पूर्व राजा पहाड-मधेसमा सोचेभन्दा बढी लोकप्रिय


५ चैत्र २०७५, मंगलवार
Gyanendra Shaha z

काठमाडौं, ५ चैत । आगामी दुई महिनाभित्र भारतमा नयाँ सरकारका लागि लोक सभाको चुनाव सकिनासाथ नेपालमा राजतन्त्र र हिन्दु धर्म स्थापनाको निर्णायक आन्दोलनको तयारी भएको छ । राजसंस्था र हिन्दु धर्मको रुझान बुझ्नका लागि पूर्वराजाको देशाटन भएको थियो ।

Gyanendra Shaha z

उनी केही समयअघि पोखराको भ्रमण सकी मधेस भ्रमणमा निस्किएका थिए । सो भ्रमण पनि उनले सकेका छन् । यस्तै, राजतन्त्र र हिन्दु धर्म स्थापनका लागि राप्रपा कमल थापा, राप्रपा संयुक्त, शिव सेना नेपाल, शाही युवा शक्तिलगायतले पनि विभिन्न ठाउँमा आफ्ना कार्यक्रम गरिसकेका छन् ।

‘यो निर्णायक आन्दोलनका लागि जनमतको रुझान पनि हो । कुन क्षेत्रमा कति जनताले राजा र हिन्दु धर्म चाहेका छन् भन्ने अध्ययन वितेका केही बर्षमा दरबारबाट नै भइसकेको छ’, स्रोतले भन्यो,‘अब निर्णायक आन्दोलन र तत्कालिन सात दलले दरबारसँग गरेको सहमतिका विषयमा कुरा उठ्नेछ ।’

परिस्थिति प्रतिकूल रहेका कारण भएका सहमतिका विषयमा पूर्वराजाले संकेतमात्र गर्दै आएका थिए । संवैधानिक राजतन्त्र स्थापना गर्ने भनी तत्कालिन सात दल र दरबारबीच भारतीय अधिकारीको मध्यस्ततामा सम्झौता भएको स्रोतहरूको दाबी छ । ‘भारतले पूर्वराजालाई दिएको समर्थन र भावनात्मक सम्बोधनले पनि यो विषय पुष्टि गर्छ ।’

पूर्वराजा ज्ञानेन्द्रलाई मधेसमा आफूलाई समर्थन नमिल्ने हो की भन्ने चिन्ता थियो । तर, उनलाइृ अन्य ठाउँमा भन्दा मधेसमा नै ठूलो सत्कार र सहयोग रहेको रुझान बुझिसकेका छन् । यो सन्देश बोकेर उनी भारतीय अधिकारीसँग पनि भेट गर्नेछन् जसले तत्कालिन अवस्थामा नेपालमा संसद पुनस्र्थापना र सात दलसँग सम्झौतामा जानका लागि मध्यस्तता गरेका थिए ।

नेपालमा लोकतान्त्रिक आन्दोलन सडकमा चलिरहेका बेला मिलाउनका लागि तत्कालिन सत्तारुढ कांग्रेस आईका तर्फबाट करण सिंह डा. मनमोहन सिंहको विशेष दूतका रूपमा काठमाडौं आएका थिए । सिंह दरबारसँग पारिवारिक सम्बन्ध राख्ने व्यक्ति पनि पर्छन् ।

‘भएका सबै सहमतिका विषयमा अहिले नै खुलस्तका साथ भन्नु हुँदैन तर जनमत संग्रह वा अरु कुनै हिसाबमा नभई सहमतिका आधारमा नै दरबार स्थापना हुनुपर्छ भन्ने मान्यता छ’, निर्मलनिवास स्रोतले भन्यो,‘अब बेला आएका कारण यस विषयको कुरा उठाउने सम्भावना छ ।’

संघीयता असफल भएको घोषणा गरी एकात्मक राज्यप्रणालीमा जाने राजनीतिक तयारी भए पनि तत्काल त्यस्तो असर देखाउन नसक्ने भएपछि निर्मलनिवास लगायत राजतन्त्र मान्ने दलीय शक्तिहरू अहिले सक्रिय हुन थालेका हुन् ।

पूर्वराजाको पहाड र मधेस भ्रमण यति लोकप्रिय हुनुका साथै जनताको उपस्थिति हुनेमा राजावादी नै आशावादी थिएनन् । अहिले उनीहरूमा राजसंस्था पुनस्र्थापना हुन्छ भन्ने आत्मबल सञ्चार भएको छ ।

मधेस भ्रमणका क्रममा पूर्वराजासँग निरन्तर रहेका र भित्रि सुरक्षा घेरामा संगठन नै परिचालन गरेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत भन्छन्, ‘राजसंस्थाको विकल्प छैन । राष्ट्र जोगाउन राष्ट्रवादी एक हुन आवश्यक छ । यो भ्रमणले राजसंस्थाप्रतिको आस्था कति बलियो छ भन्ने पनि जनाउ दिइसकेको छ ।’

उनी आइतबार सप्तरीको छिन्नमस्ता मन्दिर दर्शनका लागि पुगेका थिए । त्यसअघि शनिबार उदयपुरको गाइघाट, जनकपुर र सर्लाहीमा धार्मिकस्थलको भ्रमण सकी सर्वसाधारणसँग भेट गरे । ‘यो भेट निक्कै प्रभावकारी र जनतासँग राजा भन्ने हिसाबले भयो । जहाँ घन्टौं कुरेर आस्थावानले राजाको दर्शन गरे’, बस्नेतले भने ।

उनको भ्रमण कुनै सभा वा सम्मेलनमा भाषण गर्ने नभई मन्दिर र धार्मिक स्थलको दर्शनसँग जोडिन्छ । मान्छेको उभार त्यहाँ लाग्ने गर्छ । जनताले उनलाई हेर्ने उत्कट चाहनामा आफूलाई घण्टौं उभ्याए । ‘राजा र राजसंस्थाप्रति तराईका जनताको विश्वास र भरोसा थामिनसक्नु रहेको पाइयो । धार्मिक सापेक्षता, राजसंस्था कायम नगरी मुलुकमा विकास नहुने गुनासो गरेको सुनियो’, बस्नेतले भने, ‘पहाडको भ्रमण सकेर मधेस झर्नुभएका राजाका लागि जनताको उभारले आस्था नखुम्चिएको प्रस्ट हुन्छ ।’

पूर्वराजाले झापादेखि आफैं सवारी चलाउँदै धनुषासम्म पुगेको चर्चा पनि कम भएको थिएन । जसरी उनले सयको स्पिडमा कार मात्र कुदाएनन्, मधेस यात्रा पनि सोही स्पिडमा अरुलाई पछि पार्दै सम्पन्न गरे । यसै पनि लोकप्रिय बन्दै गएका पूर्वराजा ज्ञानेन्द्रको देश दौडाहाले मूलधारका राजनीतिक शक्तिमा तरङ्ग पैदा भएको छ । उनको भ्रमणसहित लोकप्रियता देखेर सत्तारुढ नेकपा र प्रतिपक्षी नेपाली कांग्रेस पनि झस्किएको छ । जनप्रहार साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७