दिपेश र सेहजादलाई अन्नपूर्ण अन्तर्राष्ट्रिय ब्याडमिन्टनको उपाधि


१२ श्रावण २०७५, शनिबार
दिपेश र सेहजादलाई अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टनको उपाधि

काठमाडौं, साउन १२ गते । एपीएफ क्लबका दिपेश धामीले अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल तर्फको उपाधि जितेका छन् । महिला एकल तर्फको उपाधि भने पाकिस्तानकी सेहजाद माहुरले जितिन् ।दिपेश र सेहजादलाई अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टनको उपाधि

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा शनिबार भएको फाइनल खेलमा सिल्क ग्रुपका प्रिन्स दाहाललाई २१–११, २१–१० को सोझो सेटमा पराजित गर्दै दिपेशले उपाधि हात पारेका हुन् । नेपालको राष्ट्रिय टोलीबाट नियमित रूपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएका दिपेशले प्रिन्स विरुद्धको खेलमा सुरुदेखि नै बलियो पकड बनाएका थिए । अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकलतर्फ दिपेशले जितेको यो दोस्रो उपाधि हो । दिपेशले यसअघि पहिलो संस्करणमा पनि उपाधि जितेका थिए ।

यसैगरी महिला एकलतर्फ भने पाकिस्तानकी सेहजादले फाइनलमा नेपालकी रसिला महर्जनलाई पराजित गर्दै उपाधि चुमेकी हुन् ।त्रिभुवन आर्मी क्लबकी रसिलालाई सेहजादले २१–१५, २१–१० को सेटमा पराजित गरिन् । शुक्रबार भएको सेमिफाइनल खेलमा नेपालकी पहिलो वरीयताप्राप्त खेलाडी नङ्सल तामाङलाई पराजित गर्दै फाइनलमा पुगेकी १४ वर्षीया रसिला उपाधि भिडन्तमा भने अनुभवमा पछि परिन् ।
पाकिस्तानी खेलाडीले रसिलाको एकपछि अर्को गल्ती पत्ता लगाउँदै नियमित अंक जोडेकी थिइन् । पुरुष एकलतर्फ सेमिफाइनलमा पराजित भएका बंगलादेशका मोहम्मद सलमान खान र त्रिभुवन आर्मी क्लबका रुकेश महर्जन तथा महिला एकलतर्फ त्रिभुवन आर्मी क्लबका नङ्सल तामाङ र अमिता गिरी तेस्रो भएका छन् ।
यसैगरी यू–१९ पुरुष एकल स्पर्धामा सिल्क ग्रुपका प्रिन्स दाहाल र महिला एकल स्पर्धामा त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले उपाधि जितेका छन् । प्रिन्सले फाइनलमा त्रिभुवन आर्मी क्लबका प्रफूल महर्जनलाई २१–१५, २१–१९ को सोझो सेटमा पराजित गरे ।

खुलातर्फ पुरुष एकल स्पर्धाको फाइनलमा एपीएफ क्लबका दिपेश धामीसँग पराजित भएका प्रिन्सले यू–१९ स्पर्धामा भने सशक्त प्रदर्शन गर्दै उपाधि हात पारे । यसैगरी महिला एकल तर्फको उपाधि भिडन्तमा रसिलाले नेपाल पुलिस क्लबकी जेसिका गुरुङलाई २१–१९, २१–१९ को सोझो सेटमा पराजित गरिन् । रसिलाले जेसिकासँग पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगितामा बेहोरेको पराजयको बदलासमेत लिइन् । पुष्पलाल ब्याडमिन्टन प्रतियोगिताको यू–१९ र महिला एकल दुवै स्पर्धाको उपाधि जित्ने क्रममा जेसिकाले रसिलालाई नै पराजित गरेकी थिइन् । यू–१९ स्पर्धाको महिला एकलतर्फ प्रदेश नम्बर १ की नीता लम्साल र कञ्चनपुरकी रञ्जना भट्ट तथा पुरुष एकलतर्फ त्रिभुवन आर्मी क्लबका पबिन लिङ्थेप र रुकेश महर्जन संयुक्त रूपमा तेस्रो भए ।

यस्तै मिक्स डबल्स तर्फको उपाधि एपीएफ क्लबका दिपेश धामी र पूजा श्रेष्ठको जोडीले जितेको छ । त्रिभुवन आर्मी क्लबका नङ्सल तामाङ र प्रफूल महर्जनको जोडीलाई २१–२०, २१–१७ को सोझो सेटमा पराजित गर्दै दिपेश र पूजाको जोडीले उपाधि हात पारेको हो । यो स्पर्धामा त्रिभुवन आर्मी क्लबका अमिता गिरी र सुरोज महर्जनको जोडी तथा भोजपुरकी सीता राई र एमआईबीएलका नीरविक्रम देवकोटाको जोडी तेस्रो भए ।

