सरकारी जग्गा व्यक्तिको नाममा गर्ने मालपोतका खरिदार, अमिनसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा


१४ बैशाख २०८१, शुक्रबार
Akhtiyar

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोलुखुम्बु साविक जुभिङ्ग गाउँपालिका –५ को कित्ता नम्बर ५७९ र ५८१ को जग्गा नक्कली श्रेष्ता खडा गरी व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन खरिदारसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले मालपोत कार्यालयका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौला, खुम्बु पासाङल्हामु गाउँपालिका–१ बस्ने बुद्धमाया थापा मगर र निजको नाती रामकृष्ण थापा मगरविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सरकारको नाममा रहेको जुभिङ्ग गाउँपालिका–५ मा रहेको जग्गा व्यक्ति विशेषको नाममा दर्ता गर्ने÷गराउने कार्यमा संलग्न देखिएको ठहर गर्दै अख्तियारले उनीहरूबिरुद्ध ६ लाख १८ हजार रुपैयाँ बिगो र सजाय माग दावी गर्दै आरोप– पत्र दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । सो मुद्दामा फुर गेल्जे शेर्पा, ङिम याङ्जि शेर्पा, ल्हाक्पा दिकि शेर्पा, पेम्बा शेर्पा, ल्हाक्पा गेल्जेन शेर्पा, शर्मिला राई र मृत्यु भएका मिङमा ल्हमू शेर्पालाई प्रतिवादी बनाइएको छ ।

उनीहरूको नाममा हाल कायम रहेका कित्ताहरू ५७९ ,५८९, ५८१ र १५२ बाट तहतह कित्ताकाट हुँदै निजहरूको नाममा कायम भएको हालको जग्गाधनी दर्ता श्रेष्ताबाट देखिँदा उक्त सरकारी जग्गाहरू भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४७ समेतको कानुनी प्रावधान बमोजिम नेपाल सरकारको नाममा जग्गा फिर्ता ल्याउने प्रयोजनका लागि मात्र प्रतिवादी बनाइ मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७