लाहुरे : लडाकू कि बुद्धिजीवी ?

इटालीका विश्वप्रसिद्ध कम्युनिस्ट चिन्तक एन्टोनियो ग्राम्सी भन्छन् कि ‘सबै मान्छे बुद्धिजीवी हो तर सबै मान्छेले समाजमा बुद्धिजीवीको काम गर्दैनन् ।’ फरक यति हो । खेतीपातीको बारेमा किसानजतिको बुद्धिजीवी अरु को हुन सक्छ ? कारखानामा सामान उत्पादन गर्नेबारेमा मजदुरजतिको बुद्धिजीवी अरु को हुन सक्छ ? उनीहरु आआफ्नो क्षेत्रका बुद्धिजीवी नै हुन् तर उनीहरुको मुख्य काम समाजको बुद्धि निर्माण गर्नु होइन उत्पादनको काम गर्नु भएकाले हामी उनीहरुलाई बुद्धिजीवीको कोटीमा राख्दैनौं । बुद्धिजीवी हुनका लागि बुद्धिजीवीकै काम गर्नुपर्छ, ज्ञान मात्र भएर हुँदैन । त्यसो हो भने गोरखा भर्तीमा जाने लाहुरेहरु के हुन् ? लडाकू कि बुद्धिजीवी ? मेरो विचारमा उनीहरु दुवै हुन्– युद्धमा लडाकू, समाजमा बुद्धिजीवी ।

बुद्धिजीवी भन्नासाथ विश्वविद्यालयको डिग्रीधारीलाई बुझ्ने परम्पराबाट हामी ग्रसित छौं तर नेपाली समाजमा पण्डित्याइँ गर्ने ब्राह्मण पनि बुद्धिजीवी नै हो र जनजातीय समाजको नछुङ (धामी) पनि बुद्धिजीवी नै हो ।

गोरखा भर्ती खासमा बेलायतको सामरिक स्वार्थकै उपज हो । यसमा दुईमत हुन सक्दैन । तर, यो नेपाली शासकहरुको पनि बाध्यता थियो किनभने विश्वव्यापी रुपमा लोकतन्त्र र कम्युनिस्ट क्रान्तिको प्रभाव जसरी विस्तार भइरहेको थियो, जनतामा जसरी आक्रोश बढ्दै गइरहेको थियो त्यसबाट आफ्नो निरंकुश सत्तालाई जोगाउन नेपाली शासकहरुले युवा शक्तिहरुलाई ठेगान लगाउनैपथ्र्यो । त्यसमा पनि हिन्दूवादी राणा शासकहरुलाई पहिलो खतरा गैरहिन्दू समुदायबाटै थियो । त्यसैकारणले गर्दा उनीहरुले जनजातीय समुदायका युवाहरुलाई बेलायती लाहुरेका रुपमा भर्ती गर्न उर्दी नै जारी गरेका थिए । आफैंले कत्लेआम गरेर दोषको भारी बोक्नुभन्दा युद्धमा होमिदिनू उनीहरुका लागि सुरक्षित उपाय थियो ।

भोगीराज चाम्लिङ

यो पृथ्वीनारायण शाहको ‘शत्रुलाई सिधै नमार्नू युद्धमा होमिदिनू’ भन्ने नीतिकै अनुकरण थियो । यसबाट उनीहरुले दुइटा होइन तीनवटा शिकार गरे । पहिलो, आफ्नो शासन टिकाइदिने बेलायती मालिकहरुलाई खुसी पारे । दोस्रो, आफूविरुद्ध उठ्न सक्ने विद्रोहलाई केही पर सार्न सफल भए । र तेस्रो कुरा, गोरखा भर्तीलाई राणा शासकहरुले आफूअनुकूलको बुद्धिजीवी उत्पादन गर्ने सांस्कृतिक कारखानाका रुपमा पनि उपयोग गरे । राणाशासक र बेलायती शासकहरुको सुलहमा प्रत्येक गोरखा पल्टनमा एकजना हिन्दू ब्राह्मण पण्डित राख्ने व्यवस्था गरिएको थियो (जुन अहिले पनि कायमै छ) ।

