चमत्कारी एमबाप्पेको मनकारी काम : विश्वकपको सबै कमाइ अपाङ्गता बालबलिकालाई
काठमाडौं, १ साउन । १९ वर्षको उमेरमै विश्व फुटवलमा चमत्कार देखाएका फ्रान्सेली स्टार एमबाप्पे फुटबलका ‘चमत्कारी’ मात्र छैनन् सामाजिक कामका लागि पनि उतिकै ‘मनकारी’ देखिएका छन् ।
फ्रान्सलाई रसियामा सम्पन्न विश्वकप २०१८ को उपाधि जिताउन युवा फरवार्ड केलियन एमबाप्पेको भूमिका उत्कृष्ट रह्यो । १९ वर्षीय स्टार एमबाप्पेले ७ खेलमा ४ गोल गर्दै फ्रान्सलाई विश्व विजेता बन्न मात्र सघाएनन्, व्यक्तिगत रुपमा उनी फुटबलका महान खेलाडी पेलेपछि विश्वकपमा गोल गर्ने दोस्रो युवा खेलाडी समेत बने ।
सन् २०१७ मा जर्मन क्लब पेरिस सेन्ट जर्मेनमा १६६ मिलियन पाउण्ड लोनमा आवद्ध भएका एमबाप्पेको खेलले पिएसजी समर्थकलाई पनि खुशी तुल्याएको छ । आगामी सिजनमा भने उनी पूर्णरुपमा क्लबसँग जोडिने छन् । विश्वकपको ट्रफीसहित स्वदेश फर्किदा फ्रान्सेली टोलीलाई भव्य स्वागत गरिएको थियो । सो लगत्तै उनले विश्वकपका दौरानमा आफूले कमाएको सबै रकम उपचाररत तथा अपाङ्गता भएका बालबालिकाहरुलाई सहयोग गर्ने घोषणा गरेका छन् । विश्वकपमा आफ्नो खेल कौशलका माध्यमबाट फुटबलप्रेमीको मन जितेका एमबाप्पेको यो घोषणापछि उनको थप चर्चा चुलिएको छ ।
उनले ‘प्रिमियर डे कोर्डे’ च्यारिटी संसस्थामार्फत करीब ३ लाख ८४ हजार पाउण्ड सहयोग गर्ने बताइएको छ । फ्रान्सेली पत्रिका ‘लिकुइप’ का अनुसार उक्त च्यारिटी संस्थाले शारिरीक रुपमा अशक्त बालबालिकाहरुका लागि निःशुल्क रुपमा खेलकुदसम्बन्धी तालिम दिने गर्दछ । ‘स्पोट्र्स इलुस्ट्रेटेड’ का अनुसार विश्वकपमा खेलिएका प्रत्येक खेलमा एमबाप्पेको तलब १७ हजार पाउण्ड तोकिएको थियो । यसका अलावा सबै खेलहरुमा उनले छुट्टै २ लाख ६५ हजार पाउण्ड बोनस प्राप्त गरेका थिए । एमबाप्पेले खेलेका ७ खेल तथा बोनससहितको हिसाब गर्दा उनले ३ लाख ८४ हजार पाउण्ड सहयोग गर्नेछन् ।
एमबाप्पेले सन् २०१७ देखि नै उक्त संस्थालाई सहयोग गर्दै आएका थिए । विश्वकप जितेपछि उनले गरेको यस घोषणाले मानवीय कारण अपाङ्गता भएकाहरुका लागि अझै राम्रोसँग सेवा दिन सकिने ‘प्रिमियर डे कोर्डे’ ले जनाएको छ । विश्वकपमा भएको आफ्नो पूरा कमाइ सहयोग गर्ने बताएका एमबाप्पेले बालबालिकाहरुसँगै फुटबल खेल्ने पनि च्यारिटीले जनाएको छ । एमबाप्पेको उक्त घोषणासँगै उक्त च्यारिटीका व्यवस्थापक सेविस्टियन रफिनले एमबाप्पे महान् व्यक्ति भएको बताएका छन् ।
फ्रान्सेली पत्रिका ‘लि पेरिसियन’ सँगको कुराकानीमा उनले भने, ‘एमबाप्पेको बालबालिकासँग निकै राम्रो सम्बन्ध छ । उनले बालबालिकाहरुमा सकारात्मक भावना प्रवाह गरिरहन्छन् । उनको समय तालिकामा केही फूर्सद मिल्ने बित्तिकै हामी एकसाथ खुशी मनाउने छौं ।’ एमबाप्पेको यस कार्यले फ्रान्सेली टोलीका अन्य सदस्यहरुलाई पनि प्रेरणा मिलेको बताइएको छ । फ्रान्सेली पत्रिका ‘लिकुइप’ का अनुसार केही खेलाडीहरुले आफ्नो कमाइको केही हिस्सा बोन्डीस्थित जेन रिनोइर कलेजका २५ विद्यार्थीको रसियामा शैक्षिक भ्रमणका लागि सहयोग गर्नेछन् । एजेन्सी