमल्सिनाले जग्गा प्लटिङ गर्नेहरुसँग पनि आनाको हिसाबले घुस लिएर स्काभेटर चलाउन दिएका छन् । जबकि जग्गा प्लटिङमा स्काभेटर चलाउन पाइँदैन । चाँगुनारायणका ताँथली, सुडाल र नगरकोट क्षेत्रमा प्रशासकीय अधिकृत तिमल्सिनालाई आनाको दरले घुस दिएर स्काभेटर प्रयोग गरी जग्गा प्लटिङ भइरहेको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय अधिकृत हुँदा खरिददेखि नक्सापासमा सेटिङ गरेकोमा विवादमा परेका उपसचिव चिरन्जीवी तिमल्सिना ३ महिनाअघि मात्र चाँगुनारायण नगरपालिकामा सरुवा भएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाका विश्वासपात्र भएकाले उनले सूर्यविनायकमा भ्रष्टाचारमा मुछिएका उनलाई चाँगुमा सरुवा गरिदिएका थिए । सूर्यविनायकभन्दा चाँगुनारायणमा बालुवादेखि ईटा उद्योगहरु देखेकाले कुस्त आम्दानी गर्ने देखेपछि सचिव थपलियालाई प्रभावमा पारी उनी सरुवा भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७