प्रा.डा.नोवलकिशोर राईको दशैं सम्झना


१ कार्तिक २०७५, बिहीबार
Dr Noval Kishor Rai
Dr Noval Kishor Rai
प्रा.डा.नोवलकिशोर राई


दशैं हिन्दू धर्मावलम्बीहरूको चाड हो । जनजातिहरूले चाहिँ हिन्दू राज्यले कुनै न कुनै हिसाबले बाध्य गराएर, प्रेरित गरेर र कतिहदसम्म चाहिँ आफ्नै इच्छाले मनाउन थालेका हुन् । पछि जनजातिहरूको दशैं नमान्ने अभियान निस्किसकेपछि यो जनजातिको चाड होइन भन्ने बुझेर उनीहरूले दशैं नमान्ने निश्चय गरेका हुन् । म आफू भने बुबा हुँदासम्म दशैं मनाउँथे । बुबा हुन्जेल उहाँले टिका लगाइदिनुहुन्थ्यो । म अहिले दशैं मान्दिनँ । मेरा छोरीहरूलाई पनि टिका लगाइदिन्नँ । अहिले कोही टिका लगाइदिनुस् भनेर कोसेली बोकेर आउँछन् भने टीका लगाइदिन्छु । नत्र भने मेरो आशिक लाग्छ, टिका लगाइदिन्छु, आऊ भनेर चाहिँ कसैलाई बोलाउँदिन, र म पनि कसैकोमा जान्नँ । मेरो ८४ वर्षको दाइ हुनुहुन्छ । अरुहरू दशैंमा उहाँकोमा जम्मा हुन्छन् । म चाहिँ जान्नँ, उहाँलाई म दशैं मनाउँदिन भन्ने थाहा छ ।

मैले दशैं नमानाउने गरेको कारण चाहिँ पहिलो आफ्नो चाड नभएकैले हो भने दोस्रो कारण चाहिँ आर्थिक हिसाबले दशैं नमनाउँदा मलाई कुनै भार पर्दैन, र आनन्दै हुन्छ । दशैंको बेला दिनभरि सुत्छु, बस्छु । लुगा पनि किन्नु पर्दैन । मसाला पनि किन्नुपर्दैन । यो कुरामा खुशी लाग्छ । दशैंमा अरु बेला जस्तै सामान्य दिनचर्या हुन्छ मेरो । परिवारजनले पनि दशैं मनाऔं, राम्रो खाऊँ, नाचौं भन्दैनन् । पहिले दशैं मनाउँदाको बेला भने दुई महिना अघि नै रासन पानी र लुगा किनिराख्थेँ । दशैंको हुलमुलमा असनमा किनमेलमा कहिले पनि गइनँ । दशैं नमनाउँदा अहिले परिवारमा किञ्चित दुःखमनाउ पनि हुँदैन । खानपानमा दशैं भनेर कुनै परिकार थपथाप पनि हुँदैन ।

दशैंको लामो छुट्टीमा भने म आफ्नो पुख्यौंली गाउँ जान्छु । त्यहाँ अहिले पनि अधिकांशले मनाउँछन् । त्यहाँ आफू पनि सामेल हुन्छु, तर म आफू टिका लाउने र मैले कसैलाई टिका लगाइदिने गरेको छैन । काठमाडौंमा मलाई मान्यजन मानेर टिका लाउन आउनेहरू नहुने होइनन् । पोहोर पनि नयाँ विहा गर्ने मेरो नातिनी ज्वाईँसित आएकी थिइन् । मैले उनीहरूलाई टिका लगाइदिइनँ, अरु बेला जस्तै खाममा दक्षिणा राखेर दिएँ । ‘दशैंमा आयौं तिमीहरूको जीवन राम्रो होस’् भनेँ । उनीहरूलाई मैले टीका लगाइदिन्नँ भनेर थाहा थियो ।

दशैंको अनुभूतिको कुरा निकाल्दा मैले बाल्यकालतिर फर्कनुपर्छ । दशैं सम्झँदा दशैंका मेरा दुईटा रहरहरू उल्लेख गर्न छुटाउनु हुन्न । एउटा चाहिँ दशैैंको मौसम नै रहर लाग्दो हुन्छ । भदौ अन्तिम भएपछि ठाउँ–ठाउँमा मेला लाग्ने भएकोले हामी भदौरे पूर्णे देखि कुशे औँशी, टीका पूर्णे र औशी पूर्णे गन्थ्याँै । मौसम पनि सफा भएर मन पनि प्रशन्न हुन्थ्यो । अर्को कुरा मामाघर जाँदा चाराना आठाना दक्षिणा पाइन्थ्यो । त्यो पैसा गन्थ्यौं, रमाइलो लाग्थ्यो । म आमासँग मावला जान्थेँ । मेरो मावला नजिकै थियो एउटै गाविसभित्रको गाउँ । मेरो गाउँ हिकुनाम्बा, मावली चाहिँ मुढेगाउँ भन्ने सानो गढेरे खोल्साले छुट्याएको २० मिनेट दुरी टाढाको मात्र थियो । म उतिबेला गाउँघरमा पनि ठूला बडा बाजेहरूसँग टिका लगाउन जान्थेँ । आमाले कोसेली तयार गरिदिनुहुन्थ्यो ।

