डा. भट्टराई ! भगवान होइन, असल मान्छे बन्नुहोस्

  • सुदर्शन खतिवडा
आदरणीय नेता डा. भट्टराई,
१३ वर्षमा राजनीतिक बन्दी बनेर राजनीति सुरु गरेको । २१ वर्ष लामो राजनीतिक जीवनको आधारमा तपाईंलाई केही अनुभूति बाँड्न मन लाग्यो । हृदय दर्फर्‍याइरहेका केही असन्तुष्टिहरु थुनेरै राखेको थिएँ । तपाईंको स्टाटस पढेपछि बाँध फुट्यो । रोक्न सकिनँ । तपाईंले जुन त्याग नेपाली समाजको रुपान्तरणको लागि गर्नुभएको छ, त्यो उल्लेखनीय र उदाहरणीय छ । जनयुद्धको नेतृत्वसँगै त्यसको सुरक्षित अवतरण अनि शान्ति र समृद्धिको तपाईंले तय गर्नुभएकै बाटोमा देश हिंडिरहेको छ । एकजना दूरदृष्टि भएको नेताको रुपमा मैले सबैभन्दा बढी सम्मान गर्ने नेता आजको दिनसम्म तपाईं नै हो । पछिल्लो समय पनि म तपाईंले नेतृत्व गर्नुभएको राजनीतिक अभियानमै छु ।
तपाईंले नेतृत्व गर्नुभएको पार्टीभित्र निर्णय प्रक्रियामा मलाई चित्त बुझेन । कार्यकर्तालाई आदेशपालकभन्दा बढी हैसियत नदिने अभ्यास थियो त्यो । ‘प्यालेस पोलिटिक्स’को यस्तो अभ्यास जहाँ वंशज र भाइभारदारलाई राजनीतिको महत्वपूर्ण जिम्मेवारी दिन भगिरथ प्रयत्न गरिएको हुन्छ । बैठक अँध्यारो कोठामा गरिएका निर्णयहरु पास गराउने सरकारी सार्वजनिक सुनुवाईको हैसियतमा फेरिएपछि असन्तुष्टि बढ्ने नै भयो ।
म स्पष्ट छु, यहाँ नीतिगत रुपमा आलोचना गर्दा कोहीकसैको अधिकार उल्लंघन भएमा हजारपटक माफी माग्छु । मैले नीतिग कुनै कुरा उठाउँदा प्रिय र आदरणीयहरु सन्दर्भवश जोडिनुभयो भने म पुनः माफी माग्छु । वहाँहरु मेरा लागि सधैं सम्मानित हुनु होला र मेरा आत्मीय साथीहरु पनि हुनुहोला । कुनै शक्तिशाली व्यक्तिको आसपास भएपछि पाउने फाइदा र बेफाइदा व्यहोर्न हामी सबै तयार रहनुपर्ने रहेछ । हामीले भनेको उन्नत लोकतन्त्रको वकालत गर्दै नयाँ राजनीतिक संस्कार निर्माण गर्ने ध्येयमा गम्भीर कुठाराघात भइरहेको बेला मौन बस्नु हुँदैन ।
मलाई थाहा छ, बाहिर निस्किएर सबै कानेखुसी गर्ने तर भित्र कोही नबोल्ने संस्कार हामीभित्र छ । लामो समय राज्यसत्ता र पार्टी सत्ताको अभ्यासबाट पैदा हुने अदृश्य प्राधिकारले कतिसम्म डर र त्रास पैदा गर्ने रहेछ, मलाई अचम्म लाग्यो । क-कसलाई कसरी प्रस्ताव गरियो र कसरी नेता बनाइयो ? यी प्राविधिक कुराहरु म यहाँ उल्लेख गर्न चाहन्नँ । आत्मस्वाभिमान र सम्मानको लागि राजनीतिक अभियानमा होमिएर जीवनको ऊर्जाशील समय बिताएकाहरुले मष्तिष्कको प्रयोग गर्नैपर्छ र सहनुहुन्न जस्तो लाग्यो र मैले मैले सामाजिक सञ्जालमा समयान्तरमा तीन स्टाटस लेखेँ । ती हुन्-
‘अंकल बुद्ध बन्ने भन्नुहुन्छ तर, यशोधरा र पारिवारिक/सांसारिक मोहलाई मलजल गरेर । क्रोनी नेपोटिज्मको काँध चढेर क्रोनी क्यापिटलिज्मविरूद्ध कसरी लड्नु !’
