स्वतन्त्रताको सीमा हुँदैन, तर मर्यादाको सीमा हुन्छ : मन्त्री बाँस्कोटा


१० फाल्गुन २०७५, शुक्रबार
gokul baskota

काठमाडौं, १० फागुन । प्रतिनिधिसभाको आजको बैठकले ‘सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयक प्रस्तुत गरेका थिए ।

gokul baskota
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा ‘सूचना प्रविधिसम्बन्धी विधेयकमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्दै। तस्वीर : रासस

सैद्धान्तिक छलफलमा सांसद नवराज सिलवालले विधेयक समय सापेक्ष भएको बताए । सांसद पुष्पा भुषालले संविधानको भावना विपरीत सो विधेयक आएको भन्दै संशोधनको माग गरेकी थिइन् । सांसद गगन थापाले सामाजिक सञ्जाल दर्ता गर्न आवश्यक नरहेको बताएका थिए ।

सैद्धान्तिक छलफललका क्रममा सांसद डिला सङ्ग्रौला, महेश बस्नेत, योगेश भट्टराई, खगराज अधिकारी, विमला विक, रेणुका गुरुङ र सूर्य पाठकलगायतले बोलेका थिए । छलफलमा उठेका प्रश्नको जवाफ दिंदै मन्त्री बाँस्कोटाले विधेयकमा कही कतै साइबर संसारलाई प्रतिबन्ध गर्ने शब्द उल्लेख नभएको सदनलाई जानकारी दिए ।

‘सबैलाई थाहा छ, स्वतन्त्रताको सीमा हुँदैन, तर सबैलाई यो पनि थाहा छ, मर्यादाको सीमा हुन्छ, त्यो नाघ्न मिल्दैन’, मन्त्री बाँस्कोटाले भने । त्यसैगरी आजै ‘सङ्घीय निजामति सेवा विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ । सदनमा सो विधेयक सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक फागुन १४ गते ११ बजे बस्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७