अब तीनपुस्ते खुलाएर मात्र मदिरा पिउन पाइने, १८ वर्षमुनिकालाई पूरै निषेध


२७ बैशाख २०७५, बिहीबार
wine

काठमाडौं, २७ बैसाख । के तपाई पनि मदिरा पिउनु हुन्छ ? यदि तपाई पनि मदिरा पिउनु हुन्छ भने यी कुरा तत्काल जानकारी लिनु पर्नेछ ।

wine
तस्विर : गुगल

अब विगतमा जस्तो सहज रुपमा मदिरा पिउन नपाइने । सरकारले मदिरा कारोबारलाई कडाइ गर्ने भएको छ । अब तपाईले मदिरा पिउनुअघि आफ्नो तीनपुस्ते जानकारी उल्लेख गर्नुपर्ने छ । यातायात सिण्डिकेट अन्त्यपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को निर्देशनमा गृह मन्त्रालयले मदिरा नियन्त्रण कार्ययोजना र लागूऔषध पूर्णरुपमा नियन्त्रण गर्ने प्रस्ताव तयार गरिरहेको छ ।

यसका लागि ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिइसकिएको छ । मदिरा र लागूऔषधका कारण समाज विखण्डनदेखि अपराध बढेको निष्कर्ष निकाल्दै गृहमन्त्री थापाले पूराना ऐन–कानुनको प्रभावकारी कार्यान्वयन र नयाँ योजना तयार पार्न गृह अधिकारीलाई निर्देशन दिएको उनका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिएका छन् ।
अब जहाँ पायो त्यहि पाइँदैन मदिरा

गृह मन्त्रालयले मदिरा नियन्त्रणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे उद्योग र अर्थ मन्त्रालयसँग पनि समन्वय गरिरहेको प्रवक्ता रामकृष्ण सुवेदीले बताएका छन् । गृह मन्त्रालयका प्रवक्ता सुवेदीका अनुसार यो अभियानमा जनताको साथ र समर्थन आवश्यक देखिन्छ । उनले भने, ‘लागूऔषध र मदिराका कारण समाजमा कलहदेखि अपराध बढेका छन् । अझ लागूऔषधले त घर–समाज नै सखाफ भएको छ ।’ उनले यसका लागि सबै क्षेत्रका व्यक्तिहरुसँग छलफल भइरहेको समेत बताए ।

गृहकै एक अधिकारीका अनुसार मदिरा कहाँ–कहाँ र कुन–कुन स्थानमा बेच्ने भनेर निश्चित स्थान तोक्ने योजनासहितको तयारी मन्त्रालयले गरिरहेको छ । एक अधिकारी भन्छन्, ‘हाम्रो कार्ययोजना लागू भएपछि रक्सी पिउने छुट्टै होटल तोकिन्छ । ती होटलको बोर्डमै यहाँ रक्सी पिउन पाइन्छ भनेर पनि लेखिन्छ ।’ ‘मदिराजन्य पदार्थ पिउनुअघि आफ्नो परिचयपत्र देखाएर तीनपुस्ते (आफ्नो, बुबाको र बाजे) को नामसम्म उल्लेख गर्नुपर्ने नियम आउन सक्छ’, उनले । प्रत्येक वडामा एक स्थानमा मात्र मदिरा बिक्री र खाने स्थान तोकिन सक्ने ती अधिकारीको भनाई छ ।

होटल पनि वर्गीकरण

गृहको नयाँ प्रस्तावमा अब खाजा र रक्सी पिउने होटलको वर्गीकरणको प्रस्ताव पनि गरिएको छ । स्थानीय प्रशासनले नै कुन होटलमा रक्सी मात्रै बेच्न पाउने र कहाँ खाजा मात्रै हुने भन्ने अनुमति प्रदान गर्नेछ । यस्तो भएमा निश्चित स्थानमा मात्रै मदिराको बिक्री वितरण हुँदा सुरक्षा संयन्त्रलाई पनि अनुमगन गर्न सहज हुनेछ ।

विदेशी रक्सीमा बन्देज

विदेशबाट आउने मदिरा पनि नियन्त्रण गर्ने गृहको योजना छ । यद्यपी तारे होटललाई भने यो सुविधा प्रदान गरिने जनाइएको छ । तारे होटलमा प्रायः विदेशी पाहुना हुने भएकाले उनीहरुलाई यो छुट हुनेछ ।

प्रत्येक वडामा समिति

अभियान काठमाडौंबाटै शुरु गरिने जनाइएको छ । अभियान घोषणासभामा विद्यार्थी, युवा, महिला, राजनीतिक दलका नेता–कार्यकर्ता, नागरिक समाज, व्यवसायी सबैलाई उपस्थितिका लागि सार्वजनिक आह्वान गरिने छ ।

झण्डै एक लाख जनताका बीचबाट अभियानको घोषणा गर्ने तयारी गरिएको मन्त्रालयका एक अधिकारीले बताएका छन् । मदिरा नियन्त्रण र लागुऔषध निषेधका लागि देशभरका सबै वडाहरुमा स्थानीय जनप्रतिनिधि, सुरक्षा संयन्त्र, नागरिक समाज, महिला समूहलगायत सबैको सहभागितामा नियन्त्रण तथा अनुगमन समिति गठन हुनेछ । त्यही समितिले सबै कुराको अनुगमनसँगै गल्ती गर्नेलाई कारवाहीको सिफारिस पनि गर्नेछ ।

१८ वर्षमुनिकाले मदिरा बेच्न–पिउन दुबै नपाइने

मदिरा बिक्री वितरण नियमन निर्देशिका, २०६५ मा मदिरा बेच्ने समयलगायतका विषय उल्लेख गरिए पनि कार्यान्वयन हुन सकेका छन् । निर्देशिकामा डिपार्टमेन्टल स्टोर्सले मदिराजन्य पदार्थ बिक्री गर्न छुट्टै कक्षको व्यवस्था गर्नुपर्ने, बिहान १० बजेदेखि राति १० बजेसम्म मात्र बिक्री गर्न पाइने, १८ वर्ष उमेर नपुगेका व्यक्तिले सेवन र किनबेच समेत गर्न नपाउने उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७