उहिले मेरो पुख्यौंली गाउँ हिकुनाम्बाको मेरो बाल्यकालीन दशैं औधी रमाइलो हुन्थ्यो । दशैं आउनुभन्दा अगाडि एक महिना अघिदेखि ओखर पाक्न सुरु हुन्थ्यो । टिप्न जान्थ्यौं । ओखर जम्मा गरेर हामी दशैंको टोपी वा जुत्ता किन्ने पैसा जुटाउँथ्यौ, अर्को कुरा जसोतसो गरेर बाबुआमाले नयाँ लुगा लगाइदिनुुहुन्थ्यो । नयाँ लुगाको बासना सुँघ्दाखेरि कम्ती रमाइलो हुन्नथ्यो । कहिलेकाहीँ गाउँको एउटै दमाइले लुगा सिलाउन भ्याइनसकेको अवस्थामा पुरानो लुगा धोएर लगाउनु पर्दा मन खिन्न हुन्थ्यो । सबैभन्दा रमाइलो कुरा मेरो लागि नयाँ लुगा पाउनु नै हुन्थ्यो । त्यसपछि मावलाघर जानु र दुईचार पैसा जम्मा गर्नु अनि साथीभाइसँग कति भयो पैसा भनेर दक्षिणा गन्न असाध्यै मज्जा हुन्थ्यो ।

सौभाग्यवश मेरा मावलीहरू गाउँका सबैभन्दा धनी थिए । मुढे गाउँमा भालु साङपाङहरूमा मेरो बाजेलाई सेतोघरे बूढा भन्थे । साथीभाइहरूले चाराना पाउँदा मैले एक रुपियाँ र अरुको एक रुपियाँ हुँदा मेरो दुईचार रुपियाँ हुन्थ्यो । म त्यो दक्षिणा रकमले मिठाइ खानु बाहेक कापीकलम किन्थेँ । म सबैभन्दा कान्छो भएकोले सधैँ मावला जान पाउथेँ । आमा बुबा बाहेक कान्छी दिदी पनि जानुहुन्थ्यो । पुर्णिमासम्म टिका लगाउने हुनाले अरु दाजु र दिदीहरू पनि जानुहुन्थ्यो । उहाँहरूले पनि आफ्नो दक्षिणाको अंश पाउनुहुन्थ्यो ।

मेरो आमा जोसमनी सम्प्रदायको नारायणदासको छोरी भएको हुनाले उहाँको मुखमा कहिल्यै मासु परेन । हिन्दू धर्ममा एउटा शाखा छ, जसले चाहिँ परम्परागत हिन्दू धर्मको विरोध ग¥यो । शशीधर स्वामी भन्ने शशीधर मरासिनी रहेछन् । उनले चाहिँ परम्परागत हिन्दू, जहाँ शोषण र धर्मको नाममा पाखण्ड हुन्छ, त्यसको विरोध गरे । उनले चलाएको धर्मलाई जोसमनी भनिन्छ, त्यसले जहिल्यै पनि कट्टर हिन्दूको विरोध गथ्र्यो ।

यो धर्म पछि कामी, दमाई, राई लिम्बूहरूमा प्रचार भयो । यो राई लिम्बूहरूमा प्रचार हुनुको अर्को कारण किरात चोलामा फाल्गुनन्द हुनुभएकोले पनि हो । जसलाई अहिले किरात धर्म पनि भनिन्छ । यही कारणले मेरो गाउँका ९० प्रतिशत राईहरू मैले जानेदेखि जाँडरक्सी र मासु खाँदैनन् । हामी बाहिर गएपछि बाहिर गए पछि देशी विदेशी रक्सी खायौं, तर मासु पनि अहिले सम्म मैले खाएको छैन वा खान सकेको छैन ।

