बक्सिङ खेल्दा खेल्दै बालकको रिङमै मृत्यु, खेलमा प्रतिबन्ध लगाउन माग (भिडियोसहित)


२८ कार्तिक २०७५, बुधबार
aanucha

काठमाडौं, २८ कात्तिक । थाइल्याण्डमा आयोेजित बक्सिङ खेलमा १३ वर्षीय बालकको मृत्यु भएपछि चौतर्फी बिरोध भएको छ ।

aanucha

तस्बिरः http://www.nationmultimedia.com

मुआए थाई मार्सल आर्ट भनिने पासविक एवं निर्मम खेलमा बालबालिकाले खेल्न नपाउने गरी प्रतिबन्ध लगाउन फेरि आवाज उठेको छ । थाई बक्सिङ देशैभर निकै लोकप्रिय छ र युवा अवस्थामै धेरै खेलाडी प्रतिष्ठा एवं धनको लोभमा यस खेलमा आकर्षित हुने गरेका छन् ।

तर जतिसुकै आलोचना भए पनि १० वर्ष नपुग्दै रिङमा बालबालिकालाई खेलाउने प्रचलन घट्नुको साटो हरेक वर्ष बढ्दैछ । बच्चाहरुले रिङमा आफ्ना प्रतिद्वन्द्वी खेलाडीका टाउकामा खुट्टा र कुहिनाले निर्मम किसिमबाट प्रहार गर्दछन् । यी बाल खेलाडीले प्रायः टाउकामा सुरक्षा कवच समेत लगाएका हुँदैनन् ।

अधिकांश गरिब परिवारबाट आएका यी बालकहरु परिवारको जीवन गुजाराका आधार समेत बनेका छन् । बच्चाहरुलाई रिङमा उतार्नु एक किसिमले जुवाको खाल जस्तो हुने गर्दछ ।

अनुचा तासाकोको बैंकक नजिकको सामुट प्राकान प्रान्तमा नोभेम्बर १० मा खेलिएको एक खेलमा रिङभित्रै मृत्यु भएको थियो । विपक्षी बालकले अनुचाका टाउकामा धेरै प्रहार गरेसँगै उनी भुँइमा ढलेका थिए ।

स्मार्टफोनमा खिचिएको तस्वीरमा अनुचाको टाउकोमा विभत्स किसिमबाट प्रहार गरिएको देखिएको छ । अचेत भएर ढलेका अनुचालाई मद्दत गर्न उनका सहयोगी तत्कालै रिङभित्र प्रवेश गरे पनि उनको निधन भइसकेको थियो ।

प्रहरीका अनुसार, अनुचाको मृत्यु मस्तिष्कघातबाट भएको छ । स्थानीय सञ्चार माध्यमहरुका अनुसार यी बालक आठ वर्षको उमेरदेखि नै बक्सिङ खेल्ने गरेका थिए। उनले यसअघि १५० भन्दा बढी खेल खेलिसकेका थिए ।

उनका प्रतिस्पर्धी बालक निटीक्रोन सोन्डे पनि उस्तै उमेरका रहेको प्रहरीले जनाएको छ । अनुचाको मृत्युप्रति उनले फेसबुकबाट दुःख प्रकट गरेका छन् । यी दुवै बालकले टाउकोको सुरक्षाका लागि सुरक्षा कवच लगाएका थिएनन् ।

थाइल्याण्डमा १२ वर्षभन्दा मुनिको उमेरका बच्चाहरुलाई रिङमा उतार्ने कार्य बन्द गर्न एउटा विधेयक संसदमा विचाराधीन छ । अनुचाको मृत्युपछि भने यो विधेयक पारित हुने सम्भावना बढेको छ ।

अनुचाको मृत्यु भएपछि यो खेलमा बालबालिकाको प्रयोगका विरुद्धमा चौतर्फी आवाज उठेको छ । कतिपयले निर्णायकको गल्तीका कारण बालकको ज्यान गएको आरोप लगाएका छन् । ‘ती बालक उभिन सक्ने अवस्थामा पनि थिएनन् ।

किन निर्णायकले खेल बेलैमा रोकेनन् ?’ थाई फेसबुक प्रयोगकर्ताहरुले आक्रोश पोखेका छन् । थाइल्याण्डका पर्यटन तथा खेलकूद मन्त्रीको भनाइ उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले मस्यौदा विधेयक जतिसक्दो चाँडो संसदमा पेश गरिने बताएका छन् ।

कतिपयले थाइल्याण्डको संस्कृतिका रुपमा रहेको बक्सिङलाई निरुत्साहित नगर्ने गरी विधेयक आउनुपर्ने बताएका छन् । (रासस, एएफपी)

हेर्नुहोस् भिडियो

https://www.youtube.com/watch?time_continue=3&v=OCTGXd5Bb28

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७