विश्वकप क्रिकेट : पाकिस्तानसँग आयोजक इङ्ल्याण्ड १४ रनले पराजित
काठमाडौं, २१ जेठ । आयोजक इङ्ल्याण्डलाई स्तब्ध बनाउँदै पाकिस्तानले एक दिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करणमा पहिलो जित निकालेको छ ।
गए राति सम्पन्न रोमाञ्चक खेलमा पाकिस्तानले आयोजक इङ्ल्याण्डलाई १४ रनले हराएको हो । खेलमा पाकिस्तानले दिएको ३ सय ४९ रनको फराकिलो लक्ष्य पछ्याएको इङ्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३४ रन मात्र बनाउन सक्यो ।
उसका लागि जो रुट र जोस बट्लरले शतकीय इनिङ्स खेले पनि टोलीलाई जिताउन सकेनन् । रुटले १ सय ७ रन बनाउँदा बट्लरले १ सय ३ रन जोडे । पाकिस्तानका वहाब रियाजले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले तीन खेलाडीको अर्धशतकको मद्दतले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ४८ रन जोडेको थियो । उसका लागि मोहमद हाफिजले ८४ रन जोड्दा बाबर आजमले ६३ तथा सरफराज अहमदले ५५ रनको योगदान दिए । इङ्ल्याण्डका क्रिस भोक्स र मोइन अलीले ३–३ विकेट लिए ।
जितसँगै पाकिस्तानले पछिल्लो १२ एकदिवसीय खेलमा पहिलो जित निकालेको छ । यसअघि पाकिस्तानले एक दिवसीय क्रिकेटमा लगातार ११ खेल हारेको थियो । जारी विश्वकपको पहिलो खेलमा वेष्ट इन्डिजसँग लज्जास्पद हार भोगेको पाकिस्तानले यो जितसँगै लय समातेको छ ।
पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराएको इङ्ल्याण्ड भने दोस्रो खेलमा पराजित भएपछि आलोचित बनेको छ । विश्वकप क्रिकेटमा आज अफ्गानिस्तान र श्रीलंका भिड्नेछन् । दुवै टोलीले पहिलो खेल हारेका थिए । एजेन्सी