जाँडरक्सी नखाने र मासु नखाने भए पनि हाम्रो घरमा सेलरोटी पाक्थ्यो । कोसेली लाँदा पनि एक टपरा सेलराटी र एक ठेकी दही लानुपथ्र्यो । एक माने, दुई माने, चार माने दारको ठेकी हुन्थ्यो । थुन्से बोक्ने चलन थियो । थुन्सेमा ठूलो ठेकी हाल्यो । त्यस माथि मसिना ठेकीहरू हालेर बोक्ने र जसलाई दिनुपर्ने हो उसलाई सानो ठेकीमा कोसेलीको रुपमा सारेर दिने चलन थियो । फर्कने बेला ठेकी फिर्ता हुन्थ्यो, तर हाम्रोतिर अरु ठाउँका किरातीहरूमा जस्तो कोसेली फिर्ता गर्ने गराउने चलन थिएन । कोसेली हेरेर दक्षिणा दिइन्थ्यो ।

उति बेलाको समयमा गाउँमा चामलको भात खान सक्ने बहुत कम घरपरिवार मात्र थिए । मेरो मावलीहरूको भने मधेसमा पचास साठी विघाको धान खेती थियो । उहाँहरू पहाडमा नै बेँसीमा धानेव्याजी गरेर ब्याजमा धान लिने गरी लगानी गर्नुहुन्थ्यो । मेरो मावलीहरू वर्षमा ६ महिना चामलको भात खान सक्थे । रमाइलो के थियो भने पल्टनबाट फर्किएका लाहुरेहरू चाहिँ मकैको भात खाँदेनथे । रवि पञ्चमी बजारबाट आमाहरूले चामल किनेर लाहुरेहरूलाई छुट्टै चामलको भात पकाएर खुवाएको मलाई याद छ । सामलको भात पचाउन नसक्ने सानो नानीले कि त लाहुरेको लागि चामलको भात पाक्थ्यो । त्यो लाहुरे काइदा सम्झँदा अचेल पो मलाई हाँसो उठ्छ र सरम लाग्छ । साधुहरू पनि पिठे भात खानुहुँदैन भनेर सामलको भात खाँदैनथे । उनीहरू चामल र सामल मिसाएको फोङजे बनाएर खान्थे । हामी अरु बेला सधैँभरि धानको भात खान नपाउने भएको हुनाले मेरो लागि चाहिँ दशैँ धानको भात र रोटी खानलाई, नयाँ लुगा लगाउन तथा दक्षिणा पाउनको लागि महत्वपूर्ण थियो ।

note for dashain



मेरो गाउँ महाभारत डाँडाको लहरमा पर्छ । त्यो रमाइलो डाँडामा मानिसहरू गाउँको विद्यालयको फुटबल मैदानमा रोटेपिङ लगाउँथे । रोटेपिङ लगाउन पन्ध्र दिन जति लाग्थ्यो । बाबियोको डोरी बनाएर लिगे पिङ पनि लगाउँथे । दशैं तिहारको रमाइलो मौसममा राती राती तरुनी तन्नेरी जम्मा हुन्थे, र पिङ खेल्थे । लिम्बूवानमा राईहरू पनि धान नाच्थे । भेला भएर धान नाच्ने मौका मिल्नाले तन्नेरी तरुनीका लागि दशैं प्रतिक्षित हुन्थ्यो ।

अहिले त मेरो उमेर पाको भयो । गाउँघर जाँदा मलाई दशैं पहिलेको जस्तो रमाइलो लाग्दैन । अहिले पहिलेको जस्तो रौनकता पनि छैन किनभने अहिले गाउँ–गाउँ गाडी पुगेको हुनाले गाउँलेहरू बाहै महिना चामलको भात खाने हैसियतमा छन्, बरु गाउँ जाँदा मकैको भात खान छुट्टै प्रयास गर्नुपर्छ । तरुनी तन्नेरीहरूमा पनि हाम्रो बेलाको मौलिक रमाइलोे कहाँ पो बाँकी छ र ? मिठो खाइरहेका र राम्रो लाइरहेका बच्चाहरूको लागि पनि अब दशैं औंला भाँच्दै वर्ष दिन कुर्ने जमाना बाँकी रहेन । हाम्रो पुस्ताले आत्मसात गरेको दशैंको रमाइलो अहिलेका पुस्ताले उस्तरी महसुस गर्न पाएनन् कि जस्तो लाग्छ ।

दशैंमा मासु खानेहरू चाहिँ गाउँमा राँगा खसीहरूको मोलमोलाई गर्थे । घरमा पालेका खसीहरू बिक्थे । छिमेकका सुँगुरहरू मोलिन्थे । पाँच छ दिन पहिले देखि सुँगुर राँगा काट्ने बारेमा सल्लाह हुन्थ्यो । मलाई के थाहा छ भने त्यसरी भेजो खानेहरू मध्ये आधाले चाहिँ एक वर्षसम्म मासुको दाम तिर्न सकेका थिएनन् ।