‘ज्ञानेन्द्र शाहले पारसलाई युवराज घोषणा गर्न यस्तै वैकल्पिक तरिका अपनाएका थिए । प्रजाबाट के सिक्नु, राजाबाटै सिकेछन् !’
‘स्वार्थ जोडिएको चाकरीमा भन्दा सद्भाव जोडिएको आलोचनामा औषधिय गुण हुन्छ । मान्छे स्वभावैले प्रशंसाको भोको हुन्छ । तिमी औसत मान्छेभन्दा माथि उठ्न चाहेका हौं भने आलोचनालाई पनि अंगालो मार । आगे तिम्रै मर्जी प्रिय !’

अंकलले त इन्डोनेशिया पुगेर ‘बदनियतपूर्ण’ ढंगले परिवारवादको आरोप लगाएको भन्दै ‘स्वर्ग’को डिलमा बसेका बुद्धको हाँसो नरोकिनेगरी सतही स्पष्टीकरण दिनुभएछ ।

डा. भट्टराईको स्टाटस

राजनीतिलाई पेशा होइन भनेर भाष्य निर्माण गर्ने तर, जन्मिएका जति सबै पेशेवर राजनीति गर्ने । खर्चको स्रोत के हो ? महान सम्भावना बोकेका एकजना नेतालाई अरुले त्याग गरेर सघाउने कि नेता बन्ने लिगलिगे दौडमा तिघ्रामा घिऊ दलेर मैदानमा आउने ? हामीले गर्ने भनेको वैकल्पिक राजनीतिले पारिवारिक राजनीतिलाई बढावा दिन्छ कि दिँदैन ? मैले तपाईंको सचिवालयबाट सुझाव पठाएको थिएँ, सबै होइन, सम्भावना बोकेको पात्रलाई राजनीतिमा अगाडि बढाउँदा राम्रो हुन्छ । नसुनेरै सुनुवाई गर्न पाउनु भएन कि सुनेरै पनि सुनुवाई गर्नुभएन, त्यो मेरो जानकारीमा रहने कुरा भएन ।
तपाईंका पछिल्ला स्टाटसहरुले विचार संश्लेषणमा तपाईंले केही योगदान गर्न सक्नुहुन्छ कि भन्ने आशा पलाएको छ । तर, तपाईं अझै पनि साइनबोर्ड, ब्यानर र विज्ञप्तिका ह्रस्वदीर्घ हेर्ने र यस्तै पारिवारिक र अन्य राजनीतिक सुक्ष्म व्यवस्थापनमा लागिरहँदा चित्त नबुझेकै हो र लेखेकै हो । मेरो शुभेच्छा, तपाईको यो अभियानलाई पारिवारिक र आसेपासेको घेराबन्दीले क्षतविक्षत नबनाओस् भन्ने हो । हामीले कल्पना गरेको सुन्दर पार्टीको पोस्टरमा कालो नपोतियोस् भन्ने मात्र हो । कुनै पार्टीको उच्च नेताले ‘देश खारेज गर’ भनेर नारा लगायो भने के हुन्छ ?’
