छिन्न-भिन्न राप्रपा एकीकरणको संघारमा, पछ्यायो नेकपा ‘मोडेल’


२५ कार्तिक २०७५, आईतवार
kamal pashupati prakash

काठमाडौं, २५ कात्तिक । पटक–पटकको अनौपचारिक–औपचारिक छलफल र वार्तापछि अन्ततः छिन्न–भिन्नको अवस्थामा पुगेका राप्रपा पार्टी एक हुने संघारमा आइपुगेको छ ।

kamal pashupati prakash

पार्टी फुटेपछि शक्ति क्षिण बन्दै गएको ठम्याईपछि झण्डै दुई वर्षयता तीन चिरा बनेको राप्रपा एकीकरणको घडीमा आइपुगेको हो । तीनै पार्टीका शीर्ष नेताहरुका अनुसार पार्टी एकता घोषणाको अन्तिम तयारी भइरहेको छ । उनीहरुले तत्कालै आ–आफ्नो पार्टीमा एकताबारे छलफल गरेर संयुक्त पत्रकार सम्मेलन गरी एकताको मिति घोषणा गरिने बताएका छन् ।

पार्टी एकताका लागि भएका प्रगतिबारे जानकारी दिन तीन वटै पार्टीका अध्यक्षले आ–आफ्नो पार्टीमा ब्रिफिङ गर्न पार्टी बैठक बोलाएको बताएका छन् । कमल थापा नेतृत्वको राप्रपाको आइतबार दिउँसो बैठक बस्दैछ । सो पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार उपत्यकामा उपलव्ध केन्द्रीय सदस्यहरुको बैठक आइतबार बोलइएको हो ।

‘अध्यक्षले बैठकमा एकताबारे ब्रिफिङ गर्ने कार्यक्रम छ’ प्रचार विभाग प्रमुख श्रेष्ठले बताए ।
त्यस्तै पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले पनि आजै पार्टीको उच्चस्तरीय कार्यसम्पादन समितिको बैठक बोलाएको जानकारी दिएको छ ।

सो पार्टीका प्रवक्ता राजेन्द्र गुरुङले साढे २ बजेपछि उच्चस्तरीय कार्यसम्पादन समतिको बैठक बस्न लागेको बताए । ‘एकताका लागि तीनै अध्यक्षबीच पटक–पटक भएका वार्ता र छलफलपछि आ–आफ्नो पार्टीमा छलफल गर्न बैठक बोलाइएको हो । सम्भवत एकदुई दिनमै एकता गर्ने नगर्ने स्पष्ट धारणा बाहिर आउँछ’, गुरुङले भने ।

तीनै पार्टीका अध्यक्षले छुट्टाछुट्टै वार्ता र छलफल गरेर एकताको गृहकार्य गरेका थिए । पहिलो चरणमा उनीहरुबीच सामूहिक नेतृत्वका आधारमा एकता प्रकृया अघि बढाउने सहमति भएको बताइएको छ ।

‘एकता अनिवार्य भएको र सामूहिक नेतृत्वकै आधारमा एकता गर्ने लगभग निश्चित छ । केही प्राविधिक कुराहरु मिलाउन बाँकी छ’ एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताएका छन् ।

‘अहिलेसम्म सामूहिक नेतृत्वमा सवैको एकमत छ । केन्द्रीय समिति कस्तो बनाउने भन्नेमा छलफल जारी छ’, डा लोहनीको भनाई छ । डा. लोहनीका अनुसार यसअघि भएको राप्रपाको एकीकृत माहाधिवेसनकै भावनाअनुसार नेतृत्व कायम गर्ने या के गर्ने भन्नेमा छलफल जारी छ । डा. लोहनीले पनि एकताबारे छलफल गर्न आफ्नो पार्टीको बैठक चाडै बस्ने जानकारी दिए ।

यसअघि २०७३ फागुनमा एकीकृत राप्रपाको महाधिवेशन भएको थियो । तर, त्यसको केही समयमै असन्तुष्टि जनाउँदै नेता डा. प्रकाशचन्द्र लोहनीले राप्रपा त्यागेर एकीकृत राप्रपा गठन गरेका थिए ।

लोहनीले पार्टी छाडेको केही समयपछि अर्का नेता पशुपतिशमशेर राणाले पनि राप्रपा प्रजातान्त्रिक गठन गरेका थिए । राप्रपाका नेता बुद्धिमान तामाङका अनूसार एकता महाधिवेशनकै आधारमा एकता घोषणा गरिनेछ ।

उनले एकीकृत पार्टीमा कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी तीनै जना अध्यक्ष हुने तथा लोकेन्द्रबहादुुर चन्दलाई पार्टीको संरक्षक बनाउने तयारी भएको बताएका छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) पछि राप्रपा सामूहिक नेतृत्वको अभ्यासमा जान लागेका हुन् । यद्यपी यसअघि राप्रपा सामूहिक नेतृत्वकै क्रममा विभाजन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७