भारतीय सेना प्रमुखलाई योगेश भट्टराईको जवाफ,‘अब हामी भारत अथवा चीन कतै ढल्किदैनौं’
काठमाडौं, २ असोज । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) स्थायी किमिटि सदस्य एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले भारतीय सेना प्रमुख विपिन रावतलाई नेपालीहरुको चिन्ता छोडेर आफ्नो चिन्ता गर्न सुझाव दिएका छन् । भारतीय सेना प्रमुख विपिन रावतको अभिव्यक्तिको प्रतिवाद गर्दै भट्टराईले नेपाल अब कतै नढल्किने बताएका छन् ।
नेता भट्टराईले आफ्नो ट्विटमा भनेका छन्, ‘आफू र आफ्नो देशको बारेमा चिन्ता लिनुहोस्, नेपालको बारेमा चिन्ता गर्न हामी नै प्रयाप्त छौँ ।’ उनले नेपाल हिजो भारततिर ढल्किएको स्वीकार गर्दै अब त्यो गल्ती नहुने बताएका छन् । भनेका छन्, ‘भारतीय सेनापती बिपिन रावतजी, नेपाल हिजो भारत तिर ढल्कियो त्यो गल्ती थियो ।’
भारतीय सेना प्रमुख रावतले सोमबार नेपाल र भुटान जस्ता भूपरिवेष्ठित देश भौगोेलिक अवस्थितिका कारण भारततर्फ ढल्किनै पर्ने बाध्यतामा दाबी गरेका थिए । रावतले नेपाल चीनतिर ढल्किएको भन्दै त्यो अस्थायी हुने बताएका थिए । नेता भट्टराईले नेपाल चीनतिर पनि नढल्कीने बताएका छन् । उनले लेखेका छन्,‘ यो पनि ढुक्क हुनुहोस् कि यो देश चीन तिर पनि ढल्किदैन ।’
के भनेका थिए, भारतीय सेनापतिले ?
भारतीय सेनाका प्रमुख विपिन रावतले नेपाल र भुटान जस्ता देश भारततर्फ ढल्किनै पर्ने बाध्यतामा रहेको दाबी गरेका थिए । विवादितपहिलो बिम्स्टेक सैनिक युद्ध अभ्यासको समापनको अवसरमा आइतबार भारतको महाराष्ट्रस्थित पुणेमा रावतले भनेका थिए, ‘नेपालको चीनसँगको गठबन्धन थोरै अवधिका लागि मात्रै हो ।’
बिम्स्टेक सैनिक युद्ध अभ्यासमा नेपाल सहभागी नभएको तर्फ असन्तुष्टी जनाउँदै उनले नेपालले चाहेर पनि चीनतिर ढल्किन नसक्ने बताएका थिए । उनले भनेका थिए, ‘नेपाल र भुटान जस्ता देशले भूगोलका कारण भारततर्फ ढल्किनै पर्छ, भूगोलले भारततर्फ ढल्किन मद्दत गरेको छ । ‘जहाँसम्म (चीनसँग) गठबन्धनको विषय हो, यो तत्कालिन मात्रै हो ।’
बिम्स्टेक सैनिक युद्ध अभ्यासमा नेपालले अन्तिम अवस्थामा भाग लिएका थिएनन् । नेपालको तर्फबाट ३ जना सैनिक अधिकारीहरु पर्यवेक्षकका रुपमा सैन्य अभ्यासमा गएका थिए । नेपाललाई पछ्याउँदै थाइल्यान्डले पनि सैनिक अभ्यासमा तीन जना सैनिकलाई मात्रै पर्यवेक्षकका रुपमा पठाएका थिए । यही कारण भारतीय सेना प्रमुखले यस्तो असन्तुष्टी पोखेका हुन् ।
के हो बिमस्टेक संयुक्त सैन्य अभ्यास ?
भारतो प्रस्तावमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रको संयुक्त सैन्य अभ्यासमा भारतमा आयोजना गरिएको थियो ।
बहुदेशीय फिल्ड ट्रेनिङ माइलेक्स नाम दिइएको यो अभ्यास भदौ २५ देखि ३१ गतेसम्म भारतको पुणेमा भएको थियो । सैन्य अभ्यास कार्यक्रममा भारत, श्रीलंका, भुटान, बंगलादेश र म्यान्मारका ३०/३० सैन्य अधिकारीले सहभागिता जनाएका थिए । तर, नेपाल र थाईल्यान्ड गएनन् ।
किन पछि हट्यो नेपाल ?