पृथ्वीनारायण शाहको ‘शत्रुलाई सिधै नमार्नू युद्धमा होमिदिनू’ भन्ने नीतिकै अनुकरण थियो । यसबाट उनीहरुले दुइटा होइन तीनवटा शिकार गरे ।

झट्ट हेर्दा सिङ्गो पल्टनमा एकजना पण्डित न हो भनेजस्तो देखिए पनि यो सामान्य कुरा थिएन । यो बहुल नेपाली समाजलाई हिन्दू अधिराज्य बनाउने पृथ्वीनारायण शाहको अधिनायकवादी नीतिको राणाहरुद्वारा गरिएको विस्तार थियो अर्थात् यसलाई लाहुरेहरुमार्फत् नेपाली समाजलाई हिन्दूकरण गर्ने षड्यन्त्र पनि भन्न सकिन्छ । र, यो गैरहिन्दू लाहुरेहरुलाई हिन्दू बुद्धिजीवी बनाउने तालिम पनि थियो ।बुद्धिजीवी भन्नासाथ विश्वविद्यालयको डिग्रीधारीलाई बुझ्ने परम्पराबाट हामी ग्रसित छौं तर नेपाली समाजमा पण्डित्याइँ गर्ने ब्राह्मण पनि बुद्धिजीवी नै हो र जनजातीय समाजको नछुङ (धामी) पनि बुद्धिजीवी नै हो ।

उनीहरु नेपाली समाजले पैदा गरेका सबैभन्दा पुराना बुद्धिजीवीहरु हुन् । तर यी पुराना बुद्धिजीवीहरुको भरमा मात्र समाजको बौद्धिक सत्ता निर्माण असम्भव भएपछि नयाँनयाँ बुद्धिजीवीहरु नयाँनयाँ तरिकाले पैदा हुँदै आएका छन् । राज्यले त आफूअनुकूलका त्यस्ता बुद्धिजीवीहरुको जत्था योजनाबद्ध रुपमै तयार गर्ने गर्छ, गर्दै आएको छ । भला ती कतिपय बुद्धिजीवीहरु अस्थायी पनि हुन सक्छन् । जस्तो कि ब्रिटिस गोरखाली लाहुरेहरु । (गोरखा भर्ती अनन्तसम्म चल्ने संस्था नभएकाले यसबाट उत्पादन हुने बद्धिजीवीहरु खास अवधिसम्मका लागि मात्र हुन् ।)

पल्टनमा ब्राह्मण पण्डितहरुले दिने गरेको हिन्दूधार्मिक बौद्धिक प्रशिक्षणकै कारण लाहुरे समाज बढी हिन्दूकृत हुन पुगेको हो । अध्ययनकर्ताहरु के भन्छन् भने गैरहिन्दू जनजातीय समाजमा अनेकथरि हिन्दू मठमन्दिर निर्माण गर्नेहरु मूलतः लाहुरेहरु हुन् । दोस्रो विश्वयुद्धताका त युद्धमैदानमा समेत लाहुरेहरु हिन्दू मन्दिर आकारका किल्लाहरु बनाएर लड्थे रे ! पल्टनमा लाहुरेहरुलाई मनोवैज्ञानिक रुपमा कति गहिरोसँग हिन्दूकृत गरिएको हुँदो रहेछ भन्ने जीवन्त साक्ष्य हो यो ।

पल्टनमा ब्राह्मण पण्डितहरुले दिने गरेको हिन्दूधार्मिक बौद्धिक प्रशिक्षणकै कारण लाहुरे समाज बढी हिन्दूकृत हुन पुगेको हो । अध्ययनकर्ताहरु के भन्छन् भने गैरहिन्दू जनजातीय समाजमा अनेकथरि हिन्दू मठमन्दिर निर्माण गर्नेहरु मूलतः लाहुरेहरु हुन् ।

