गृहमन्त्रीले निर्देशन दिएकाे पहिलो दिनै ५१ सवारी साधन समातिए


४ चैत्र २०७४, आईतवार
Ram bahadur thapa badal gurkhas son

काठमाडौं, ४ चैत । ट्राफिक प्रहरीले शनिबार काठमाडौंका विभिन्न सडकबाट ५१ वटा सरकारी सवारीसाधन नियन्त्रणमा लिएको छ । सार्वजनिक बिदाका दिन पनि दुरुपयोग गरी चलाइएका सरकारी सवारीसाधन नियन्त्रणमा लिइएको हो ।

Ram bahadur thapa badal gurkhas son
गृहमन्त्री रामबहादुर थापाले सरकारी सवारीसाधन दुरुपयोग गरेको भेटिए ठाउँको ठाउँ कब्जामा लिन शुक्रबार ट्राफिक प्रहरीलाई निर्देशन दिएपछि शनिबारबाटै कारबाही अघि बढेको हो । अाजकाे नयाँ पत्रिकामा दैनिकमा खबर छ ।

शनिबार २० चारपांग्रे गाडी र ३१ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दियो ।

बिदाका दिन पनि सरकारी सवारीसाधन निजी प्रयोजनमा प्रयोग हुने गरेको सूचना प्राप्त भएपछि गृहमन्त्री थापाले शुक्रबार साँझ महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनाललाई त्यस्ता सवारीसाधन नियन्त्रणमा लिन निर्देशन दिएका थिए ।

शनिबार नियन्त्रणमा लिइएका सवारीसाधन स्वास्थ्य, सूचना तथा सञ्चार, कृषि विकास र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका छन् । यसबाहेक नगरपालिकाका गाडी तथा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

महाशाखाका सहप्रवक्ता डिएसपी मुकुन्द मरासिनीले सरकारी बिदामा दुरुपयोग गरिएका गाडी शनिबारबाट नियन्त्रणमा लिन सुरु गरिएको बताए । उनले भने, ‘सरकारी सवारीसाधन बिदाका दिन पनि चलाइएको सूचना आयो ।

यो अख्तियारको दुरुपयोग हो । यसलाई नियन्त्रण गरिनु आवश्यक देखियो । यस सम्बन्धमा छलफल भयो र नियन्त्रण अभियान सुरु गरियो ।’

ट्राफिक प्रहरीले पास लिएर चलाइएका सरकारी गाडी तथा मोटरसाइकललाई भने जाँचबुझपछि छाडिदिएको छ ।

सार्वजनिक बिदाका दिन मन्त्रालयको गाडी तथा मोटरसाइकल चलाउन सम्बन्धित मन्त्रालयका सचिवको अनुमति चाहिन्छ ।

सरकारमातहतका संस्था, निगम, प्राधिकरण, प्रतिष्ठान, आयोगका गाडी तथा मोटरसाइकल चलाउन सम्बन्धित संस्था प्रमुखको अनुमति आवश्यक पर्छ ।

त्यस्तै, सरकारका विभाग, महाशाखा, शाखा, जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समितिलगायत सरकारी कार्यालयको गाडी तथा मोटरसाइकल चलाउन पनि प्रमुख वा प्रमुखले अख्तियारी दिएको अधिकारीको अनुमति चाहिन्छ । त्यसबाहेक कसैले गाडी तथा मोटरसाइकल चलाए अख्तियारको दुरुपयोग ठहरिन्छ ।

महाशाखाका डिएसपी मरासिनीले भने, ‘बिदाका दिन अनुमति लिएर सवारीसाधन चलाउन पाइन्छ । अनुमति नलिई कसैले चलायो भने अख्तियारको दुरुपयोग हो ।

शनिबार पनि अनुमति लिएर चलाइएका सावरीसाधन छाडिएका छन् । जसले विनाअनुमति चलाएको छ । त्यसलाई समातिएको छ ।’

महाशाखाका अनुसार बिदाका दिन चलाइने सरकारी सवारीसाधनलाई नियन्त्रण गर्ने अभियान निरन्तर चल्नेछ । नियन्त्रणमा लिइएका सवारीसाधनका चालकलाई नियमअनुसार कारबाही तथा आवश्यक जरिवाना गरिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७