हामी सबैलाई थाहा छ, नर्क जाने बाटो कसैले पनि नियतले खन्दैन । असल नियतले मात्र राजनीति हुँदैन । मेरो पवित्र चाहना हो- पार्टीलाई विधिबाट चलाउनुपर्छ । कुनै एक व्यक्ति वा परिवारको विशिष्ट क्षमता र हिरोइज्मबाट वैकल्पिक राजनीति र नयाँ र उन्नत राजनीतिक संस्कारको जग बसाउन सकिँदैन । मेरो बुझाई गलत छ भने बुझाईदिनुहोला । सहर्ष स्वीकार्नेछु । राजनीतिक हैसियत नेपालजस्तो समाजमा ‘लाभको पद’ होइन, ‘सेवा गर्ने ठाउँ हो’ भन्ने आंशिक सत्यलाई पूर्ण सत्य बनाउने मुढे तर्क मलाईं चाहिँ चित्त बुझेन । हिजो सत्तामै भएको बेला पनि तपाईंले आफन्तलाई लाभको पदमा मन खोलेर पुर्‍याउनु भएको कि भएन, मेरो ताजा स्मरणमा रहेन ! यसको अर्थ, कुनै नेताको छोराछोरी, ज्वाईंचेला, बुहारी वा जेठी सासु हुँदैमा राजनीतिमा लाभको पदमा पुग्नु हुँदैन भन्ने होइन । हाम्रो समाजमा नेताका नातेदारसँग छुट्टै प्रिभिलेज हुन्छजस्तो मलाई लाग्छ । तपाईंको महान आदर्श पछ्याउन त किन पद चाहिएला र ? कुरो अप्ठेरोमा पार्टी जोगाउने र सेवा गर्ने गर्नु भएको होइन र ? यहाँ, ‘छोपेको … छर्लङ्गै देखेको’ भन्ने दुनियाँलाई लागिरहेको बेला दुनियाँले आशा गरेको मानिसबाट बोक्रे तर्क सार्वजनिक गर्नु मनाशिव हुँदैन कि ?
तपाईलाई लाग्ला, यस्ता छुच्चा कुराहरु किन गर्छस् ? मैले त केवल बिरालोको घाँटीमा घन्टी बाँधेको मात्रै हो । पार्टी पंक्ति र सर्वसाधारणले सार्वजनिक स्थलमा नै यस्तै कुरा गरिरहेका सुनेको छु । तपाईंको कूभलो सोच्नेलाई छाडिदिनुहोस्, तपाईलाई माया गर्नेहरुले नै धेरै यस्तै कुरा गरिरहेका छन् । संसार बिगार्ने अभियानको नेतृत्व जहिले पनि नजान्नेहरुले होइन, जान्ने र अगुवाहरुबाटै भईरहेको छ । अगुवाहरुकै आसेपासेहरु छोटे राजा भइरहेका छन् । हामी सर्वसाधारण निम्छराको निम्छरा नै रहिरहेका छौं । उनीहरुको कालो छाँयामा हाम्रो भविष्य सुषुप्त बनिरहेको छ ।
लोकतन्त्रकै अगुवाले बाटो बिगारेर पद्धतिको जग बसाउन चुकेकाले राजनीति मैलिएको हो । आशा छ, यो गल्ती तपाईंबाटै नदोहोरियोस् किनकी तपाईंबाट समयले नै महत्वपूर्ण योगदान खोजिरहेको छ । मेरो यो दुस्साहस, लोकतन्त्र वंशतन्त्र र भाइभारदारतन्त्रमा परिणत नहोस् भन्नको लागि हो र युवा पुस्ताको गम्भीर हस्तक्षेपले मात्र यस्ता गलत प्रवृत्ति बढार्न सक्छ भन्ने विश्वासका कारण मात्र हो ।