पुरुष डबल्स तर्फको फाइनलमा भने एपीएफ क्लबका दिपेश र बिजित थापामगरको जोडी भारतका जुम्ल्याहा दाजुभाइ रञ्जन र अञ्जन गुरागोहईको जोडीसँग २१–१९, २१–१६ को सोझो सेटमा पराजित भयो । गत वर्ष फाइनलमा पाकिस्तानी खेलाडीसँग पराजित भएपछि उपाधिबाट चुकेका गुरागोहई दाजुभाइ यसपटक भने उपाधि जित्न सफल भए ।
‘दिपेश र बिजितसँग हामीले गत वर्ष पनि खेलेका हौं । गत वर्ष हामीले उनीहरूलाई सेमिफाइनलमै पराजित गरेका थियौं’, उपाधि जितेपछि रञ्जनले भने, पुरुष डबल्सतर्फ प्रदेश नम्बर ४ का विशाल बस्नेत र विधान अधिकारीको जोडी तथा बाँकेका रियाज अन्सारी र इर्फान अन्सारीको जोडी तेस्रो भए ।
यसैगरी एक्जुकेटिभ पुरुष एकलतर्फको उपाधि जेष्ट ब्याडमिन्टन एकेडेमीका सुनिल जोशीले जितेका छन् । फाइनलमा उनले कामना सेवाका विशाल खड्कालाई २१–१५, २१–११ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् । एक्जुकेटिभ स्पर्धाको पुरुष डबल्सतर्फ भने आशीर्वादका राम राई र विमल श्रेष्ठको जोडीले उपाधि जितेको छ । राम र विमलको जोडीले फाइनलमा कामनाका विशाल बस्नेत र विशाल खड्काको जोडीमाथि २१–१७, २१–२३, २१–१५ अंकको प्रतिस्पर्धात्मक जित हासिल ग¥यो ।

एक्जुकेटिभ एकलतर्फ राइजिङ सनका विश्वास नेपाल र स्लेकका गणेश रायमाझी तेस्रो भए । डबल्सतर्फ जेष्टका सुनील जोशी र ओडीसीका रोमन बानियाँको जोडी तथा ईशा एन्ड इशिकाका आकाश छन्त्याल र अभिषेक गुरुङको जोडी तेस्रो बने ।
श्निबार नै भएको कर्पोरेट स्पर्धाको पुरुष एकल र युगलतर्फ दुवै उपाधि महालक्ष्मी पेन्ट्सका खेलाडीले जितेका छन् । पुरुष एकलतर्फ महालक्ष्मीका विकास महर्जन तथा डबल्सतर्फ विकास र प्रदीप महर्जनको जोडीले उपाधि जितेका हुन् ।

एकलतर्फको फाइनलमा विकासले नारायणी मिल्कका अभिषेक बोसलाई २१–१२, २१–१६ को सोझो सेटमा पराजित गरे । युगलतर्फको उपाधि भिडन्तमा भने विकास र प्रदीपको जोडीले महालक्ष्मी पेन्ट्सकै भुवन श्रेष्ठ र रदीप महर्जनको जोडीलाई २१–१९, २१–१३ अंकले पराजित गरे । कर्पोरेट स्पर्धाको एकलतर्फ एपेस इन्टरनेसनलका अखिल श्रेष्ठ र बीएन्डबीका बालमुकुन्द ढुंगाना संयुक्त रूपमा तेस्रो भए । कर्पोरेट डबल्सतर्फ आईपीपीका आदर्श विष्ट र सुवास उलकको जोडी तथा जलेवाका रुद्रबहादुर थिङ र एपेस इन्टरनेसनलका अखिल श्रेष्ठको जोडी तेस्रो भए ।
जुनियरतर्फ महिला र पुरुष एकल तर्फका विजेताबाहेक अन्य स्पर्धाका विजेताले दुई तोला, उपविजेताले एक तोला र तेस्रो हुने खेलाडीले आधा तोला सुन पुरस्कार प्राप्त गरे । जुनियरतर्फ महिला तथा पुरुष सिंगल्सका विजेताले भने एक तोला, दोस्रो हुनेले आधा तोला र तेस्रो स्थान हासिल गर्नेले चार आना सुन पुरस्कार प्रदान गरिएको थियो ।विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७