अहिले मेरो गाउँमा जनजातिहरूको दशैंमा उहिलेको उत्साह शेष हुँदै गएको छ । सँगुर मारेको पनि उति धेरै सुन्दिनँ । हुन त मेरो गाउँमा सुँगुर पाल्नेहरू छैनन् भने पनि हुन्छ । मासु खानेहरू भए पो सुँगुर काटुन् पनि ! मासु खानेहरू भने ओल्लोपल्लो गाउँबाट मासु ल्याएर खान्छन् । दशैं जनजातिको चाड होइन भन्ने चेतनाको हिसाबले पनि हुन सक्छ मासु खान कम गरेका । छाक बिराएर मासु खान सक्ने अवस्थामा मान्छेहरूको हैसियत पुगिसकेको अवस्थामा खानेकुरालाई नै चीज मानेर दशैं पर्खिन चलन पनि रहेन । पहिले र अहिलेको दशैंमा परिवर्तनका अनेकन पत्रहरू थपघट भएका छन् ।

म सात्विक रुपले जन्मेको हुँ । त्यसैले मलाई काटमार मन पर्दैन । दशैं वा चाड मनाउन वा पूजाको नाममा आफ्नो स्वार्थको लागि निरिह पशुको बलि दिने कामलाई मैले गलत हो भन्दै आएको छु । चेतनशील मान्छेको लागि निरिह पशुको बलि दिएर सिद्धि प्राप्त गर्ने आकांक्षा राख्नु अशोभनीय छ । आफ्नो इच्छा पुरा गर्नको लागि आफैले मेहनत गर्ने वा दुःख भोग्ने हो । आफ्नो स्वार्थको लागि पशुपंक्षी काटमार गर्ने चलत हिन्दू धर्ममा पछि मात्र सुरु भएको हो । यसलाई कति हिन्दूहरूले नै विरोध गर्दछन् । हामी आफैं ईश्वरको सृष्टि हौं । आफूजस्तै अर्को जीवलाई मासेर, भोग दिएर आफ्नो कल्याण होस् र इच्छा पूर्ति होस् भन्ने कामना गर्न हामी मान्छेलाई सुहाउँदैन । यो ठालुहरूको उदरपूर्ति गर्ने बहाना हो । यो निकृष्ट प्रवृत्ति हो ।

दशैं चाडले जनजातिमा के असर गरेको छ भन्ने प्रश्नमा दशैंमा आर्थिक हिसाबले ठूलो खर्च हुन्छ । धेरै रागाँ, खसी, सुँगुर काटिन्छन् । गरिबले साहुबाट ऋण काढेर लुगा सिलाउने र मासु खानुपर्ने हुन्छ । वर्षदिनमा पनि दशैंमा लुगा किन्न लिएको साहुको पैसा तिर्न नसक्नेहरू पहिले गाउँमा थिए । सांस्कृतिक हिसाबमा भने जनजातिहरूले राज्यले जबर्जस्ती मनाउन लगाएको हुनाले किन मान्ने भनेर उनीहरूले विद्रोह गरेका हुन् । यो चाड आर्थिक हिसाबले बोझ र सांस्कृतिक हिसाबले जनजातिहरूको संस्कृति होइन, तर वल्लोघर पल्लोघर मिलेर चाड मनाउने भन्ने भयो भने फरक कुरा हो । कसैले दशैंमा भोजको निम्ता गरे नजाने कुरा हुँदैन पनि । समाजमा बसेपछि रमाइलो र खानपिनमा सहभागी हुनु स्वाभाविक कुरा हो ।

म आफू दशैं मान्ने समुदायले खान बोलाए भने जान्छु । यति हो म आफू घरमा टिका लगाउन वा अरुकोमा टिका लाउन जान्नँ । दशैंमा रमाइलो गर्ने, खाने, तास खेल्ने वा रमाइलो गर्ने सँग कसैले मलाई सहभागी हुन बोलायो भने म त किराती हो भनेर म बस्दिनँ । म माछामासु खान्नँ । मेरो भान्सामा बहुत कम माछामासु पाक्छ । श्रीमती र छोराछोरी खान्छन् । जो मासु खान्छ उसलाई खान छोड्न लगाउनु र नखानेलाई खुवाउनु दुवै अपराध हो । मेरो मूलघरमा जाँडरक्सी र माछामासु पाक्दैन ।