तपाईंको स्टाटस पढेपछि म केही नोस्टाल्जिक भएछु । विगत बिर्सन सकिनँ । तपाईंजस्तै म पनि अस्कल प्रोडक्ट हुँ । विद्यालय जीवनमा म पनि द्वितीय भइनँ । तर, तपाईंले नै सुरु गरेको जनयुद्धको कारण पढाई बिथोलियो । मैले त्यसलाई समयको मागकै रुपमा लिएको छु । मेरो उमेरमा तपाईंले अस्कलमा प्रविणता प्रमाणपत्र सकेर विदेश पढ्न दूतावासतिर निवेदन दिइरहनु भएको बेला म भने अस्कल छाडेर तपाईंहरुले नेतृत्व गर्नुभएको जनयुद्धमा सहभागी हुन जंगल पसेको थिएँ ।
मलाई अहिले पनि याद छ- पर्वतको शालिजा भिडन्तमा भाँचिएको हात र जुकाले टोकेर बनेका शरीरका घाउहरुको पीडा भोगिरहँदा मैले आइएस्सी उत्तीर्ण भएको नतिजा थाहा पाएको थिएँ । शान्ति प्रक्रिया लागेपछि माओवादीकै साथीहरुले ‘दुश्मनको एजेन्ट’ भनेर दुवै हात बाँधेर जनमुक्ति सेनाको घेराभित्र यातना दिइराख्दा पनि तपाईबाटै प्रेरणा लिएर पढ्नुपर्छ, बाँचियो भने काम लाग्छ भन्दै गेसपेपर पढ्दै परीक्षा दिएँ । यो प्रसंग किन निकालेको भने तपाईंले केही अंग्रेजी पुस्तकको हवाला दिनुभएको रहेछ । त्यो पढ्ने र बुझ्ने क्षमता रहेन । तर मैले रामायण र महाभारत भने पढेको छु । केही घटनाहरु स्मरण गराउन चाहन्छु-
  • भारतवर्षको अयोध्याका राजा दशरथले रानी कैकेयीको मोहमा पर्नुको मूल कारणबाटै राम–रावणबीचको युद्ध हुन पुगेको थियो ।
  • महाभारतीय युगका राजा धृतराष्ट्रले आफ्नो पुत्र दुर्योधनप्रति मोह छोड्न नसक्दा तत्कालीन युगको महाविनाशकारी युद्ध भएको थियो ।
  • सिद्धार्थ गौतम वैशालु पत्नी यशोधरा र नाबालक सन्तान राहुलको मायामा बाँधिएका भए बुद्धत्व प्राप्त गर्न सक्दैन थिए कि ?
प्रिय र आदरणीय नेता,
नयाँ विचार संश्लेषण गर्नुपर्छ । मेहनत गर्नुहोस् । हामी साथ छौं । तर, पर्खाल बाहिर हेर्नुहोस्, संसार फराकिलो छ । हजारौं मष्तिष्कहरुलाई नेतृत्व र परिचालन गर्ने हिम्मत राख्नुहोस् । कार्यकर्ताको मायालु आलोचनालाई ऐनामा प्रकाश परेजस्तो प्रतिक्रियात्मक परावर्तन नगर्नुहोस् ।
कर्कलाको पानीजस्तो धेरै चञ्चल हुनु पनि हुँदैन । रोकिएको बसभित्रै दौडिरहेर पनि हुँदैन । जयजयकार गर्नेहरुको ठूलो भिडभन्दा आलोचकहरुको सानै किन नहोस्, त्यस्तो जमातमा रमाउनुहोस् । किनकी जयजयकार गर्नेहरुले तपाईंलाई भगवान बनाइदिन्छन्, आलोचकहरुले नेता । न तपाईं भगवान हो न दानव । तपाईं गुण र दोषसहितको मान्छे हो । राग र विरागको दुवै अतिमा फस्नुहोस् भन्ने मेरो सुझाव होइन । वितरागी नबनीकन तपाईंको सपना पूरा हुँदैन । मेरो सुझाव यति मात्र हो ।
अन्तिममा भन्नैपर्छ, यो समयलाई मन्दिर र मूर्तिहरुको भीडमा अर्को एउटा भगवान चाहिएको छैन, मुलुकको गोलचक्करलाई समृद्धिमा फेरिदिन सक्ने नेता चाहिएको छ । त्यही बन्न सक्नुहोस्, शुभकामना । अथाह शुभेच्छासहित !
प्रतिक्रिया दिनुहोस्