यतिले नपुगेर छुट्टी वा अवकाशमा घर फर्कंदासमेत लाहुरेहरुले पतियाको पापद्वार पार गर्नुपथ्र्यो । स्वयम् राणा शासकहरुको उर्दीमा नेपाल छिर्नुभन्दा पहिले लाहुरेहरुलाई ब्राह्मण पण्डितको निगरानीमा सात दिनसम्म गाईको गहुँत खुवाउनु र एकछाक मात्र खाना खान दिएर पतिया गरिन्थ्यो । यो अरु नभएर गैरहिन्दू लाहुरेहरुलाई हिन्दूधार्मिक सत्तासँग आत्मसमर्पण गराइएको थियो । यसरी लाहुरे हुनुभन्दा पहिलेको गैरहिन्दू किसानको छोरो पक्का हिन्दू भएर घर आइपुग्थ्यो । र, पुण्य कमाउन भनेर मठमन्दिरहरु बनाउँथ्यो; रुद्री, चण्डी आदि पढाउँथ्यो । यसले लाहुरेहरु हिन्दूवादी शासकहरुको सत्ता टिकाउन नजानिँदो गरी धार्मिक दूत अर्थात् बुद्धिजीवी बन्न पुग्थे । मुख्य बुद्धिजीवी हिन्दू पण्डितहरु हुने भए, लाहुरेहरु चाहिँ पूरक बुद्धिजीवी ।

यसमा स्मरणीय कुरा के हो भने शासकहरुको पहिलो काम मान्छेको दिमाग ‘फ्रेमिङ’ गरिदिनु हो । त्यो भनेको घोडालाई लगाम लगाइदिएजस्तै हो । जसरी लगाम समातेपछि घोडा यताउता गर्न स्वतन्त्र हुँदैन त्यसैगरी शासकहरुले पनि मान्छेको दिमाग फ्रेमिङ गरिदिन्छ र यताउता गर्न दिँदैन, आफ्नो नियन्त्रणमा चलाउँछ । शासकहरुले गर्ने सबैभन्दा खतरनाक काम सायद यही हो । आजसम्म सृष्टिकै चिन्तनशील प्राणी मान्छेलाई स्वतन्त्र रुपमा सोच्नै नसक्ने गरी दिमागी पक्षघात गरिदिनु के सानो अपराध हो ? जसरी बेलायती साम्राज्यले गोरखाली लाहुरेहरुलाई ग¥यो ।

बेलायती शासकहरुले लाहुरेहरुको दिमाग दुई तरिकाले फ्रेमिङ गरिदिएको छ । पहिलो त उनीहरुलाई हिन्दू बुद्धिजीवी बनाउनु नै भइहाल्यो । दोस्रो, उसले लाहुरेहरुलाई आफ्नो अनन्य पैरवीकर्ता बनाएर नेपाल पठाउने गरेको छ । यसको एउटा ज्यादै रोचक उदाहरण छ । पञ्चायती व्यवस्था छँदाकै कुरा हो पारिजात, रामेश, रायन, मञ्जुललगायतका लेखक, संगीतकार, गायकहरुले राल्फा समूह बनाएका थिए । त्यसमध्येका रामेश र मञ्जुलले खोटाङ, भोजपुरलगायतका गाउँगाउँमा सांगीतिक यात्रा गरेका थिए । त्यसक्रममा उनीहरुले खोटाङको बुइपामा छुट्टीमा आएका एकजना लाहुरेको आकस्मिक खुकुरी आक्रमणको सामना गर्नुपरेको थियो ।

