‘टुटल’ ले ३ करोड ३९ लाख कर छलेको पुष्टि, राजश्व कार्यालयले कर तिर्न पठायो पत्र


१६ बैशाख २०७६, सोमबार
tutal

काठमाडौं, १६ बैसाख । ‘राइड सेयरिङ’ कम्पनी टुटलले छलेको कर तत्काल तिर्न सरकारले पत्र पठाएको छ । आन्तरिक राजश्व कार्यालय ललितपुरले कर छली गरेको ठहर गर्दै कम्पनीलाई दाखिलाका लागि लेखेको छ ।

कार्यालयले पत्र पठाएसँगै टुटलले ग्राहकबाट उठाएको र आफूले पनि तिर्नुपर्ने कर छलेको पुष्टि भएको छ । टुटलले ३ करोड ३९ लाख बराबरको कर छली गरेको पाइएको कार्यालयले जानकारी दिएको छ । यसमा ३ वर्षको अवधिको मूल्य अभिवृद्धि कर (भ्याट), आयकर, जरिवाना र ब्याज समेत जोडिएको छ ।

आन्तरिक राजश्व कार्यालय ललितपुरका प्रमुख लालबाहदुर खत्री टुटलले कर छली गरेको देखिएकाले कर निर्धारण गरेर दाखिलाका लागि पत्र लेखिएको बताएका छन् । कार्यालयले लामो समय लगाएर टुटलको कारोबारको अनुसन्धान गरेको थियो । टुटलले शुरुमा जानकारी नभएर भ्याट उठाएको र कर कसरी कहाँ कुझाउने भन्ने जानकारी नहुँदा यस्तो अवस्था आएको जवाफ कार्यालयलाई दिएको थियो ।

कम्पनीले सेवा शुरुआतको वर्षमा ग्राहकसँग भ्याटसहितको रकम जोडेर शुल्क उठाएको थियो । तर, उठाएको करबापतको रकम सरकारलाई बुझाएन । पछिल्लो वर्ष भने उसले भ्याट शीर्षकमा कर उठाउन छाड्यो । ‘उठाएको कर सरकारलाई नबुझाएपछि हामीले कारोबार हेरेर कर निर्धारण गरेका हौं,’ प्रमुख खत्रीले भने ।

टुटलले आफ्नो आय कर पनि नतिरेको भेटिएको छ । आय कर पनि नतिरी व्यवसाय चलाएकाले त्यसअनुसार कर निर्धारण गरेर त्यसमा ब्याज र हर्जना पनि लगाइएको छ । अब टुटलले आफूलाई लगाइएको कर चित्त नबुझे आन्तरिक राजश्व विभागमा पुनरावलोकनका लागि निवेदन दिन सक्छ । यदि पुनरावलोकन नजाने भए निर्धारित कर टुटलले तिर्नै पर्नेछ ।

तर, पुनरावलोकनपछि निर्धा्रित कर भने आन्तरिक राजश्व कार्यालयले जोड गरेर असुल गर्नेछ ।टुटल पछिल्लो सयममा काठमाडौंमा निकै प्रचलित मोबाइल एप हो । जसमा जोकोही मोटरसाइकलवाला आवद्ध भएर यात्रुलाई ट्याक्सीकै जसरी सेवा दिन सक्छन् ।

केही समयअघि सरकारले निजी सवारीले शुल्क लिएर यात्रु बोक्न नपाउने भन्दै यो सेवा बन्द गर्न लागेको थियो । तर सामाजिक सञ्जालमा तीव्र आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा महानगरीय ट्राफिक प्रहरी माहाशाखा पछि हट्यो ।

हालका यातायात विभागका महानिर्देशक कुमार दाहाल टुटल, पठाओ जस्ता कम्पनीको सेवा अवैधानिक भएकाले यसलाई बन्द गर्नुपर्ने पक्षमा छन् । नेपालको कानूनमा भाडाका सवारीले मात्रै शुल्क लिएर यात्रु बोक्न पाउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७