व्यवसाय करको पाँच प्रतिशत उद्योग वाणिज्य संघलाई


२८ आश्विन २०७५, आईतवार

चितवन, २८ असोज । भरतपुर महानगरपालिका क्षेत्रभित्रबाट संकलन भएको व्यावसायिक करमध्ये ५ प्रतिशत उद्योग वाणिज्य संघ चितवनले पाउने भएको छ ।

महानगरपालिका र संघबीचमा यसै आर्थिक वर्षबाट लागू हुने गरी सोसम्बन्धी सम्झौता भएको हो ।
दुई संस्थाको बीचमा भएको सम्झौतामा संघले व्यवसाय दर्ता गर्न उत्प्रेरित गर्ने, करसम्बन्धी ऐन, नियम तथा मापदण्डका सम्बन्धमा व्यवसायीलाई जानकारी गराउने, बक्यौता कर उठाउनेलगायतका कार्यमा सहयोग गर्नेछ ।

संघले सो उद्देश्य प्राप्तिका लागि महानगरसँग सहकार्य गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार चार वर्षका लागि उद्योग वाणिज्य संघसँग यो सम्झौता गरिएको हो । यसबाट महानगरमा व्यावसायिक कर बढ्ने अपेक्षा गरिएको छ ।

गत आर्थिक वर्षमा महानगरले व्यावसायिक कर बापत पाँच करोड संकलन गरेको थियो । चालु आर्थिक वर्षमा १० करोड संकलन गर्ने लक्ष्य राखेको छ । दायरा फराकिलो बनाउँदै लक्ष्यअनुरुप कर उठाउने उद्देश्यसाथ महानगरपालिका अघि बढेको उनले बताइन् ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले नयाँ व्यवसायीलाई करको दायरामा ल्याउन र कर नतिरेका पुराना व्यवसायीलाई कर तिर्न उत्प्रेरित गर्ने खालका कार्यक्रम संघले गर्ने बताए । करबापत आएको रकमबाट सार्वजनिक सरोकारका विकास निर्माण, व्यावसायिक हित र व्यवसायीलाई करको दायरामा ल्याउन खर्च गरिने संघले जनाएको छ ।

महानगरपालिकामा दश हजार हाराहारी व्यवसाय रहेका छन् । तीमध्ये आधा मात्रै करको दायरामा आएको महानगरपालिकाले जनाएको छ । यसअघि नगरपालिका हुँदा २०५७ सालदेखि १० वर्षसम्म उद्योग वाणिज्य संघलाई उठेको करको १५ प्रतिशत दिने गरी सम्झौता भएको थियो । तर २०६७ साल यता सम्झौता नवीकरण हुन सकेको थिएन ।

जनप्रतिनिधि आएपछि पुनः सम्झौता भएको हो । महानगरपालिकाले चालु आर्थिक वर्षमा व्यवसाय करसहित आन्तरिक आम्दानी ५५ करोड उठाउने लक्ष्य लिएको छ । गत वर्ष ३० करोड रुपैयाँ संकलन गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७