अहिले जनजातिहरूले दशैं बहिष्कार भन्ने अभियान चलाइरहेका छन्, बीसपच्चीस वर्ष भयो क्यार त्यसबेलामा दशैं मान्ने नमान्ने सम्बन्धमा निकै छलफल भएको थियो । त्यतिबेला मैले स्नातकोत्तर उत्तीर्ण गरेर त्रिभुवन विश्वविद्यालयमा सहायक प्राध्यापक भएर काम गर्न थालिसकेको थिएँ । दशैंको बारेमा जनजाति नेताहरूको विमर्श भएको थियो । सुरुमा त बहिष्कार गर्ने र नगर्ने भन्ने मत राख्नेहरू बीचमा मुठभेड भएको सुनेँ । यसमा मेरो विचार चाहिँ एकदम सरल रहिआएको छ; जसलाई मान्न मन लाग्छ, उसलाई मान्न दिए हुन्छ । नमान्नेले नमाने हुन्छ । म चाहिँ बहिष्कार पनि भन्दिनँ । दशैं नमानेको हो मात्र भन्छु । कतिपय क्षेत्री साथीहरूले तपाईँले दशैं बहिष्कार गरेको हो ? भनेर सोध्छन् । म चाहिँ बहिष्कार गरेको नभएर नमानेको हो मात्र भन्छु ।

दशैं जनजाति संस्कृति भित्र नभएको र दुई अढाई सय वर्ष यता आएको हुनाले बहिष्कार नगरीकन नमान्दा हुन्छ भन्ने मेरो धारणा छ । बहिष्कार भन्ने अभिव्यक्ति अलि अपाच्य भइरहेको हो कि जस्तो लाग्छ । म आफू दशैं मनाउँदिन । कसैले दशैंको उपलक्ष्यमा खानेकाुरा ल्याइदिए भने म खाइदिन्छु । कसैले दशैंमा खान बोलाउँछ भने पनि जान्छु । मैले दशैं बहिष्कार गरेको नभई नमनाएको मात्र हो ।
अहिले दशैं नमान्ने भन्ने तर अधिक खानपिन गर्ने चलन पनि छ शहरतिर । शहरका खातापिता जनजातिहरू टिका नलगाउने, दशैंको विरोध गर्ने तर त्यसरी खानेहरू मैले देखेको छु । दशैं नमान्ने भनिसकेपछि त हप्तौ किन खानुप¥यो ? दशैंको नाम लिएर लापर्वाही फजुल खर्च गर्नु र देखासिकी गर्नु गलत हो । नमान्ने भने पछि खानपिनलाई पनि विचार गर्नुप¥यो नि !
दशैंको छुट्टी पनि लामो भयो । जब देश धर्मनिरपेक्ष भयो; एउटा धर्मले मानिल्याएको चाडको लागि पन्ध्र दिन विदा गर्ने र अर्को धर्म वा संस्कृतिको चाडको लागि एक दिन मात्र छुट्टी दिने न्यायोचित होइन । दशैंको छुट्टीलाई घटाइनुपर्छ । लामो छुट्टी काम नगर्नको लागि निहुँ मात्र हो । दशैं र तिहारको बीचमा अड्डा अदालतको काम हुँदैन । दशैं वा चाडको नाममा कामबाट पन्छिनु खराब प्रवृत्ति हो । लामो दिनसम्म चाड मान्नुपर्दा यसले मान्छेलाई रुख्याउन सक्छ ।

जो ज्येष्ठ र मान्यजन छ, उहाँबाट आशीर्वाद लिने वा आफूभन्दा सानालाई आशीर्वाद दिने काम नराम्रो होइन, तर फजुल खर्च गरेर दशौं दिन गाउँगाउँ घुमेर दशौं दिन मासु खाएर आफूलाई ऋणमा पार्नु हुँदैन । जातजाति बीचमा सामान्जस्यता कायम गर्न मनाउन चाहनेले यसलाई मनाउँदा हुन्छ । पूजाआजा र खानपान भने देखाउनका लागि हुनुहुँदैन ।

कुनै पनि समुदायका सदस्यलाई बाँधेर राख्न त्यो समुदायको सांस्कृतिक वा धार्मिक आस्था बलियो भएन ती समुदायका सदस्यहरू अन्तै ढल्केर जाने सम्भावना हुन्छ । दशैंमा अहिले पनि जनजातिहरू ढल्किरहनुमा आफ्नो धार्मिक आस्था खुकुलो भएर पनि हो । यद्यपि अहिले आएर दशैं भन्दा पनि आफ्नो मौलिक चाडको महत्ता दिनतिर जनजातिहरू ढल्किएका छन् ।
(निराजन बताससँगको वार्तामा आधारित)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७