पहिलो चरणको चुनावमा ६५ प्रतिशत मत खस्यो
काठमाडौं: पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६५ प्रतिशत मत खसेको निर्वाचन आयोगले दिएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले पत्रकार सम्मेलन गरेर ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा ६५ प्रतिशत मत खसेको जानकारी दिएका छन् ।
‘सबैजसो मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ’, यादवले भने, ‘उत्साहपूर्ण वातावरणमा मतदान भइसकेकाले अब मतपेटिका सदरमुकाम ल्याउने क्रम सुरु गरिएको छ ।’ प्रमुख यादवले दोस्रो चरणको मतदानपछि मतगणना हुने जानकारी पनि दिएका छन् ।
मतदान सम्पन्न भएका उच्च पहाडी र हिमाली ३२ जिल्लामध्ये बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मत खसेको आयुक्त यादवले जानकारी दिएका छन् । प्राकृतिक कारणले स्थानीय तहको भन्दा कम मत खसेको अनुमान उनले गरेका छन् ।
निर्वाचन आयोगले मतपत्रले भरिएका अधिकांश स्थानका मतपेटिका आइतबार नै जिल्ला सदरमुकाम ल्याइने बताएको छ । उच्च हिमाली र विकट क्षेत्रका मतपेटिका सोमबार हेलिकोप्टरबाट सदरमुकाम ल्याइने छ ।
पहिलो चरणमा निर्धारण गरिएका ४ हजार ४६५ मतदान केन्द्रमध्ये दुर्इ मतदान केन्द्रको मतदान सरेको छ । रूकुमको बाफीकोटको काडास्थित रत्न माविको ‘क’ केन्द्र र रूकुमकै आठवीसकोट ११ गत्तसैनास्थित नेपाल राष्ट्रिय माविको ‘ख’ केन्द्रको मतदान पुनः हुनेछ । रत्न मावि केन्द्रमा प्रतिनिधिसभा प्रत्यक्षतर्फको र नेपाल राष्ट्रिय माविको केन्द्रमा समानुपातिकतर्फको मतदान पुनः हुनेभएको हो ।