पञ्चायती व्यवस्था छँदाकै कुरा हो पारिजात, रामेश, रायन, मञ्जुललगायतका लेखक, संगीतकार, गायकहरुले राल्फा समूह बनाएका थिए । त्यसमध्येका रामेश र मञ्जुलले खोटाङ, भोजपुरलगायतका गाउँगाउँमा सांगीतिक यात्रा गरेका थिए । त्यसक्रममा उनीहरुले खोटाङको बुइपामा छुट्टीमा आएका एकजना लाहुरेको आकस्मिक खुकुरी आक्रमणको सामना गर्नुपरेको थियो ।

लाहुरेहरु भएको गाउँ भएकाले त्यसबारे गाउँलेहरुलाई सचेत गराउन उनीहरुले लाहुरेसम्बन्धी गीतहरु गाइरहेका थिए– ‘गाई त म¥यो बनको बाघलाई÷भाइ त मर्‍यो विदेशी साइँलौ राजालाई’ आदि । एउटा घरमा पुगेपछि मञ्जुलले गोरखा भर्तीका नाममा गोराहरुले हामीलाई कसरी बलीको बोका बनाउँछन् आदि भन्दै लाहुरेसम्बन्धी गीत गाउन भूमिका बाँधिरहेका थिए, देउसी खेल्नेहरुको बीचबाट एक्कासी एकजना लाहुरे हातमा नांगो खुकुरी उज्याउँदै उनीहरुतिर सोझिए, ‘हामीलाई निमेक पानी दिने, हाम्रो जहान छोराछोरीको रच्छे गर्ने गोरा साप्हरुलाई त्यसो भन्न पाउन्नस् । हामीले गरिखाएको रिस गर्ने साला ड्याम् । काट्छु, काटेर हिँड्छु मलाया, जे हुन्छ हुन्छ… ब्लेडी ।’ बेलायत सम्पूर्ण हिसाबले सही, रामेश–मञ्जुलहरुले भन्ने कुरा सम्पूर्ण हिसाबले गलत भनेजसरी जुन बुझाइ लाहुरेहरुको दिमागमा पारिएको छ, त्यही हो दिमागको फ्रेमिङ ।

लाहुरेहरु यो चेतनाबाट विस्तारै माथि उठ्दै गरेको देखिँदै छ । अहिले उनीहरुले आफूलाई फगत लडाकू होइन आफ्नो हितमा सोच्न सक्ने अगुवा बुद्धिजीवीका रुपमा विकास गर्दै छन् । वास्तवमा भूतपूर्व ब्रिटिस गोरखा सैनिकहरुको आन्दोलन लाहुरेहरुको बौद्धिक अगुवाइ पनि हो ।

यसकारण त लाहुरे लडाकू निर्माण गर्ने भर्तीकेन्द्र मात्र होइन सांस्कृतिक कारखाना पनि हो । लाहुरेलाई कस्तो मान्छे बनाउने ? कारखानाका मालिकहरुको हातमा छ । तर अब अवस्था यति पछौटे रहेन । लाहुरेहरु यो चेतनाबाट विस्तारै माथि उठ्दै गरेको देखिँदै छ । अहिले उनीहरुले आफूलाई फगत लडाकू होइन आफ्नो हितमा सोच्न सक्ने अगुवा बुद्धिजीवीका रुपमा विकास गर्दै छन् । वास्तवमा भूतपूर्व ब्रिटिस गोरखा सैनिकहरुको आन्दोलन लाहुरेहरुको बौद्धिक अगुवाइ पनि हो । किनभने, कुनै पनि आन्दोलन आफैंमा बौद्धिक दावी हो । त्यसबाहेक अहिले स्वयम् लाहुरेहरुले गोरखा भर्तीमाथि विमर्श गरिरहेका छन् । ‘डायस्पोरा लेखन’को उभार यसैको साक्ष्य हो । अहिले उनीहरुले आफूलाई भूपी शेरचनको चर्चित ‘हामी’ कविताको ‘बुद्धु लाहुरे’बाट ‘बौद्धिक शक्ति’का रुपमा स्थापित गरिरहेका छन् । यसले नेपाली समाजको अग्रगामी यात्राका लागि मदत नै गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्