बिमस्टेक स्तरीय मुलुकबीच संयुक्त सैन्य अभ्यासका लागि लागि नेपाली सेनाले पनि ३० जना अधिकृतहरुको टोली तयार पारेको थियो ।
काठमाडौंमा भदौ १४ र १५ गते भएको बिमस्टेकको चौथो शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक राष्ट्रका सैनिकको संयुक्त अभ्यास हुन लागेको जानकारी दिएका थिए । उनले भनेका थिए ‘यो अभ्यास आतंकवाद नियन्त्रण, विपद व्यवस्थापन र अन्तरदेशीय अपराध नियन्त्रणका लागि हो ।’ तर, तिब्र दबाबपछि नेपाल गएन ।
बिमस्टेकको चौथो शिखर सम्मेलनका भारतीय मोदीले महत्वको साथ बिमस्टेक राष्ट्रका सैनिकको संयुक्त अभ्यास बारे बोले लगत्तै नेपालमा यसको बिरोध सुरु भयो । तर, यो निर्णय बिमस्टेकमै भएको भने होइन । यसअघि नै नेपालले पनि संयुक्त सैन्य अभ्यासका लागि स्वीकृति जनाइसकेको थियो । तर, मोदीको मन्तव्यपछि यो बाहिर आयो ।
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मलेनपछि हुने संयुक्त सैन्य अभ्यास कुनै देशविरुद्ध लक्षित बताए । बिमस्टेकको घोषणापत्रबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले सैन्य अभ्यास प्राकृतिक प्रकोप उद्धारका लागि मात्रै गर्न लागिएको बताए । यसको मतलब नेपाली सेनाको जाने तयारी थियो ।
संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिमा सम्मेलनबाट पारित विषयबारे जानकारी गराउँदै मन्त्री ज्ञवालीले त्यसलाई अलिकति करेक्सन गरे ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौंथो सम्मेलनको कुनै पनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने भन्ने विषय समावेश नभएको बताए । तर, नजाने बिषयमा उनी बोलनन् ।
भारतका सुरक्षा मामिलाका जानकारहरुले समेत बिम्स्टेकका नाममा संयुक्त सैन्य अभ्यासको आयोजना गरेर भारतले चीन र पाकिस्तानलाई आफ्नो शक्ति देखाउन खोजेको बताउँदै आएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र यसले विवाद नै उत्पन्न गरायो ।
परराष्ट्र र गृह मन्त्रालयसमेत सम्हालिसकेका पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, गृह र रक्षा सम्हालेका पूर्वउपप्रधानमन्त्री भीम रावल र सैन्य क्षेत्रसँग जानकार नेताहरुले यसको तिव्र बिरोध गरे । भारतीय स्वार्थमा सैन्य अभ्यास गरिनु गलत भएको सबैले बताए । सार्कलाई ओझेलमा पारेर बिमस्टेकलाई महत्व दिइरहेका भारतीयहरुले यो सैन्य अभ्यासलाई रणनीतिक मानेका थिए ।
नेता रावलले संसदमा आफ्नै पार्टी नेतृत्व सरकारको बिरोध समेत गरे । रावलले संयुक्त सैन्य अभ्यास बिमस्टेकको उद्देश्यभन्दा फरक ढंगले आएको बताए । भने, ‘बिमस्टेक, सार्कजस्ता क्षेत्रीय संगठन पारस्परिक आर्थिक समृद्धिका लागि बनेका हुन् तिनले आतंकवाद, अपराध नियन्त्रणजस्ता विषयमा नीतिगत निर्णय र सूचना आदानप्रदान गर्न सक्छन् । तर संयुक्त सैन्य अभ्यास नै गर्ने भन्ने उद्देश्यसँग मेल खाँदैन र यो घोषित नीतिविपरीत हो ।’
नेता नारायणकाजी श्रेष्ठले पार्टीका शीर्ष नेताहरूसँग त्रुटिपूर्ण सहमति भएको भन्दै असन्तुष्टि पोखे ।नेकपाकै सैन्य मामिलाका जानकारसमेत रहेका नेकपा सांसद डा. दीपकप्रकाश भट्टले संयुक्त सैन्य अभ्यास नेपाल र नेकपाले लिएको अहिलेसम्मका परराष्ट्र नीतिभन्दा भिन्न खालको भएको बताए ।
संसदमा तिव्र बिरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यो सैन्य अभ्यास नभई तालिम भएको बताएका थिए । ओलीले बिमस्टेक शिखर सम्मेलनमा संयुक्त सैन्य अभ्यास गर्ने सहमति नभएको बताएका हुन् । उनले भनेका थिए, ‘सैन्य अभ्यास गर्ने कुरा कहाँबाट आयो ? कसको सैन्य अभ्यास ?’